नेपाली समय: ११:१९:४६ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

दोलखामा २० करोड लागतमा २ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुँदै, ५ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

निर्माण सञ्चार, पुस २८, दोलखा । दोलखामा दुई हजार दर्शक क्षमताको प्याराफिटसहितको रंगशाला निर्माण हुने भएको छ । 

२० करोड रुपियाँको लागतमा निर्माण हुने उक्त रंगशाला चरिकोटको टुँडिखेलमा निर्माण हुने  भएको हो । 

बागमती प्रदेश सरकार र भीमेश्वर नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुन लागेको उक्त रंगशाला निर्माणको लागि यही हप्ता टेण्डर खुलाउने तयारी भइरहेको नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिए । 

उनका अनुसार निर्माण हुने उक्त रंगशालाको दक्षिणी भागमा भने भिआईपी कक्षलगायत रहने छ । जसको माथिल्लो भागमा प्याराफिट रहनेछ । अन्य क्षेत्रमा ब्यापारिक प्रयोजनको लागि सटर निर्माण गरिने बताइएको छ ।

५ बर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी रंगशाला निर्माणलाई तिब्रता दिइने नगरपालिकाले जानकारी दिएको छ ।  

१ सय १० मिटर बाई ६५ मिटरको खेल मैदान रहने उक्त रंगशाला निर्माणको लागि विस्तृत परियोजना अध्ययन प्रतिवेदन ९डीपीआर० तयार भईसकेकाले पहिलो चरण अन्तरगत टेण्डर आह्वान हुने भएको हो । 

दोलखामा निर्माण हुने उक्त रंगशाला निर्माणको काम २ चरणमा गर्ने तयारी गरेको राउतले बताए । पहिलो चरणमा १० करोड रुपियाँ बराबरको टेण्डर हुनेछ । 

पहिलो चरणमा इर्मजेन्सी द्वार, डिस्प्ले बोर्ड, फोकस लाईटलगायतको काम हुने छ । यसका लागि साढे २ बर्ष समय तय गरिएको छ भने अर्को चरणको काम त्यसपछि गर्ने गरी ५ बर्षभित्रमा रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । 

नगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण हुने भनिएको उक्त रंगशाला निर्माणको लागि प्रदेश सरकारमा समपुरक प्रस्ताव बुझाइएको र उक्त प्रस्ताव स्वीकृत भएपछि मात्रै प्रदेश सरकारको बजेट आउने राउतले जानकारी दिए । 

उक्त रंगशाला निर्माणको लागि हाल जग्गा छनौट कार्य सम्पन्न भईसकेकाले बाँकी अध्ययन गरेपछि मात्रै के कति लगानी लाग्ने वा कसले लगानी जुटाउने विषयमा छलफल हुने राउतले बताए ।

 

 

०००



प्रकाशित: २०७६ पौष २८
January 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार