नेपाली समय: ०८:४६:५३ pm
वि.सं २०७७ आश्विन ५   सोमवार

काठमाडौंमा पनि भेटियो कोरोनाः फ्रान्सबाट आएकी महिलाले भित्र्याइनः टेकुमा उपचार हुँदै

निर्माण सञ्चार, १० चैत, काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको स्पष्ट देखिएको छ । 

फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक महिलामा कारोना संक्रमण भएको पुष्टि भएको हो । 

रुघा खोकी लागेपछि जाँच गर्दा सुरुमा नदेखिएको तर पछि उनमा कारोना संक्रमण भेटिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

मन्त्रालयमा सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको मन्त्री ढकालले जानकारी दिएका हुन् ।

१९ वर्षकी ती महिलाको यतिबेला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको पनि मन्त्रालयको भनाइ छ ।

काठमाडौंमा बिरामी भेटिएपछि यसको संक्रमण पुष्टि भएको हो । सरकारले निषेध गरेको अवधिमा पनि विदेशबाट आउनेको संख्या नरोकिनुले कोरोना संक्रमित अझै बढी हुन सक्ने आशंका पनि बढाएको छ ।

ती महिलासँगै आएका अरुको खोजी यतिबेला भइरहेको मन्त्री ढकालले बताए । उनीसँगै आएका र परिवारका सदस्यहरु पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको मन्त्री ढकालले जानकारी दिए ।

यसअघि नेपालमा चीनबाट आएका एक जना नेपालीमा कारोना संक्रमण देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ । त्यस्तै, भारत चीनसँग जोडिएका नाकहरु पनि सात दिनका लागि ठप्प पार्ने निर्णय गरेको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । 

सोमबारबाटै लागू हुने गरी लामो दूरीका सार्वजनिक यातायात पनि रोक लगाएको छ । यस अवस्थामा धैर्य धारण गर्न, सचेत भई नआतिन मन्त्री ढकालले अपिल गरेका छन् ।


०००



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार