नेपाली समय: ०२:१४:५२ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

विश्वस्वास्थ्य संगठन भन्छः ‘युवाहरु पनि कोरोनाबाट मृत्युको कारण बन्न सक्छन्, होस गर’

निर्माण सञ्चार, ८ चैत, काठमाडौं । विश्व महामारी घोषित कोरोना भाइरस संक्रमणबाट युवाहरु पनि उच्च जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युवाहरु सचेत रहन चेतावनी दिएको छ ।

युवाहरुलाई लक्षित गर्दै डब्लूएचओले जथाभावी हिँडडुल नगर्न सचेत गराएको छ भने बालबालिका तथा बृद्धहरुसँग घुलमिल नगर्न समेत भनेको छ ।

डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले युवाहरुलाई चेतावनी दिदै भनेका छन्, ‘ युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन । उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन् । त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन् ।’

कोरोना संक्रमणसँगै युवा भन्दा बृद्धवृद्धा तथा बालबालिकाहरु बढी जोखिममा परेको समाचारहरु आइरहेकै बेला डब्लुएचओले युवाहरु पनि कोरोनाको उच्च जोखिममा रहेको बताएको हो । 

कोरोना भाइरसबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुन्छन् भन्दै युवाहरुलाई कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ भन्ने गलत सन्देश सञ्चार भएको प्रति मानव स्वास्थ्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरु चिन्तित छन् ।

डब्लूएचओको मुख्यालयमा आयोजित अनलाइन प्रेस कन्फ्रेन्समा गिब्रियसोसले बताए, ‘कोरोना भाइरसबाट पाका व्यक्तिहरु बढी प्रभावित भएका त छन् नै, तर युवाहरु पनि यसबाट जोगिएका छैनन् ।’

उनले युवाहरुलाई चेतावनी दिँदै भने, ‘तपाईंहरु अजय हुनुहुन्न । कोरोना भाइरसले तपाईंलाई एक हप्तामै अस्पताल पुर्याउनसक्छ या मार्न पनि सक्छ । यदि तपाईं बिरामी हुनु भएन भने पनि कसैको मृत्युको कारण बन्न सक्नु हुन्छ ।’

डब्लुएचओका अनुसार कोरोना भाइरस संक्रमणबाट विश्वभर ११ हजार व्यक्तिको मृत्यु भइसकेको छ भने साँढे २ लाख मानिस संक्रमित भएको पुष्टि भइसकेको छ ।


०००



प्रकाशित: २०७६ चैत्र ८
March 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार