नेपाली समय: ०२:१०:२७ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

७३ म्यानपावरमाथि अख्तियारको निगरानी, कस्तो हुँदै छ छानविन

निर्माण सञ्चार,०७ फागुन,काठमाडौं । सरकारले कर छली गरी अकुत सम्पति आर्जन गरेको आरोपमा ७३ म्यानपावर कम्पनी माथि छानविन अन्तिम चरणमा पुर्याएको जनाएको छ । प्रधानमन्त्री कार्यालय अन्तरगतको सम्पति शुद्धीकरण अनुसन्धान विभागले मानव बेचविखन, वैदेशिक रोजगारीमा पठाउने नाममा तथा कर छली गरी अकुत सम्पति आर्जन गरेको आरोपमा विभिन्न ७३ म्यानपावर कम्पनीलाई अनुसन्धानको दायरामा ल्याई छानविन अघि बढाएको थियो । 

उक्त अनुसन्धानका लागि विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुसन्धान अधिकृत नियुक्त गरी छानविन प्रक्रिया अघि बढाएको छ । हाल उक्त छानविन प्रक्रिया अन्तिम चरणमा पुगेको विभाग स्रोतले बताएको छ । 

केही म्यानपावर कम्पनीले अकुत सम्पति कमाएको र उक्त सम्पतिको स्रोत नखुलेपछि विभागले त्यस्ता कम्पनीको छानविन प्रक्रिया अघि बढाएको हो । त्यस्ता म्यानपावर कम्पनीको व्यापार र आम्दानीको स्रोत पुष्टि नभएपछि विभागले फाइल मगाएर छानविन प्रक्रिया अघि बढाएको थियो । 

त्यस्ता म्यानपावर कम्पनीलाई मानव बेचविखन र कर छली गरी दुई तरिकाबाट अनुसन्धान अघि बढाइएको समेत विभाग स्रोतले जानकारी दिएको छ । सरकारले मलेसिया लगायत खाडी मुलुकहरुमा वैदेशिक रोजगारीमा जानका लागि शुन्य लागत निर्धारण गरेपनि म्यानपावर कम्पनीहरुले उच्च शुल्क लिँदै आएका थिए । 

कामदारलाई १० हजार रुपैयाँ तिरेको रसिद दिएपनि रोजगारीमा जाने कामदारसँग उच्च रकम लिई अकुत सम्पति आर्जन गरेको समेत उक्त स्रोतको दावी गरेको छ । साथै त्यसरी अकुत सम्पति आर्जन गर्ने म्यानपावर कम्पनीको छानविनको क्रममा सरकारलाई आम्दानी बापतको कुनै कर नतिरेको तथा उक्त सम्पति कुन स्रोतबाट आएको हो भन्ने समेत नखुलेको भेटिएको स्रोतले बताएको छ । त्यसरी मानव बेचविखन तथा कर छली गरी विना स्रोत अकुत सम्पति आर्जन गर्ने कम्पनीको छानविन अन्तिम चरण पुगेको र उनीहरु विरुद्ध मुद्दा दायर गरिने समेत विभाग स्रोतले बताएको छ  ।

०००
 



प्रकाशित: २०७६ फाल्गुण ७
February 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार