नेपाली समय: ०९:४७:४९ बिहान
वि.सं २०७७ साउन २४   शनिवार

कृषि उत्पादन वृद्धि गरी व्यवसायीकरण गर्न घरेलु तथा साना उद्योगको विकासमा सहकारी लाग्नु पर्छ–मन्त्री अर्याल

निर्माण सञ्चार २९ माघ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कृषि उत्पादन वृद्धि गरी व्यवसायीकरण गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा गरिएको सहकारीमार्फत उद्यमशिलता विकास सम्बन्धि २ दिने राष्ट्रिय गोष्ठी कार्यक्रम उद्घाटन गर्दै मन्त्री अर्यालले कृषि उत्पादन बृद्धि गरी व्यवसायीकीकरण गर्दै घरेलु तथा साना उद्योगको विकासमा सहकारी लाग्नुपर्ने बताएकी हुन् ।

जमिनको व्यवस्थित सुधार नगरी कृषिले फड्को मार्न नसक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न सहकारीले भूमिका खेल्न सक्ने हुँदा सरकारले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाउने छ – मन्त्री अर्यालले भनिन् । 

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि धेरैभन्दा धेरै मानिसलाई उत्पादनमा जोडी सहकारीले रोजगारी सिर्जना हुने उद्यमशिल कार्यक्रम गर्नुपर्नेमा मन्त्री अर्यालको जोड थियो । मन्त्री अर्यालले, ‘सधै सहकारीका नेताहरुले सहकारी अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बा भनेर जपिरहेको सुन्छु, के यो गायत्रीमन्त्र हो र सधै जप्न ? अब त प्रमाणित गर्ने बेला हो ।’ भन्दै सहकारी  अभियानकर्मीप्रति व्यंग्य गरिन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालद्वारा लिखित १५ औं कृति सहकारी स्वायत्तता र स्वतन्त्रता नामको पुस्तकको विमोचन गरिएको थियो । स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएकाले यस विषयमा विश्वका सहकारी अभियानको अभ्यास र सहकारी विज्ञ् अर्थविज्ञहरुको महत्वपूर्ण विचारसमेत समेटेर सो पुस्तक तयार पारीएको अध्यक्ष बडालले बताए । उनले सहकारी ऐन २०७४ र सहकारीलाई उद्योग व्यवसायमा जानका लागि बाधा गरेका अन्य ४७ वटा ऐन संशोधन गर्नुपर्ने औंल्याए । 

सो कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले अहिलेको पुस्ता उद्यमी नबनी भावी पुस्ता उद्यमी बन्न नसक्ने बताए भने सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले नेतृत्वमा बसेकाले फराकिलो सोच राख्नुपर्नेमा जोड दिए । 

त्यस्तै महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानमार्फत उद्यमशीलता बृद्धि गरी सहकारीको योगदान बृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । 
कार्यक्रममा सहकारीमार्फत उद्यमशिलता विकास सम्बन्धि गोष्ठी सम्बन्धि डा. खिमलाल देवकोटा र विश्वराज कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

माघ २९ गते महासंघका निवर्तमान अध्यक्ष केशव बडालले दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकारीको भूमिका विषय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले सहकारीमा उद्यमशिलता विकास र संस्थागत सुशासन विषयक कार्यपत्र प्रस्तुत गर्ने महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले निर्माण संचारलाई बताइन् । 
कार्यक्रममा देशभरबाट ७०० भन्दा बढी सहकारीका नेतृत्व तहका व्यक्तित्वहरुको सहभागीता रहेको थियाे ।

पुस्तकको विषयमा टिप्पणी गर्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्ररेलले पुस्तक सहकारीकर्मीका लागि निकै उपयोगी रहेको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले खेल्नुपर्ने भुमिका र समृद्ध मुलुक निर्माणमा सहकारीले कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा पुस्तकमा विभिन्न देशको उदाहरण समेत रहेको उहाँले बताउनुभयो । उहाँले पुस्तक सहकारीकर्मीले एक पटक पढ्नैपर्ने दावी गर्नुभएको छ । पुस्तकको मुल्य ३ सय ५० राखिएको छ ।

विमोचनको अवसरमा ५० रुपैयाँ छुटको व्यवस्था गरिएको बताइएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले समृद्ध मुलुक निर्माणका लागि सहकारीमार्फत जनतालाई उद्यमी बनाउनुपर्नेमा जोड दिए ।

 

 

०००



प्रकाशित: २०७६ फाल्गुण १
February 13th 2020

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ