नेपाली समय: ११:२१:११ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

एफक्यान २१औं साधारणसभाः उपप्रधानमन्त्री पोखरेललले उद्घाटन गर्ने, ‘बिल्डटेक एक्स्पो’ को सुरुआत गर्दै महासंघ

निर्माण सञ्चार, २९ पसु काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले आफ्नो २१ औं साधारण सभा माघ ३ र ४ गते गर्ने भएको छ ।

भक्तपुरस्थित सल्लाघारी मैदानमा हुने दुई दिने साधारण सभाको उद्देश्य मूलतः सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन पछि निर्माण व्यवसायीहरुमा थपिएको दायित्वमा केन्द्रित हुने निर्माण व्यवसायी महासंघ (एफक्यान) ले जनाएको छ ।

‘बदलिदो परिस्थितिमा महासंघको छातामुनि आबद्ध देशैभरका सम्पूर्ण निर्माण व्यवसायीहरुमा हामी म्याद थप भएकै अवधि भित्र कसरी समयमै गुणस्तरीय पूर्वाधार निर्माण गर्ने भन्नेमा केन्द्रित रहने छौं,’ निर्माण मिडिया नेटवर्कसँगको छलफलमा अध्यक्ष रवि सिंहले भने, ‘विशेष गरी खरिद नियमावलीको नवौं संशोधन पछि सरकारले निर्माण क्षेत्रसँग गरेका केही अपेक्षाहरु छन् भने हामीहरुमा पनि थप दायित्व सिर्जना भएको छ । यो संशोधनले हामी र सरकारका बीचको मतभेदको अन्त्य गर्नमा ठोस भूमिका समेत खेलेको अवस्था छ भने आउने दिनमा हुने सार्वजनिक खरिद ऐनको दोस्रो संशोधनका लागि नयाँ आधार समेत तयार गरेको अवस्था छ । हामी यही सन्देश देशैभरका निर्माण व्यवसायी मित्रहरुमा दिन चाहन्छौं ।’

महासंघ परिसरमा भएको सञ्चार साक्षात्कारमा महासंघले आफ्नो २१ औं साधारणसभाको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने जानकारी दियो ।

देशभरका १५ सय भन्दा बढी व्यवसायीको सहभागिता रहने साधारण सभाको तयारी पूरा भएको समेत महासंघको भनाइ छ ।

अबको मुद्दा ‘क्वेरी फिक्स’ मा केन्द्रित रहने

महासंघ यो साधारण सभापछि देशैभर निर्माण सम्बन्धी कच्चा पदार्थका रुपमा प्रयोग गरिने प्राकृतिक सामाग्रीबारे आधारभूत तहबाटै नीतिगत सम्बोधन गर्ने तर्फ केन्द्रित रहने महासंघको भनाइ छ ।

रोडा–गिटी, बालुवा, ढुंगा–माटो वा टिम्बर (काठ) जस्ता आधारभूत निर्माण सामाग्री अबका दिनमा खोला खोज्दै चोरले जस्तो खोजी गर्ने नभई सरकारको कामका लागि सरकारले नै उचित नीतिगत सम्बोधन हुनु पर्ने महासंघ अध्यक्ष सिंहको भनाइ छ ।

यस अघि टेन्डर प्रक्रिया अगावै साइट क्लियरेन्स’को मुद्दा बोकेको महासंघले यो मुद्दामा आफूहरुको कुरा सरकाले सुन्ने ठाउँमा आएको भन्दै अबका दिनमा सम्बन्धित कुनै पनि निर्माण कार्यका लागि ‘क्वेरी फिक्स’ हुनु पर्ने माग राख्ने भएको छ ।

अध्यक्ष सिंहका अनुसार ‘क्वेरी फिक्स’बारे सरकारका अर्थमन्त्री, भौतिकमन्त्री र विभागीय अधिकारीहरुसँग समेत कुरा भइरहेको छ । अब यी विषयहरु नीतिगत रुपले नै सम्बोधन हुनु पर्ने महासंघ अध्यक्ष सिंहको माग छ ।

उनले भने, ‘साइट क्लियर गर्ने कुरा जति महत्त्वका साथमा हामीले उठायौं र आजका दिनमा आएर सरकारी पक्षले पनि बुझेको छ, सोही महत्त्वका साथ अब हामी सरकारसँग ‘क्वेरी फिक्स’ गर्नेबारे बहस गर्ने छौं । ताकि, सरकारको काम गर्नका लागि लिइने गिटी, बालुवा जस्ता कुराहरुमा हिजोआज भइरहे जस्तो विकृतिको अन्त्य पनि हुने छ भने गुणस्तरीय र सुलभ निर्माणमा पनि यसले भूमिका खेल्ने छ ।’

महासंघ आफ्नो साधारण सभा पछि देशैभर सार्वजनिक खरिद नियमावलीको नवौं संशोधन र पूरा हुन बाँकी अन्य मागहरुका विषयमा पनि ध्यान केन्द्रित गर्ने महासचिव रोशन दाहालको भनाइ छ ।

महासचिव दाहाल अनुसार यी विषयहरु यही साधारण सभामा व्यापक रुपमा छलफल गरिने छ र यी विषयहरुमागि केन्द्रित भई भक्तपुर घोषणापत्र जारी गरिने छ ।

साधारण सभाको सह–आयोजकको रुपमा भक्तपुर जिल्ला निर्माण व्यवसायी संघ रहेको महासंघले जानकारी दियो । 

निर्माण व्यवसायी महासंघको पहिलो अन्तर्राष्ट्रिय ‘बिल्डटेक एक्स्पो’

आफ्नो साधारण सभासँगसँगै महासंघले आफ्नो इतिहासमै पहिलो पटक ‘नेपाल बिल्डटेक एक्स्पो’ को आरम्भ समेत गर्ने भएको छ ।

यो पटक ‘नेपाल बिल्डटेक एक्स्पो २०२०’ का नाउँमा गर्ने यो एक्स्पोको महासंघले आगामी दिनमा समेत निरन्तरता दिने छ ।

अन्तर्राष्ट्रिय स्तरको यो एक्स्पोमा निर्माण क्षेत्रका अत्याधुनिक औजारहरु प्रदर्शनीमा राखिने छ ।
नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा हुने उक्त एक्स्पो माघ ३ देखि ५ सम्म हुने छ ।

प्रदर्शनी पनि भक्तपुरको सल्लाघारी मैदानमै हुँदै छ । एक्स्पो निर्माण क्षेत्रमा रुची राख्ने सबैका लागि उपयुक्त मञ्च हुने महासंघको भनाइ छ ।

प्रदर्शनीबारे बोल्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा निर्माण व्यवसायी निकोलस पाण्डेले ‘निर्माण व्यवसायीहरुलाई विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत गराउन एक्स्पो उपयुक्त मञ्च हुने छ ।’

एक्स्पो संयोजक समेत रहेको महासंघ वरिष्ठ उपाध्यक्ष पाण्डेले दिएको जानकारी अनुसार प्रदर्शनीमा निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग सहित प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु कुल ७० हजार स्क्वाएर फिट क्षेत्रफलको एक्स्पोमा रहने छ ।

तीन दिने एक्स्पो करीब ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईको भनाइ छ ।

एक्स्पोको सहयोगी साझेदारहरुको रुपमा नेपाल उद्योण वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर आफ कर्मश लगायतका संस्थाहरु रहेका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल), नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स (वाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), एल्मोनियम व्यवसायी संघ नेपाल, नेपाल फर्निचर संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, र भारतको राजकोट हार्डवयर म्यानफ्याक्चर एसोसिएसन पनि एक्स्पोका सहयोगी साझेदार संस्था रहेका छन् ।

साधारण सभाको उद्घाटन सत्रमा उपप्रधानमन्त्री पोख्रेलबाट निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरुको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषांकको विमोचन गरिने छ ।

 

०००



प्रकाशित: २०७६ पौष २९
January 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार