नेपाली समय: ०९:४३:४३ राती
वि.सं २०७७ आश्विन ५   सोमवार

२२ सय रुग्ण आयोजनाको म्याद थपको समय सकियो, मन्त्रालयमा फाइलको डङ्गुर

निर्माण सञ्चार, १६ फागुन, काठमाडौं । देशभर करिब २२ सय रुग्ण/अलपत्र आयोजनाको यतिखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायत अन्य मन्त्रालमा आयोजनाहरूको म्याद थपका फाइलको चाङ लागेको छ । 

देशभर सञ्चालित म्याद सकिएका, समय गुज्रिएका र समस्या परेका रुग्ण आयोजनाहरूको म्याद थपको फाइल मन्त्रालयमा आएको हो । अहिले मन्त्रालयहरूलाई निर्माण कार्यको म्याद थपको फाइल दर्ता गर्ने चटारो छ ।

मन्त्रालयहरूमा रुग्ण आयोजनाहरूको म्याद थपका फाइलहरु खात लागेका छन् ।

सार्वजनिक खरिद नियावली २०६४ को ९औं संशोधनले रुग्ण आयोजनाहरूको म्याद थपको ६० दिने समयावधि सकिँदै गर्दा मन्त्रालयहरूमा आयोजनाको म्याद थपको भिड लागेको हो ।

गत पुस ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयले यस्ता आयोजनालाई बढीमा एक वर्षसम्म म्याद थप गर्न सक्ने गरी फागुन १५ गतेसम्मको अन्तिम म्याद दिएको थियो ।

नव संशोधित सार्वजनिक खरिद नियमावलीले आव २०६४/६५ यता सम्झौता भएका तर म्याद गुज्रिए त्यस्ता आयोजनालाई एक वर्षको समय थपको अवसर दिएको होे ।

आव ०६४/०६५ यता ०७६ पुस ९ गतेभित्र सम्झौता भएका तर विविध कारणले म्याद सकिएका चालू तथा रुग्ण आयोजनालाई यस्तो अवसर दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सीडी केदार नेपालले बताए ।

‘हाल देशभर सञ्चालित राष्ट्रिय गौरवका आयोजनासहित अन्य म्याद सकिएका चालू तथा रुग्ण आयोजनाहरूको म्याद थप हुँदैछ । सार्वजनिक खरिद नियावली २०६४को ९औँ संशोधनले दिएको अवसरसमेत आज सकिँदैछ ।’ सीडी नेपालले भने, ‘अहिले म्याद थपका लागि आयोजना ठेकेदारहरूको फाइलको मन्त्रालयमा चाङ लागेको छ ।’

सीडी नेपालका अनुसार त्यस्ता आयोजनाको म्याद थपको अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई दिएको छ । म्याद थपको अन्तिम मिति आज पर्दा मन्त्रालयमा फाइल रुजुको चाप परेको छ ।

सम्झौताअनुसार तोकिएको समयमा आयोजना पूरा नगर्ने ठेकेदारले अबको एक वर्षमा बाँकी काम सक्नेगरी काम अघि बढाउने प्रतिबद्धता जाहेर गर्दै मन्त्रालयमा म्याद थपको दर्खास्त दिएका छन् ।

सीडी नेपालका अनुसार भौतिक पूर्वाधार मातहतका सडक विभाग र रेल विभागको समेत गरेर अहिले विभागमा एक हजार ३ सय चानचुन म्याद थपका फाइल दर्ता भएका छन् । यस्तो फाइल अन्य मन्त्रालयहरूमा समेत रहेको र यो सङ्ख्या करिब २ हजारको हारहारीमा हुनसक्ने नेपालको भनाइ छ ।

म्याद थप्न नआउने व्यवसायीलाई कडा कारबाही 

म्याद थपको अन्तिम मौका दिँदासमेत सम्पर्कमा नआउने निर्माण व्यवसायीलाई नियम अनुसार कडा कारबाही हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ । 

यता निर्माण व्यवसायीहरूको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघले भने सरकारले दिएको म्याद थपको अवसरले बाँकी रहेका आयोजनाको ७० प्रतिशत काम सम्पन्न हुने बताएको छ । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार दिएको  म्याद थपलाई महासंघले स्वागत गरेको र यसले व्यवसायीहरूलाई अवसर प्रदान गरेको बताए । 

‘सरकारले निमाण व्यवसायीलाई उपलब्ध गाराएको १ वर्षे म्याद थपले अधुँरा आयोजनाको ७० प्रतिशत काम सम्मपन्न हुन्छन्,’ उनले भने, ‘बाँकी रहेका ३० प्रतिशत आयोजना जसको काम गर्न सक्ने अवस्था छैन् त्यस्ता आयोजनाको लागि सरकारले अर्को विकल्प दिनुपर्ने हुन्छ ।’

‘अहिलेको यो म्याद थपको अफरलाई हामीले अवसरको रूपमा लिएका छौँ,’ उनले भने, ‘यसमा व्यवसायी साथीहरूले काम गर्नेमा हामी विश्वस्त छौँ । तर सरकारले म्याद थपको अवसर दिँदादिँदै पनि सम्पर्कमा नआउने कम्पनी तथा निर्माण व्यवसायीहरूलाई भने महासंघले अब काधँ थाप्ने छैन, नियम अनुसार कारबाहीको भागिदार हुने छन् ।’ 

 

 

०००
 



प्रकाशित: २०७६ फाल्गुण १६
February 28th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार