नेपाली समय: ०९:२९:२१ राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

फोहोरबाट ऊर्जा निकाल्न मोरङका छ स्थानीय तहबीच वैऊप्रकेको समझदारी

निर्माण सञ्चार, २ फागुन, काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र मोरङ जिल्लाका ६ वटा स्थानीय तहहरुबीच संयुक्त रुपमा फोहरबाट ऊर्जा परियोजना कार्यान्वयनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

परियोजना कार्यान्वयनको लागि मिति २०७६ फागुन २ गते खुमलटार ललितपुर स्थित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

जिल्लाका ६ स्थानीय तहहरुमा– बेलबारी नगरपालिका, सुन्दर हरैंचा नगरपालिका, लेटाङ नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, केराबारी गाउँपालिका र कानेपोखरी गाउँपालिकाले गत पुस ९ गते संयुक्त रुपमा परियोजना निर्माण गर्ने निर्णय सहित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्यको लागि गरेको अनुरोध गरेका थिए ।

समझदारी पत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुुसूदन अधिकारी र नगरपालिकाहरुको तर्फबाट मोरङ जिल्लाको स्थानीय तह साझा सरोकार मञ्चका संयोजक समेत रहनुभएका बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले हस्ताक्षर गरेका छन् ।

फोहरबाट ऊर्जा उत्पादनको माग र लोकप्रियता बढ्दो कार्यकारी निर्देशक अधिकारी

समझदारी पत्रको हस्ताक्षरको क्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले फोहर व्यवस्थापनको विकराल समस्या भोगिरहेका नगरपालिकाहरुमा यस्ता परियोजनाको माग र लोकप्रियता दिनदिनै बढिरहेको बताउँदै परियोजना निर्माणमा ६ वटा पालिकाहरुको सहकार्य स्थानीय तहहरुबीचको सहकार्यको राम्रो नमुना रहेको बताए ।

साथै कार्यकारी निर्देशक अधिकारीले यस परियोजनाको सम्भाव्यता अध्ययन छिट्टै सम्पन्न गरी परियोजनाको प्राविधिक पक्ष, क्षमता र लागत निर्धारण गरिने बताए । 
त्यस्तै कार्यकारी निर्देशक अधिकारीले प्रदेश–१ का धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, दमक नगरपालिकामा परियोजना निर्माणाधीन रहेको र  कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले संयुक्त परियोजना निर्माण गरिरहेको बताउँदै नगरपालिकाको फोहरको प्रभावकारी व्यवस्थापनको लागि यस्ता परियोजना उपयोगी हुने बताए । 

उनले प्रदेश–१ मा फोहरबाट ऊर्जा  र व्यावसायिक ठूला क्षमताका बायोग्यास परियोजनाको निरन्तर वृद्धि भइरहेको बताउँदै यस्ता परियोजनाहरुलाई प्रोत्साहन गर्नको लागि अनुदानको साथै सुलभ ऋणको लागि समेत केन्द्रले पहल गरिरहेको बताएका छन् । 

हालै मात्र केन्द र युएई को अबुधाबी फण्ड फर डेभलप्मेन्टबीच फोहरबाट ऊर्जा परियोजनामा ऋण प्रवाहको लागि १० मिलियन अमेरिकी डलर बराबरको सम्झौता समेत भएको छ । 

स्थानीय तहबीच सहकार्यको नमूनाः नगर प्रमुख सुबेदी 

स्थानीय तहहरुबीचको संयुक्त सहकार्यमा विकासका कार्यहरु गर्दा स्थानीय तहहरुबीच एकता देखिनुको साथै स्थानीय तह साझा सरोकार मञ्चलाई पनि थप फाइदा पुग्ने बेलबारीका नगर प्रमुख सुबेदीले बताए ।

परियोजनालाई आवश्यक जग्गाको प्रबन्ध ६ वटै पालिकाहरुसँगको समन्वयमा तय गरिने नगर प्रमुख सुबेदीको भनाइ छ ।
संयुक्त परियोजना सञ्चालनको लागि मिति २०७६ पौष ९ गते नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षतामा बसेको ६ वटै पालिकाका प्रमुखहरु (सुन्दर हरैंचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद

ढकाल, लेटाङ्ग नगरपालिकाका नगर प्रमुख शंकर राई, पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिप कुमार राई, केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्ले) को बैठकले निर्णय गरेको थियो । 

लागत कति ? काम कसरी ?

विश्व बैंक समेतको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम (Scaling up Renewable Energy Programme-SREP) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ताले गर्ने छ । 

डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको  सफल सञ्चालन पछि उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्ने छ । 

परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था सम्बन्धित नगरपालिकाले गर्नेछन् भने परियोजनाको लागि आवश्यक कच्चा पदार्थको रुपमा नगरपालिकाहरुबाट संकलन हुने कुहिने फोहर तथा अन्य व्यवसायिक प्रतिष्ठानहरुबाट उत्पादन हुने जैविक फोहर समेत उपयोग गरिनेछ । 

एकीकृत रुपमा परियोजना निर्माण गर्दा हुने फाइदा
नगरपालिकाको रुपमा भर्खरै स्थापित भई फोहर व्यवस्थापनको  अभ्यास शुरु भएका प्रत्येक नगरपालिकामा छुट्टाछुट्टै परियोजना निर्माण गर्दा फोहरको परिमाण कम भई परियोजना आर्थिक रुपमा सम्भाव्य नहुने

नगरपालिका क्षेत्रमा जग्गाको अभाव हुने भएकोले प्रत्येक नगरपालिकाले फोहर व्यवस्थापनको लागि जग्गाको प्रबन्ध गर्नुपर्ने झण्झटबाट राहत मिल्ने 

ठूला साइजका परियोजना निर्माण गर्दा लगानीकर्तालाई आकर्षित गर्न सजिलो 

ठूलो परिमाणमा बायोग्यास र प्रांगारिक मल उत्पादन गरी एल.पी. ग्यास र रासायनिक मलको आयात न्यूनीकरणमा योगदान पु¥याउन सकिने 

एकीकृत फोहर व्यवस्थापन प्रणालीलाई प्रभावकारी रुपमा लागू गर्न सकिने 
फोहर न्युनीकरण, पुनः प्रयोग तथा रुपान्तरण (Reduce, Reuse, Recycle) को अवधारणा अन्तर्गत गल्ने फोहरबाट बायोग्यास र प्रांगारिक मल तथा नकुहिने फोहरलाई वर्गीकरण गरी बिक्री वितरणबाट पर्याप्त आम्दानी गर्न सकिने 

यसखाले फाइदाहरु हुने उल्लेख छ । 

 

०००
 



प्रकाशित: २०७६ फाल्गुण २
February 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार