नेपाली समय: ०४:१८:०८ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

विदेशी नेपाल आउने क्रम ठप्प, सबैजसो एयरलाइन्सको उडान रद्द

निर्माण सञ्चार, ०६ चैत, काठमाडौँ । सरकारले विदेशी नागरिकलाई पर्यटक भिसा प्रतिबन्ध गरेसँगै विदेशी नेपाल आउने क्रम ठप्पजस्तै भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक हजारौँ पर्यटक नेपाल आउने गरेकोमा पर्यटक भिसामा रोक लगाएसँगै नगन्य संख्यामा मात्रै नेपाल आएका छन् । नेपाल आउने विदेशी पनि अत्यावश्यक काम र कामदार भिसाका विदेशी मात्रै नेपाल आएका छन् । सरकारले विदेशीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेसँगै विदेशी नेपाल आउने क्रम रोकिएको हो । 

सोमबार त्रिभुवन विमानस्थल हुँदै २ हजार ३ सय यात्रु नेपाल प्रवेश गरेकामा ५७ जना मात्रै विदेशी नागरिक थिए । बाँकी सबै नेपाली मात्रै रहेको अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले जानकारी दिए । मंगलबार त्रिभुवन विमानस्थलमार्फत ५२ जना मात्रै विदेशी नेपाल भित्रिएका छन् । जबकि मंगलबार ३ हजार ६ सय यात्रु नेपाल प्रवेश गरेका छन् । अन्य सबै यात्रु नेपाली मात्रै रहेका अध्यगमन कार्यालयको भनाइ छ । त्यस्तै बुधबार बेलुकी ७ बजेसम्म ३० जना मात्रै विदेशी नेपाल भित्रिएका छन् । भने १ हजार ५ सय यात्रु नेपाल प्रवेश गरेका छन् ।

सरकारले बुधबार ५५ देशबाट नेपाल आउन विदेशीलाई मात्रै होइन, नेपाली नागरिकलाई समेत प्रतिबन्ध लगाउने निर्णय गरेसँगै शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुनेछ 

शुक्रबारबाट विमानस्थल ठप्प

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले बुधबार कोरोनाप्रभावित ५५ मुलुकका नाागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ, जसका कारण अबका दिनमा विदेशी नेपाल आउने क्रम ठप्पप्रायः हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विदेशीलाई मात्रै होइन, नेपालीलाई पनि अप्रिल १५ सम्म नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको छ । उपप्रधानमन्त्रीको नेतृत्वको समितिले निर्णय गरेसँगै अधिकांश एयरलाइन्सले उडान रद्द गर्ने सूचना विमानस्थल कार्यालयलाई पठाएका छन् । सरकारले मार्च २० देखि अप्रिल १५ सम्म नेपालीलाई समेत नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । 

सरकारले नेपाली र विदेशी दुवैलाई नेपाल आउन कडाइ गरेपछि आधिकांश एयरलाइन्सले स्वतः उडान रोक्न थालेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘बुधबारको निर्णयले झनै नेपालीसमेत आउन रोकिने भएकाले विमानस्थल ठप्प हुनेछ,’ पोखरेलले भने । 

पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट सोझै आउन वा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलकबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरको हो । यो निर्णयसँगै टर्कीबाट भइरहेको टर्किस एयरलाइन्सको उडानसमेत रोकिने भएको छ । यता चीनका सबै एयरलाइन्ले मार्च २८ सम्मका सबै उडान रद्द गरेको सूचना पठाएका छन् । दक्षिण कोरियाबाट सीधा उडान भर्दै आएको कोरियन एयरले पनि मार्च २७ सम्मको उडान रद्द गरेको छ । 

हिमालय एयरलाइन्सले सबै गन्तव्यको उडान रोकिएको छ । नेपाल वायुसेवा निगमले पनि अधिकांश उडान रद्द गरेको छ । निगमले दिल्लीको दैनिक एक उडान मात्रै राखेको छ । त्यस्तै, निगमले बैंकक र हङकङको मात्रै उडान राखेर बाँकी उडान रद्द गरेको छ । कतार एयरवेजले पनि मार्च २२ देखि ३१ सम्मको उडान रद्द गरेको सूचना विमानस्थललाई दिएको छ । कतार एयरलायन्सले पनि दोहा–काठमाडौं उडान बन्द गर्दै छ । 

भारतबाट काठमाडौं उडान गर्दै आएको एयर इन्डियाले पनि मार्च १७ देखि २८ सम्मको सवै उडान स्थगित गरेको छ । भारतबाट उडान गर्दै आएका भिस्तारा र इन्डिगोले समेत सबै उडान बन्द गरिसकेका छन् । त्यस्तै, क्याथे ड्रयागन एयरलाइन्सले पनि हङकङ–काठमाडौं उडान मार्च १८ देखि ३१ सम्म रद्द गरेको सूचना सार्वजनिक गरेको छ । विमान बंगलादेशले पनि मार्च १९ देखि ३१ सम्मको काठमाडौं उडान रद्द गरेको छ । दैनिकजसो ८५ वटाभन्दा बढी उडान÷अवतरण हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटेर २८ वटा मात्रै उडान अवतरण भएको थियो । 


०००
स्रोतः नयाँ पत्रिका



प्रकाशित: २०७६ चैत्र ६
March 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार