नेपाली समय: ०१:४२:३१ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

७० करोड कमिसन अडियो क्लिप प्रकरणः सञ्चारमन्त्री बास्कोटाको गयो मन्त्री पद !

निर्माण सञ्चार, ८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा स्वीस एजेन्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रसँग भएको कुराकानीको अडियो क्लिप सार्वजनिक गरेपछि सार्वजनिक आलोचनाका पात्र बनेको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन् ।

मिश्रले आफू एजेन्ट रहेको स्वीस कम्पनीसँग सरकारले उक्त प्रेस खरिद नगर्ने भएपछि नियोजित रुपमा मन्त्री बास्कोतासँगको फोनवार्ताको रेकर्डिङ क्लिप सार्वजनिक सञ्चारमाध्यमहरुमा दिएका थिए ।

उक्त अडियो क्लिपमा ७० करोड कमिसनको बार्गेनिङ भएको सुनिन्छ ।

राज्यमन्त्रीबाट मन्त्रालयको यात्रा सुरु गरेको बास्कोटा बोलीकै कारण काण्डैकाण्डमा फस्दै आएका थिए । यस अघि दूर सञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा समेत बास्कोटाले अप्राविधिक व्यक्ति नियुक्ति गरेको भन्दै आलोचना भएको थियो । त्यसमा पनि उनले लेनदेन गरेको आरोप छ ।

बिहीबार अपराह्न सञ्चा मन्त्रीको पदबाट बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी गराएका थिए ।

उक्त भ्रष्टाचार प्रकरणपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदको बैठक अवरोध गरेको थियो । कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । 

कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताएका थिए ।

उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

०००

पढौं यो पनि

प्रधानमन्त्री ओलीको निर्देशन पछि बास्कोटाको राजिनामाः तर उनले भने, ‘नैतिकताका आधारमा राजिनामा दिएँ’


सेक्युरिटी प्रेस कमिसन प्रकरण: कसरी भयो खुलासा ?



प्रकाशित: २०७६ फाल्गुण ८
February 20th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार