नेपाली समय: १२:४३:१७ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

अस्पतालबाट डिस्चार्जः प्रधानमन्त्रीको उही हँसिलो मुहार !

निर्माण सञ्चार, ३० फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपणको सफल उपचार क्रममा १२ दिने अस्पताल बसाइपछि प्रधामन्त्री केपी शर्माओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । 

आफ्नो उपचारमा संलग्न चिकित्सकहरु सहित प्रधानमन्त्री ओली साँझ ६ः१५ बजे डिस्चार्ज हँुदा उनको मुहार उस्तै थियो र मुस्कान पनि उस्तै । 
मानौं स्वास्थ्यमा केही समस्या नै छैन । शरीरमा चारवटा मिर्गौला भएको अवस्थामा रहेका प्रधानमन्त्री ओली डिस्चार्ज हुँदा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसर शुभचिन्तक र सञ्चाकर्मीहरुका कारण घुइँचो थियो ।

फागुन १९ गते अस्पताल भर्ना भएका प्रम ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । डिस्चार्ज लगत्तै प्रम ओली बालुवाटार स्थित निवास फर्किएका थिए । जहा ओलीले ९० वर्षीय पिता मोहन प्रसाद ओलीलाई ढोग गरेका थिए । 

ढोग गर्दै प्रम ओलीले भने, ‘निको भएर आएँ बुबा ।’

उपचार पछि पनि प्रम ओली नियमित फलोअपमा रहनुपर्ने अस्पताल स्रोतले जनाएको छ। अस्पताल अनुसार प्रधानमन्‍त्री ओलीका महत्वपूर्ण अंगका परिसूचक र परीक्षणहरु राम्रो अवस्थामा छन्।

प्रम ओलीलाई मिर्गौला दिने भाञ्जी समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।

शिक्षण अस्पतालले प्रकाशित गरेको प्रेस नोटमा प्रधानमन्त्रीलाई विशेष सजग रहेर सामान्य काम गर्न सक्ने औँल्याएको छ ।

अस्पतालले ‘आवश्यक सतर्कताका साथ नियमित सबै काम गर्न सक्ने’ जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्‍त्री श्री केपी शर्मा ओलीज्यू त्रिवि शिक्षण अस्पतालमा २०७६ फागुन १९ गते भर्ना हुनु भई फागुन २१ गते उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो।’ 

अघि भनिएको छ, ‘आज उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलाभपछि डिस्चार्ज गरिएको छ ।’

प्रम ओलीको स्वास्थ्यबारे उल्लेख गर्दै निजी चिकित्सक दिव्या सिंह शाहले लेखेकी छन्, ‘शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, उहाँका भाइटल तथा ल्याब सूचकांकहरु राम्रो अवस्थामा रहेका छन्।’

०००



प्रकाशित: २०७६ चैत्र १
March 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार