नेपाली समय: ०८:३६:०३ pm
वि.सं २०७७ आश्विन ५   सोमवार

सिमेन्ट व्यवसायी भन्छन्, ‘अब अलकत्रा होइन सिमेन्टबाटै सडक बनाऔं’

निर्माण सञ्चार, ०१ फागुन, काठमाडौं । मुलुक सिमेन्टमा आत्मनिर्भर भएको भन्दै व्यवसायीले सडक दिगो बलियो बनाउन विटुमिन (अलकत्रा)को विकल्पमा सिमेन्ट कंक्रिट (ढलान) प्रयोग गरी सडक निर्माण गर्नुपर्ने बताउँछन् । 

ढलान पिच अर्थात् कंक्रिट सडक बनाउने विषयमा पहिलो पटक सडक विभाग र नेपाल सिमेन्ट उत्पादक संघले संयुक्त रूपमा बुधवार आयोजना गरेको ‘सडकका लागि सिमेन्ट कंक्रिट दिगो अवधारणा’ विषयक कार्यक्रममा यो विषयमा दुवैपक्ष एकमत देखिएका हुन् ।

नेपालका केन्द्रिय तथा स्थानिय सडक गुणस्तरहिन भइरहेको अवस्थामा किन सडक निर्माण भइसकेको केहि समयमै भत्किने, उप्कने गरेको भन्दै दीर्घकालिन विकल्पको खोजि सुरु भएकाे छ । 

नेपाल सिमेन्टमा आत्मनिर्भर भएसँगै सिमेन्टको प्रयोगको अन्य कुन–कुन निर्माणका क्षेत्रमा प्रयोग हुनसक्छ भनेर अन्तरक्रिया गरिएको हो । 

केही वर्षअघिसम्म भारतबाट आयात गर्नुपर्ने सिमेन्टमा अहिले मुलुक आत्मनिर्भर भइसकेको छ । 

हाल मुलुकमा २ वटा सरकारी उदयपुर र हेटौंडा सिमेन्ट उद्योग तथा निजी क्षेत्रबाट सञ्चालित ५९ वटा गरी कुल ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्ने विकास निर्माणको लागि सिमेन्ट उद्योगको योगदान महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘आजको हालत सडक बन्यो १५ दिनमै भत्किने गरेको छ । त्यसैले अबका दिनमा गुणस्तरीय काम गर्ने हो ।’

सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नीजि क्षेत्रको पहलबाट हजारौंको संख्यामा रोजगारी सहित उत्पादन सिमेन्ट इन्डस्ट्रिनले मुलुक निर्माणमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘सिमेन्ट उत्पादनमा हामि आत्मर्निभर भएका छौं, पहिले सिमेन्ट कोटा सिस्टम थियो, करिब ६/७ महिना अगाडि बुकिङ गर्नु पर्दथ्यो, त्यहाँ बाट हामी आत्मार्निभर हुदै विस्तारै निर्यात गर्ने ठाउँमा पुगिरहेका छौं ।’

मुलुक निर्माणको लागि सबैभन्दा बढी सडक निर्माणको काम स्थानीय तहले गरेको हुँदा ग्रामीण सडकहरू गुणस्तरीय बनाउन यो प्रविधि अपनाउन सकिने उनले बताए ।

‘कंक्रिट सडक तुलनात्मक रूपमा बढी महँगो देखिन्छ,’ उनले भने, ‘महंगो भए पनि यस्ता सडकहरू बनाउन आवश्यक देखिएकाले मूल्य कम गर्न सक्ने विषयमा गृहकार्य पनि गर्नुपर्छ ।’ 

सिमेन्ट उत्पादकहरूले पनि यसको गुणस्तर कायम राख्दै उत्पादन गर्नुपर्ने र लागत घटाउन बिजुलीको महशुल दर पनि घटाउन आवश्यक देखिएको नेम्वाङको भनाइ छ । 

सोही कार्यक्रमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले यतीबेला देशको आत्मर्निभर मध्यको सिमेन्ट उद्योग पनि एक रहेको सिमेन्ट उद्योगको संरक्षण र खपत बढाउन राज्यले चासो दिने बताए ।  

उनले समृद्ध मुलुक निर्माणको लागि सिमेन्ट आवश्यक भएकाले सिमेन्ट उद्योगको प्रोटेक्ट गर्न आवश्यक रहेको बताए । 

उनले देशको अर्थतन्त्रको ठुलो रोल हुने सिमेन्ट उद्योगलाई सरकारले सहयोग संरक्षण गरी विभिन्न सौलीयत दिने प्रतिवद्धता व्यक्त गरे ।

‘सिमेन्ट उद्योग आत्मार्निभर भइरहेको अवस्था छ,’ उनले भने, ‘तपाईहरु गुणस्तरीय सिमेन्टको उत्पादन बढाउनु होस्, म भारत सरकारसँग पहल गर्छु, पाम आयलमा केही समस्या देखिएको थियो, त्यसलाई पनि वार्तामार्फत समाधान गरिसकेको छु, सिमेन्ट निर्यातको समस्यालाई पनि समाधान गर्छु,’ दुगडले भने ।    

यसैगरी कार्यक्रममा सडक विभागमा महानिर्देशक केशवकुमार शर्माले ढलान सडक बनाउन सकिन्छ भन्ने विषयमा विभागले गृहकार्य गरिरहेको जानकारी दिए । वार्षिक रूपमा नेपालले सडकको मर्मतसम्भारका लागि खर्च गर्ने बजेट र बिटुमिनबाट हुने खर्चका विषयमा मूल्यांकन गरेर ढलान सडक बनाउने विषयमा अब अघि बढ्न आवश्यक भइसकेको उनको भनाइ छ । 

विभागका महानिर्देशक केशवकुमार शर्माले कंक्रिट पेभमेन्ट सम्वन्धी गाइडलाइनको मस्यौदा तयार भइरहेको बताउँदै छिट्टै ल्याउने जानकारी दिए।

उनका अनुसार गाइडलाइन आएपछि कंक्रिट सडक बनाउन बाटो खुल्नेछ। ‘सिमेन्ट प्रयोग गरेर सडक निर्माण भइरहेको छ। तर यो व्यवस्थित छैन,’ उनले बिजमाण्डूसँग भने, ‘अहिले बनेका सिमेन्टेड सडकको मर्मत ग्यारेन्टी र मापदण्ड समेत छैन।’

महानिर्देशक शर्माले  सिमेन्ट उत्पादकसँग दुई किलोमिटर कंक्रिट सडक बनाउन प्रस्ताव गरेका छन्। उनले १० वटा सिमेन्ट उत्पादक कम्पनीलाई मिलेर पाईलट प्रोजेक्टका रुपमा थानकोट–नौविसे खण्डको दुई किमी बनाउन प्रस्ताव गरे।

‘एउटा कम्पनीले दुई सय मिटरका दरले बनाओस्’ शर्माले भने ‘फाइदा र राम्रा पक्षका बारेमा सबैलाई जानकारी दिउँ। त्यसपछि सबैले कंक्रिट सडक बारे बुझ्नेछ ।’

उनले निकट भविष्यमा व्यवसायीहरुनै प्रस्ताव लिएर आउने दाबी गरे। ‘तुलनात्मक फाइदा देखाएर कुनै परियोजना नगरेसम्म कंक्रिट सडकमा जान सकिदैन।’ उनले भने। उनले कंक्रिट सडकका बारेमा थप छलफल समेत आवश्यक रहेको बताए।

‘भोलिदेखि सडक विभागले सिमेन्ट कंक्रिट सडक बनाउन थालौ भनेर मिठा कुरा गरेर हुँदैन,’शर्माले भने ‘सरकारको अहिलेको नीतिले असफलतालाई माफी दिँदैन। अनुसन्धान निजी क्षेत्रले गरेमा सरकारले सहयोग गर्छ।’

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका अध्यक्ष ध्रुव थापाले उत्पादन क्षमताअनुसार सिमेन्टको खपत नहुँदा आत्मनिर्भर भइरहेको यो उद्योग समस्यामा परेको बताए ।

उनले सिमेन्ट तथा क्लिंकरको उपभोग बनाउन वैकल्पिक उपाय कंक्रिट सडक निर्माण नै भएको भन्दै सरकारले यस्ता खालका सडक बनाउन प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘सिमेन्ट र क्लिंकरको खपत बढाउन सरकार र निर्माण व्यवसायीले साथ दिनुपर्छ ।’ 

कार्यक्रममा संघीय सडक सुपरिवेक्षण कार्यालयका प्रमुख राजेन्द्रराज शर्मा र सडक विभागका इन्जिनियरले ढलान सडकको प्रयोग, आवश्यकता, खर्चका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यपत्र प्रस्तुत गर्दै शर्माले बिटुमिनको प्रयोगभन्दा ढलान सडक ५० वर्षभन्दा बढी टिकाउ हुने बताए । 

उनले अहिले केही साना शहरभित्रका सडकमा ढलान सडक बनिसकेको भन्दै महेन्द्र राजमार्ग वा अन्य राजमार्गबाट यो प्रविधि प्रयोगमा ल्याउन सकिने उल्लेख गरे ।

शर्माका अनुसार सरकारले आर्थिक वर्ष २०७४/७५ मा वर्ष मात्रै ६५ हजार ७९५ मेट्रिकटन बिटुमिन विभिन्न देशबाट आयात गरेको छ । जसका लागि ३ अर्ब ३४ करोड रुपियाँ बाहिरिएको थियो ।

यसले मुलुकको व्यापार घाटा पनि निकै बढाएको छ । तर सडक निर्माणमा बिटुमिनको साटो सिमेन्टको प्रयोग बनाउने हो भने त्यसले एकातिर व्यापार घाटा कम गर्छ भने अर्कोतिर सडकको आयु पनि ३ गुणा बढाउँछ ।

नेपालमा हाल बिटुमिनको प्रयोग गरेर सडकहरू बन्दै आएको छ । तर यो प्रविधि टिकाउ र गुणस्तर पनि कम हुने बताइएको छ । अब राजमार्ग तथा प्रदेश÷स्थानीय सडक बनाउ“दा ढलान सडक बनाउन सकिने सरोकारवालाले बताएका छन् । 

बिटुमिन (अलकत्रा)को प्रयोगबाट बन्ने सडकभन्दा ढलान सडक महँगो पर्छ । त्यसो हुँदा ढलान सडकका लागि बजेट तथा स्रोतका साथै इच्छाशक्ति पनि आवश्यक हुने सरोकारवालाले बताएका छन् । 

हाल मुलुकमा १ लाख किलोमिटरको सडक विस्तार भइसकेको छ । त्यस्तै, दीगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा मुलुकमा २ लाख किलोमिटर सडक निर्माण गर्नुपर्ने अवस्था छ । त्यसका लागि अर्बौ रुपियाँ बराबरको बिटुमिन आवश्यक पर्छ ।

मुलुकमा निर्माण भइसकेको १ लाख किलोमिटर सडकमध्ये १५ हजार किलोमिटर सडक राष्ट्रिय र बाँकी ८५ हजार किलोमिटर सडक प्रदेशको मातहतमा छन् ।
त्यस्तै, कुल १ लाख किलोमिटर सडकमध्ये एक चौथाई मात्रै सडक गुणस्तरीय छन् ।
 

तर विटुमिनको गुणस्तरीयता, बिटुमिन प्रयोग गरिएका सडकको गुणस्तर, ती सडकको लाइफका आधारमा विश्लेषण गर्दा विज्ञहरुले सडक निर्माणका लागि सिमेन्ट प्रयोग गर्न सुझाव दिएका छन् ।

बिटुमिनको प्रयोग गरी सडक निर्माण गर्दा त्यसको आयु अधिकतम १५ वर्ष हुन्छ । तर सिमेन्टको प्रयोग भएको सडक कम्तीमा ३० वर्ष र बढीमा ५० वर्षसम्म टिकाऊ हुने विज्ञहरु बताउछन् ।

सिमेन्ट कंक्रिट सडकका फाइदा 

नेपालमा बिटुमिन अर्थात अलकत्रा भएका सडककै बाहुल्यता छ । तर सिमेन्टबाट बनेका सडकहरुमा अहिले कुनै मापदण्डमा बनेका छैनन् । आगामी दिनमा यसलाई निश्चित मापदण्ड बनाएर बनाउनतर्फ लानुपर्ने सडक विभागका उपमहानिर्देशक शर्माको भनाइ छ ।

उनका अनुसार खर्चका हिसाबले सस्तो पर्ने र आयु लामो हुनेसँगै यो सिमेन्टबाट निर्माण गरिएको सडक पानीले पनि असर गर्दैन् । त्यस्तै, रातिको समयमा बढी ‘रिफ्लेक्टिभिटी’ हुने भएकाले सहज हुन्छ ।

सिमेन्ट सडकका फाइदालाई हेर्दा यो प्रतिकुल मौसममा पनि बिग्रदैन । साथै फ्युल खर्चमा समेत १४ प्रतिशत बचत हुन्छ ।

तर दिउँसोको समयमा भने हेर्नका लागि केही समस्या हुन सक्छ भने सडक निर्माण भइसकेपछि बिटुमिनबाट निर्माण भएको सडकमा जस्तै तुरुन्तै प्रयोग गर्न मिल्दैन । बिटुमिनबाट बनाइएको सडक तुरुन्तै प्रयोग गर्न मिल्छ भने सिमेन्टबाट बनाइएको सडक बढीमा २८ दिनसम्म प्रयोग गर्न मिल्दैन ।

तर नयाँ प्रविधिको प्रयोगलाई बढाउन सकियो भने छिट्टै प्रयोग गर्न मिल्ने बनाउन सकिन्छ ।

अहिले मुलुकमा ९० प्रतिशत सामान सडकको माध्यमबाट ओसारपसार हुन्छ । जसका लागि गुणस्तरीय सडक आवश्यक रहेको उनको भनाइ छ ।

सिमेन्ट कंक्रिट सडक निर्माणको लागि आन्तरिक कच्चा पदार्थ नेपालमै 

बिटुमिन आयात गर्नुपर्छ भने सिमेन्ट उत्पादनका लागि चुनढुंगा नेपालमै पाइन्छ । र, नेपालमा उत्पादन पनि पर्याप्त छ । अहिले ६१ वटा उद्योगमध्ये ४० वटा ग्रिन्डिङ प्लान्ट र २१ वटा इन्टिग्रेटेड उद्योग छन् । त्यस्तै, सिमेन्टको माग प्रत्येक वर्ष १० प्रतिशतले बढिरहेको छ भने आगामी वर्षमा १२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा क्लिङकरको माग ८ मिलियन टन भने उत्पादन क्षमता ८.२ मिलियन टन क्षमताको छ ।

 

०००



प्रकाशित: २०७६ फाल्गुण १
February 13th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार