नेपाली समय: ०१:२२:४६ अपरान्ह
वि.सं २०७७ आषाढ ३०   मंगलवार

रमण–पप्पु जेभी कालोसूचीमा, एक वर्षसम्म ठेक्कामा भाग लिन नपाउने

निर्माण सञ्चार, पुस २१, काठमाडौं ।  निर्माण कार्य ओगटेर काम नगरेपछि पप्पु र रमण कन्स्ट्रक्सनलाई सरकारले कालोसूचीमा राखेको छ। 

प्रधानमन्त्री मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गर्दै पप्पु–रमण जेभीलाई कालोसूचीमा राखिएको जनाएको हो।

हुलाकी सडक निर्देशनालय टेकुको सिफारिसमा कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन  कार्यालयको गत शुक्रबारको बैठकले कालोसूचीमा राख्ने निर्णय गरेको जनाइएको छ । 

दुवै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो। उनीहरूले अब एक वर्षसम्म कुनै ठेक्कामा भाग लिन नपाउने भएका छन् । 

सार्वजनिक खरिद नियमावली–२०६४ को नियम १४१ को उपनियम १३० बमोजिम २०७६ साउन २१ देखि लागू हुने गरि कालोसूचीमा राखिएको छ । 

सार्वजनिक खरिद ऐन–२०६३ को दफा ६३  को उपदफा १० बमोजिम दुवै ठेकेदार कम्पनीले एक वर्ष अवधिका लागि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने भन्दै सम्बन्धित सबै सार्वजनिक निकायहरुमा जानकारी पठाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। 
ठेक्का लिएर नारायणी पुल निर्माण नै सुरू नगरेपछि पप्पु–रमण ज्वाइन्ट भेञ्चरलाई कालोसूचीमा राखिएको हो । 

रमण(पप्पु जेभीले नारायणी पुल जेभी बनाएर २०६९ मा ठेक्का हात पारेका थिए। डिजाइन एण्ड विल्ड प्रक्रियाबाट ठेक्का सम्झौता भएको थियो । 

यस्तो प्रक्रियाबाट पुल बनाउदा आयोजनाले दिएको स्पेसिफिकेशनका आधारमा ठेकेदार कम्पनी डिजाइन आफैंले गर्छ। आयोजनाबाट स्वीकृति लिएर निर्माण पनि आफैले गर्नुपर्छ । 

तर सात वर्ष बिते पनि बहानीबाजी गर्दै काम नै सुरू नगरेपछि बाध्य भएर ठेक्का तोड्दै कालोसूचीमा राख्न सिफारिस गरिएको हुलाकी राजमार्ग आयोजनाका एक इन्जिनियरले बताए । काम सुरू गर्न पटक पटक ताकेता गर्दा पनि पप्पु–रमणले काम गर्न नमानेको आयोजनाका अधिकारीहरूको आरोप छ ।

हुलाकी राजमार्गमा १० वटा मुख्य पुलहरू छन् । एक इन्जिनियरका अनुसार ६ वटा पुल पप्पुले ठेक्का लिएर काम पूरा नगरी अलपत्र छाडेको छ भने कतिपयमा कामै गरेको छैन । 

यी पुल निर्माण गर्न नसके हुलाकी राजमार्ग संचालनमा ल्याउन सकिदैन। आयोजनाका अनुसार विरिङ ,कन्काई, कमला, सिरहाको बालन, बाके नदि, बागमती, तिलावे, तिनाउखोला, दानवखोला, कान्द्रा नदि पुललाई रोगी पुल घोषणा गरिएको छ । 

जसको आधा पनि काम हुन सकेको छैन्। अरूलाई समस्या हुँदैन, काम गर्न यही पप्पुका पुलमा मात्रै समस्या हुन्छ, ती इन्जिनियरले भने, म्याद थप्दा थप्दा हैरान भइसक्यौं।

कन्काई  पुलमा पप्पुले काम नगरेपछि जेभीका रूपमा रहेको महादेव कन्स्ट्रक्सनले काम गरिरहेको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । 

अरु पुल पनि धमाधम जेभीका अरू पार्टनर लिएर बनाउन थालेका छन् । रमण कन्ट्रक्सन धरहरा पुनर्निर्माण गरिरहेको कम्पनी हो । 

०००

पढौं यो पनि



प्रकाशित: २०७६ पौष २१
January 6th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार