नेपाली समय: १०:०५:३२ राती
वि.सं २०७७ आश्विन ५   सोमवार

भारतलाई चेतावनीः ‘धेरै क्षति व्यहोर्नु पर्ने देश बन्न सक्छ भारत’, अनुसन्धानकर्ता भन्छन्, ‘कोरोना संक्रमणको सुनामी आउनेवाला छ’

निर्माण सञ्चार, ९ चैत, काठमाडौं । विश्वको ठूलो जनसंख्या मध्ये एक रहेको भारत पनि यतिबेला कोरोना भाइरसको दिनानुदिन बढ्दो संक्रमणको शिकार बनेको छ ।

यसै बीच एक विशेषज्ञले कोरोना भाइरस संक्रमणबाट धेरै क्षति व्यहोर्नु पर्ने अर्को देश भारत बन्ने खतरा रहेको चेतावनी दिएका छन् । 

ती विशेषज्ञका अनुसार ‘भारतमा कोरोना संक्रमणको ‘सुनामी’ आउनेवाला छ’।

अहिलेसम्म कोरोना संक्रमित देशहरुको संख्या १६८ छ भने १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा ३३२ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको छ । गत २४ घण्टामा भारतमा ८३ जना नयाँ संक्रमित फेला परेका छन् ।

भारतमा फैलिरहेको कोरोनाको पछिल्लो अवस्थालाई नजिकबाट हेरिरहेका सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा रामानन लक्ष्मीनारायणले भारतमा कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुने बताएका हुन् । 

विश्वका अन्य देशको तुलनामा भारतमा कोरोना संक्रमणको दर कम हुने कुनै संकेत नदेखिएको उनको ठोकुवा छ ।

बिबिसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘स्पेन र चीनमा जस्तो अवस्था छ, जति धेरै त्यहाँ संक्रमित छन्, त्यस्तै हालत भारतमा पनि हुन्छ । केही हप्तामै हामी कोरोनाको सुनामीका लागि तयार रहनुपर्छ ।’

उनका अनुसार विश्वका कुनै पनि देशको तुलनामा कोरोना भाइरस संक्रमणको आजका दिनसम्म भारतमा कम देखिएको भए पनि यो क्रम सुनामीका रुपमा ह्वात्तै बढ्न सक्ने छ । 

भारतमा पनि कोरोनाको परीक्षण एकदमै थोरै भइरहेको प्रति उनको गुनासो छ ।

डा लक्ष्मीनारायणले भनेका छन्, ‘जब धेरै व्यक्तिको स्वास्थ्य परीक्षण हुन्छ, तब बिरामीको संख्या पनि धेरै देखिन्छ । मलाई लाग्छ यो संख्या एक हजारभन्दा बढी हुनसक्छ । त्यसैले हामी तयार रहनुपर्छ ।’ 

उनले चीनमा जस्तै भारतको जनघनत्व पनि बढी भएकाले संक्रमण छिटो फैलिन सक्ने आँकलन गरे ।

फैलाओटको खतरानाक किन ?

कम्युनिटी ट्रान्समिसन संक्रमण फैलिने तेस्रो र केही खतरनाक अवस्था हो । यो यस्तो अवस्था हो, जब कुनै व्यक्ति अर्को संक्रमित व्यक्तिको सम्पर्कमा नआइकन वा भाइरस संक्रमित देशको यात्रा नगरीकन पनि देखिन्छ ।

भारतमा हाल धेरैजसो विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुको मात्र स्वास्थ्य परीक्षण गरिएको छ । तर जब कसैलाई म कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको छु भन्ने थाहा हुँदैन तब त्यो व्यक्तिमार्फत संक्रमण अन्य धेरै व्यक्तिसम्म फैलियो भने समस्या सिर्जना हुन्छ ।

भारतमा कोरोना संक्रमित कति होलान् भन्ने प्रश्नमा डा रामाननले भनेका छन्, ‘अमेरिका र बेलायतमा ५० देखि ६० प्रतिशत व्यक्ति संक्रममित भएका छन् । यसलाई हेर्दा भारतको करिब २० प्रतिशत जनसंख्या संक्रमणको चपेटामा पर्न सक्छन् । भारतको २० प्रतिशत जनसंख्या भनेको करिब ३० करोड जना हो ।’

भारतमा अस्पतालको अवस्था कमजोर 

चीनले जस्तै गरी अस्पताल निर्माण गरेर भर्ना गरेरै बिरामी उपचार गर्नु पर्ने दिन आउन सक्ने बताएका ती डाक्टरले भारतमा अस्पतालहरुको अवस्था नाजुक रहेको बताएका छन् । 

उनका अनुसार ‘भारतमा हरेक ५ जनामध्ये एक जना संक्रमणको शिकार बन्न सक्ने भविष्यवाणि नै गरिदिएका छन् । यो आँकडा भनेको ४० देखि ५० लाख व्यक्ति गम्भीर अवस्थामा पुग्नु हो । उनीहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ’, उनले बताएका छन् ।

उनले अघि भनेका छन्– भारतको स्वास्थ्य सेवा यति धेरै व्यक्तिलाई अस्पतालमा भर्ना गरेर राम्रो उपचार दिन सक्ला ? भन्ने प्रश्न उब्जिन्छ । खासगरी ग्रामीण क्षेत्रका जिल्लास्तरीय अस्पतालको अवस्था भारतमा निकै खराब छ ।’

डा रामाननले पनि भारतमा राम्रो स्वास्थ्य सुविधा नभएको बताएका छन् ।

उनले बिबिसीसँगको अन्तर्वार्तामा भनेका छन्, ‘पूरै भारतका सबै अस्पतालमा करिब ७० हजारदेखि एक लाखसम्म आईसीयू बेड छन् । जनसंख्याको हिसाबले आईसीयू बेडको यो संख्या निकै कम हो । हामीसँग तयारी गर्ने समय धेरै छैन । जसरी चीनले गरेर देखायो, हामीले पनि त्यस्तै गर्नु पर्ने हुन्छ । अस्थायी अस्पताल बनाउनुपर्छ । रंगशालालाई अस्पतालमा रुपान्तरण गर्नुपर्ने हुन्छ । धेरैभन्दा धेरै भेन्टिलेटर तयार पारेर राख्नुपर्छ ।’

डा रामानन्का अनुसार भारतमा हुन सक्ने गम्भीर स्थितिका लागि नियन्त्रण गर्न काम गर्ने समय मात्र ३ हप्ता रहेको समेत बताएका छन् ।

‘यो तीन हप्ताभित्र सबै काम गरिसक्नुपर्छ । तपाईं कल्पना गर्नुस्, हामी त्यो ठाउँमा छौं, जहाँबाट सुनामी आइरहेको देखिन्छ । यति समयमै सतर्क भएनौं भने सुनामीको चपेटामा परेर समाप्त हुनेछौं ।’

उनले भने, ‘जनताहरु आत्तिनु हुँदैन । कुनै प्रकारका अफवाह नफैलाऔं । महामारीबाट जोगिनका लागि गर्नुपर्ने सबै प्रकारका सावधानी अपनाऔं ।’

०००



प्रकाशित: २०७६ चैत्र ९
March 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार