नेपाली समय: ०२:००:३४ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

पप्पु कन्स्ट्रक्सनसहित सात कम्पनी कालोसूचीमा, सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने

निर्माण सञ्चार, ५ फागुन, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी र एक आपूर्तिकर्तालाई सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको भन्दै कालोसूचीमा राखेको छ।

अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी कम्पनी र एउटा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो।

अनुगमन कार्यालयले सोमबार प्रकाशन गरेको सूचनाअनुसार पप्पु कन्स्ट्रक्सन, निशा सप्लायर्स, श्रीदेव सप्लायर्स, सूर्योदय निर्माण एण्ड हाउसिङ, बारा कन्स्ट्रक्सन, एचविकेसी निर्माण सेवा लगायतका कम्पनी कालोसूचीमा परेका छन्।

सडक विभाग, द टिम्बर कर्पोरेशन अफ नेपाल, प्रहरी प्रधान कार्यालय, मेलुङ गाउँपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका क्षेत्रबाट विभिन्न कम्पनीलाई कालोसूचीमा राख्नका लागि आवेदन दिइएको कार्यालयले जनाएको छ।

को–को परे कालोसूचीमा 

सूचनाअनुसार पप्पु कन्स्ट्रक्सनका सुमित रौनियार, निशा सप्लायर्सका अशोक न्याशुर, श्रीदेव सप्लायर्सका दामोदर दुलाल, सूर्यदेव निर्माण एण्ड हाउजिङका विष्णुकुमार कडरिया र एचविकेसी निर्माण सेवाका हरिबहादुर खत्रीलाई कालोसूचीमा राखिएको छ।

कार्यालयले कालोसूचीमा राखेको समयावधिभर सम्बन्धित कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कार्वाहीमा भाग लिन नपाइने प्रावधान छ।

कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई तीन वर्षका लागि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाएको छ भने बाँकी पाँचवटा कम्पनीलाई एक÷एक वर्षका लागि सार्वजनिक खरिद कारवाहीमा सहभागी हुन प्रतिबन्ध लगाएको हो।   

सार्वजनिक खरिद ऐन–२०६३ को दफा १ बमोजिम सात कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।


०००
 

कालो सूचीमा पर्ने कम्पनीहरुको विस्तृत जान्न यहाँ क्लिक गर्नुहोला



प्रकाशित: २०७६ फाल्गुण ५
February 17th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार