नेपाली समय: १२:३१:५४ am
वि.सं २०७६ चैत्र १८   मंगलवार

कोरोना भाइरस संक्रमणको नयाँ लक्षण यस्तो पनिः ‘स्वाद र बासना थाहा नपाउनु पनि हुन सक्छ’, ‘लक्षण नभएका मानिसबाट पनि सर्नसक्छ’

निर्माण सञ्चार, १० चैत, एजेन्सी । संसारभरि फैलिरहेको कोरोना भाइरस (सार्स कोभ–२) रहस्यमयी छ।  वैज्ञानिकहरूले औषधि पत्ता लगाउन नसकेकाले मात्र यो भाइरस रहस्यमयी भएको होइन, यसका लक्षण पनि छुट्याउन मुस्किल छ।

कोरोनाका केही लक्षण रूघाखोकी र मर्कीसँग पनि मिल्छन् तर केही  लक्षण फरक छन्। सुख्खा खोकीसँगै  सास छोटो हुने, ज्वरो आएर स्याँस्याँ हुने कोरोना भाइरसका केही मुख्य लक्षण हुन्।

तर पछिल्ला अध्ययनहरूले खोकी नलागेका, ज्वरो नआएका र सास फेर्न गाह्रो नभएका मानिस पनि कोरोना भाइरसबाट संक्रमित हुन सक्ने देखाएका छन्।

० यसरी फेरिएको छ लक्षण !

कोरोना भाइरस लागेकी आमाले आफ्नो बच्चाको डायपर भरिँदा पनि गन्ध थाहा पाउँदिनन्। रेष्टुरेन्टका कुक जो पहिला सबै खानाको नाम भन्न सक्थे उनी करी र लसुनको स्वाद चाल पाउँदैनन्। कोही घरमा स्याम्पुको बासना पनि थाहा पाउँदैनन्।

हो, तपाईंको सुँघ्ने र स्वाद थाहा पाउने क्षमता घटेको छ वा हराएको छ भने त्यो कोरोना भाइरसको लक्षण हुन सक्छ।

गत शुक्रबार बेलायतका नाक कान घाँटीका एक डाक्टरले संसारभरिका  विभिन्न अनुसन्धानहरूलाई आधार मानेर सुँघ्ने क्षमता गुमाएकाहरूलाई कोरोनाका लक्षणहरू नभए पनि सात दिनसम्म छुट्टै बस्न लगाए।

‘हामी मानिसहरूलाई यो पनि संक्रमणको एउटा लक्षण हुन सक्छ त्यसैले सुँघ्ने र स्वाद थाहा पाउने क्षमता घटेको छ भने सेल्फ आइसोलेसनमा बस्नुस् भनेर सचेत गराउन चाहन्छौं,’  ब्रिटिस राइनोलोजिकल सोसाइटीकी अध्यक्ष क्लेएर हप्किन्सले भनिन्,‘ यसले कोरोना भाइरसको संक्रमण रोक्न र ज्यान जोगाउनमा सहयोग गर्नेछ।’

बेलायतका नाक कान घाँटीका डाक्टरहरूले आफ्ना सहकर्मीहरूलाई सुँघ्ने क्षमता गुमाएका बिरामीको उपचार गर्दा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगाउन भनेका छन् किनकी त्यहाँ बिना पिपिई बिरामी जाँचेका दुई जना नाक कान घाँटी विशेषज्ञ कोरोना भाइरसबाट संक्रमित भएका छन्।

अहिले उनीहरूको अवस्था गम्भीर छ।

यसअघि कोरोनाको उद्गम थलो चीनको वुहानमा पनि नाक, कान घाँटीमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई धेरै संक्रमण देखिएको थियो। त्यहाँ झन्डै ३ हजार ४ सय स्वास्थ्यकर्मी कोरोनाको संक्रमणमा परेका थिए।  

दक्षिण कोरियाका कोरोना संक्रमितहरूले पनि आफ्नो सुँघ्ने क्षमता कमजोर भएको बताएका थिए।

कोरियामा गरिएको एक अध्ययनले कोरोना भाइरसबाट संक्रमित २ हजार जनामध्ये ३० प्रतिशतले आफ्नो सुँघ्ने र स्वाद पाउने क्षमता हराएको बताएका थिए।

अमेरिकन एकेडेमी अफ ओटोलारिन्गोलोजीले आइतबार आफ्नो वेवसाइटमा  स्वाद थाहा पाउने र सुँघ्ने क्षमता हराउनु वा घट्नु कोभिड १९ को एक लक्षण हुने जानकारी राखेको छ।

अरू कुनै लक्षण नदेखिएका तर स्वाद र गन्ध थाहा नपाउने बिरामीलाई कोरोना भाइरसको पुष्टि भएको उसको भनाइ छ।  

कोरोनाबाट आक्रान्त बनेको इटालीका डाक्टरहरूले पनि अरू कुनै स्वास्थ्य समस्या नभएका मानिसले सुँघ्न र स्वाद थाहा पाउने छोडे भने कोरोना भाइरसको लक्षण हुने निष्कर्ष निकालेका छन्।

जर्मनीको बोन विश्वविद्यालयका भाइरोलोजिस्ट हेन्ड्रिक स्ट्रिकले आफूले कुरा गरेका १०० मध्ये दुई तिहाई बढी कोरोनाका बिरामीले सुरूमा स्वाद र बासना थाहा पाउन छोडेको बताए।

रूघाज्वरो आउँदा, एलर्जी हुँदा पनि कतिपय मानिसहरूले सुँघ्ने र स्वाद थाहा पाउने क्षमता गुमाउँछन्। चिकित्सकहरूले यस्तो बेलामा त्यस्तो हुनु सामान्य भएको बताएका छन्।

तपाईंको नाक सफा छ, चुहिएको छैन, ज्वरो पनि आएको छैन, एलर्जी पनि छैन तर स्वाद र वासना थाहा पाउन छोड्नुभयो भने आफूलाई आइसोलेसनामा राखेर कोरोनाको जाँच गर्नु बुद्धिमानी हुने चिकित्सको सल्लाह छ।

...

० कोरोना कोभिड १९ संक्रमणः लक्षण नदेखिएका मानिसबाट पनि

विभिन्न अध्ययनहरुले कोरोना भाइरस कोभिड–१९ को संक्रमणबारे नयाँ नयाँ तथ्यहरु सार्वजनिक गरेका छन् । यस तथ्यलाई विश्वभरकै सञ्चार माध्यमहरुले उच्च प्राथमिकताका साथ प्रकाशित गरिरहेका छन् ।

चिनियाँ समाचारपत्र द साउथ चाइना पोष्टले उल्लेख गरे अनुसार चिनियाँ तथ्यांकले एक तिहाइभन्दा बढी मानिसमा यो भाइरसको संक्रमणको लक्षण नै नदेखिएका मानिसबाट सरेको उल्लेख गरेको थियो । 


अहिलेसम्म यो भाइरसको विश्वभर ३ लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । विश्वभर यसको कारण मृत्यु हुनेको संख्या पनि १४ हजार कटिसकेको छ ।

समाचारअनुसार फेब्रुअरी अन्तिमसम्म चीनमा ४३ हजारमा कोभिड–१९ को संक्रमण पाइएको थियो तर लक्षण देखिएको थिएन । त्यसैले सबैलाई क्वारेन्टाइनमा राखेर निगरानी गरियो । यो संख्या आधिकारिक संक्रमितमा पनि जोडिएन ।

सामान्यतया यो भाइरसको बिरामीमा पाँच दिनसम्ममा संक्रमण देखिन्छ । तर कुनैकुनै अवस्थामा तीन सातासम्म लक्षण नदेखिन सक्छ ।

र, सबैभन्दा जटिल कुरा फरकफरक देशको तथ्यांक फरकफरक किसिमले मापन गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भने कोभिड–१९ को परीक्षणमा संक्रमण देखिएका सबैलाई पुष्टि भएका संक्रमितको रुपमा लिएको छ । 

दक्षिण कोरियाले पनि यही मापदण्डलाई पछ्याएको छ । 

तर चीन सरकारले भने फेब्रुअरी ७ मा वर्गीकरणलाई परिवर्तन गर्‍यो । उसले कोभिड–१९ को लक्षण देखिएका र परीक्षणमा पनि पोजेटिभ पाएकाहरुलाई मात्र संक्रमित मान्ने निर्णय गर्‍यो ।

अमेरिका, बेलायत र इटालीले भने सामान्य रुपमा स्वास्थ्यकर्मीबाहेक अरु लक्षण नदेखिएका मानिसमा भाइरसको परीक्षण नै गर्दैनन् । 

चीन र दक्षिण कोरियाले भने बिरामीको नजिकको सम्पर्कमा आएका लक्षण नदेखिएका मानिसमा पनि परीक्षण गरिरहेका छन् । दुबै मुलुकमा भाइरस नियन्त्रणमा आउनुको एक कारण यो पनि हो ।

हङकङले पनि विमानस्थलमा आउने सबै मानिसलाई कोरोना संक्रमण भए नभएको परीक्षण गरिरहेको छ ।

यूरोपेली मुलुकहरुले भने लक्षण देखिएका मानिसमा मात्र यो भाइरसको परीक्षण गरिरहेका छन्, जसको कारण लगातार यो भाइरसको संक्रमितको संख्या बढिरहेको छ ।

फेब्रुअरीमा सार्वजनिक गरिएको एक अध्ययनले जापानमा पनि ३० दशमलव ८ प्रतिशत संक्रमितलाई कुनै लक्षण नदेखिएका मानिसबाट कोभिड–१९ सरेको देखाएको थियो । यो तथ्यांक चीन सरकारको तथ्यांकसँग मेल खान्छ ।

दक्षिण कोरियाले पनि तीन लाखभन्दा धेरै मानिसमा यो भाइरसको परीक्षण गरिसकेको छ । र, २० प्रतिशतभन्दा बढी कुनै लक्षण नदेखिई संक्रमित भएको पाइएको थियो र उनीहरु उपचारपछि निको भएका घर फर्किएका छन् । दक्षिण कोरियाको तथ्यांक पनि चीनको तथ्यांकसँग मिल्दोजुल्दो नै छ ।

जापानको योकोहामामा एक पानी जहाजमा ७ सय १२ जना मानिसमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो, जसमध्ये ३ सय ३४ जनामा कुनै लक्षण देखिएको थिएन ।

युरोपेली युनियन ९ईयू० को प्रतिवेदनलाई आधार मान्ने हो भने पनि इटालीमा ४४ प्रतिशत संक्रमितमा भाइरसको कुनै लक्षण देखिएको छैन । 

तर अझै पनि मुलुकमा धेरै क्षेत्रमा लक्षण नदेखिएका मानिसहरुलाई परीक्षण गरिएको छैन । नेपाल जस्ता मुलुकहरु अहिले पनि ज्वरोको तापक्रम मात्र नापेर कोरोना भए नभएको भन्दै छिमेकी देशबाट आएका मानिसहरुलाई सीमानाकामा कडाइ गर्न भुलिरहेका छन् ।

यसको परिणाम भयावह हुन सक्छ ।

(यो रिपोर्ट विभिन्न सञ्चार माध्यमहरुको सहयोगमा तयार पारिएको हो)

०००

 



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार