नेपाली समय: ०८:५५:१९ pm
वि.सं २०७६ फाल्गुण १०   शनिवार

‘सरकार निर्माण उपकरणहरुको सुरक्षा देऊ’, गृहमन्त्रीले दिए आश्वासन– ‘नडराऊ पूर्ण सुरक्षा हुन्छ’

निर्माण सञ्चार, ७ माघ, काठमाडौं । फिल्ड (निर्माण कार्यस्थल) मा एक्साभेटरहरु धमाधम आगजनीमा पर्न थालेपछि बढ्दो असुरक्षा नियन्त्रण गर्न भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

तर, दुखको कुरा यो हो कि विगत दशकदेखि नै नेपालमा निर्माण स्थलमा निर्माण औजारहरु आतंककारीहरुको निशानामा पर्दै आएका छन् । तर, आजसम्म एउटा पनि न त संलग्न व्यक्ति वा समूह कारबाहीमा परेका छन्, न सरकारले पहिचान नै गर्न सकेको देखिन्छ

महासंघ महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधि मण्डलले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको हो । 

पछिल्ला दिनमा दिनहुँजसो व्यवसायीका उपकरण जलाइन थालिएको भन्दै निर्माण व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति दिलाउन भनेका छन् ।

व्यवसायीहरुले सुरक्षाको ग्यारेन्टी दिन भनेपछि जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिएका छन् ।

महासंघका प्रवक्ता टंकप्रसाद चौलागाई अनुसार मन्त्री थापाले अज्ञात समुहका आपराधिक गतिविधि धरै नियन्त्रणमा आइसकेको भन्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने समेत जिकिर गरेका छन् ।

निर्माण व्यवसायीहरुको भेटमा गृहमन्त्री थापाले जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको समेत जानकारी दिएका थिए ।

निर्माण स्थलमा आगजनी तथा असुरक्षा बढेको भन्दै महासंघ प्रतिनिधिमण्डलले मंगलबार नै संघीय संसद विकास समितिका सभापति कल्याणी खड्कालाई समेत भेट गरी अवस्थाबारे जानकारी गराएको थियो ।

जवाफमा सभापति खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिएकी छन् ।

व्यावसायिक शान्ति सुरक्षा प्रत्याभूति दिलाउन सरकार समक्ष गएको महासंघ प्रतिनिमिण्डलमा महासंघका मानार्थ सदस्य तथा सांसद जीप छिरिङ लामा शेर्पा, महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश शर्मा, महासंघ कार्य समिति सदस्य मंगल शाही , निर्माण व्यवसायीहरु कमल गौतम, सहदेव खड्का, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहेका थिए ।

पढौं यो पनि

आइतबार अज्ञात समुहले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकामा पर्ने आइतबारेमा ३ वटा एस्क्साभेटरमा आगजनी गरेका थिए । आगजनीबाट ३ करोड ५० लाख रुपैया भन्दा बढीको क्षति भएको महासंघको दाबी छ ।

महासंघ अनुसार किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो । 

त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि आइतबारै अज्ञात समुहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको थियो ।

यसरी नै, केही समय अघि बेनी नगरपालिका बगुवखोला नजिक निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ती क्षेत्रीको स्वामित्वमा रहेका तीन वटा स्काभेटरमा आगजनी गरिएको थियो । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रालिको स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा पनि केही समय अघि आगजनी गरिएको थियो । जसबाट ४ करोड रुपियाँ बराबराको क्षति भएको महासंघ बताउँछ ।

पछिल्ला दिनमा वार्षिक ३ दर्जन बढी हाराहारीमा निर्माण उपकरणहरु अज्ञात समूहको निशानामा पर्दै अगाजनीको शिकार बन्दै आएको देखिन्छ ।

तर, पूर्वाधार निर्माणमा सुरक्षा शीर्षक समेत नहुने नेपालमा सरकारले सोबारे सुरक्षा नीति समेत बनाएको देखिदैन । जबकि, सरकारी निर्माण कार्यको पूर्ण सुरक्षाको जिम्म सरकारकै दायित्व हो ।

तर, दुखको कुरा यो हो कि विगत दशकदेखि नै नेपालमा निर्माण स्थलमा निर्माण औजारहरु आतंककारीहरुको निशानामा पर्दै आएका छन् । तर, आजसम्म एउटा पनि न त संलग्न व्यक्ति वा समूह कारबाहीमा परेका छन्, न सरकारले पहिचान नै गर्न सकेको देखिन्छ ।

 

०००

  • तस्वीरमा आगजनीमा परेका एक्साभेटर

 



प्रकाशित: २०७६ माघ ७
January 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार