नेपाली समय: ०६:०१:१७ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

कोरोना अपडेटः ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्यो, डब्लुएचओ भन्छ, ‘आइसबर्गको टुप्पो मात्र हुनसक्छ, अझै सावधानी चाहिन्छ’

निर्माण सञ्चार, २७ माघ, एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोनाभाइसबाट आइतबारमात्रै ९७ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले भनेका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पनि यो संख्यालाई पुष्टि गरेको छ ।

कोरोना भाइरस गत डिसेम्बर अन्तिम सातादेखि फैलिएको मानिएको छ । बुहानबाट फैलिएको यो भाइरसबाट आजसम्म चीनमा मात्रै ९ सय बढीको ज्यान गइसकेको छ भने ४० हजार बढी संक्रमित भएको बताइएको छ ।

चीनभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको भनाइ छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी अलजजिरा अनुसार कोरोनाभाइरसका कारण अहिलेसम्म ९ सय १० जनाको मृत्यु भइसकेको छ। 

त्यसमा ९ सय ७ जना मेनल्यान्ड चाइनाभित्रै, एक जना फिलिपिन्स र एक जना हङकङको नागरिक रहेका छन्।

कोरोना भाइरस संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाइरहेको अवस्था छ ।

कोरोनाभाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । 

विदेशी राष्ट्रहरुले चीनको हुबेईबाट आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन् । चीनमा आवतजावत गर्ने मुख्य एयरलाइन्सहरु चीनका लागि आफ्नो सेवा बन्द गरेका छन् ।

चीन यतिबेला एकखाले नाकाबन्दीमा रहेको अवस्था छ ।

डब्लुएचओ के भन्छ ?

कोरोना भाइरसको डरलाग्दो संक्रमणबार डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले चीनमा यात्राको इतिहास नभएकाहरुमा पनि यो रोगको संक्रमण फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले देखिएको घटनाक्रम सांकेतिक मात्रै हुन सक्ने बताएका छन् र विश्व समुदायलाई सचेतना अपनाउन समेत भनेका छन् । उनले भनेका छन्, ‘केही अरु देशहरुमा सानो सङ्ख्यामा कोरोना फैलिएको देखिएको छ । तर, यो हामीले देखेको हिमशीला ‘आइसबर्ग’ मात्र हुनसक्छ ।’

उनले सबै राष्ट्रहरुलाई भाइरसको संक्रमण भित्रन सक्ने सम्भावित अवस्थाबारे तयार रहन समेत आग्रह गरेका छन् । 


०००


 



प्रकाशित: २०७६ माघ २७
February 10th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार