नेपाली समय: ०७:१८:१२ बिहान
वि.सं २०७७ साउन २१   बुधवार

टेलरेस सुरुङ निर्माणमा समस्या

निर्माण सञ्चार,२८ माघ,काठमाडौँ ।   रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको टेलरेस सुरुङ निर्माणमा समस्या आएको छ। सुरुङ निर्माण क्षेत्रको भौगोलिक अवस्था कमजोर भएका कारण समस्या सिर्जना भएको हो।

आयोजनाका अनुसार ६ सय ६० मिटर टेलरेसमध्ये ७० मिटर खन्ने काम बाँकी छ। यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या आएको आयोजनाले जनाएको छ। सुरुङ निर्माणको काम सकाउन कम्तीमा ६ महिना लाग्ने छ। 

कमजोर भौगोलिक अवस्था भएकाले काम सुस्त गतिमा भइरहेको छ। आयोजनाको बाँध क्षेत्र तथा सर्ज साफ्ट क्षेत्रमा सुरक्षाका कारण काम गर्न सकिएको छैन। सन् २०१९ जुन २० मा आएको सुक्खा पहिरोका कारण काममा अवरोध भएकामा डिसेम्बर १८ देखि कामले निरन्तरता पाएको थियो। अहिले यो क्षेत्रमा जाने बाटो निर्माण भएको छ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण आयोजनामा कामदारको अभाव छ। आयोजनामा दुई सयभन्दा बढी चिनियाँ कामदार रहेका थिए। अहिले आयोजनामा सय जनाको हाराहारीमा चिनियाँ कामदार रहेका छन्। नयाँ वर्ष मनाउन घर फर्किएका चिनियाँ कामदार कोरोना भाइरसको संक्रमणका कारण काममा फर्कन नसकेका आयोजना प्रमुख छवि गैरेले बताए। 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ७५ प्रतिशत काम सकिएको छ। सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन सिडब्लुइ ले सुरुङ निर्माण गरेको हो।

मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथितिरको एक हजार आठ सय ८२ मिटर खण्ड गत वर्षको वैशाख ६ गते पूरा भएको थियो। भूकम्प, नाकाबन्दी र बाढी पहिरोले आयोजना निर्माणमा अवरोध पु(याउँदै आएको छ। एक सय ११ मेगावाट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण सुरु भएको हो। 

आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सवा करोड आम्दानी हुनेछ। सन् २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो।

भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए। 

निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ। आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ।

०००
स्रोतःनागरिक दैनिक बाट



प्रकाशित: २०७६ माघ २८
February 11th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार