नेपाली समय: ११:२४:३८ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

प्राधिकरणले गर्‍यो दाता सहितको भिडियो कन्फरेन्सः ‘पुनर्निर्माणमा अधिकतम राम्रो गरेकोमा बधाई सन्देश’

निर्माण सञ्चार, १२ वैशाख ०७७, काठमाडौं

वैशाख १२ गते, आजको ठिक पाँच वर्ष अघि गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पको पाँचौं स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘वेब अन्तक्र्रिया’ सम्पन्न गरेको छ ।

  • भूकम्पका पाँचौं स्मृति वर्ष: पुनर्निर्माणका सिकाइ संस्थागत गर्न सबैको जोड 
आजैका दिनमा रानीपोखरीको उद्घाटन समेत गर्ने गरी विभिन्न पूर्व कार्यक्रम पनि कोरोना महामारीका कारण सम्पन्न गर्न नसकेको अवस्थामा पनि प्राधिकरणले दाता सहितको ‘भर्चुअल विश्व सम्मेलन’ गरेको हो ।

जसमा अमेरिकी दातृ निकायदेखि जाइका तथा स्थानीय सरकारका प्रतिनिधिदेखि सम्पदाविद् र पत्रकारहरुलेसम्म भाग लिएका थिए । 

सहभागी सबैले प्राधिकरणले हासिल गरेको उपलब्धिको खुलेर प्रशंसा गरेका थिए । गोरखा भूकम्पको पाँच वर्षे अवधिभित्र ९० प्रतिशत बढी पुनर्निर्माण सकेको भन्दै अन्तर्राष्ट्रिय दातृ निकायका अधिकारीहरुले प्राधिकरण प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई बधाई पनि दिएका थिए । 

आगामी दिनमा नेपालको विपद व्यवस्थापन तथा पुनर्निर्माणका लागि आफूहरुको सहयोग निरन्तर रहने बताएका अन्तर्राष्ट्रिय दातृ निकायका विभिन्न प्रतिनिधिहरुले कोरोना भाइरस महामारीको अन्त्य पछि पनि आफूहरुको सहयोग जारी रहने बताएका हुन् । 

भर्चुअल वैठकमा खुलेरै प्रस्तुत भएका सहभागी तथा विशेषज्ञहरुले नेपालको पुनर्निमाणको बाँकी काम सक्न कोरोना अन्त्यपछि पनि लगभग ९ देखि १२ महिनाको समय थप गर्नु पर्ने सुझाव दिएका छन् ।

सिइओ ज्ञवालीको अध्यक्षतामा र उनकै सक्रिय सम्बोधनमा सञ्चालित उक्त भिडियो कन्फरेन्समा प्राधिकरणले पुनर्निर्माणका बाँकी कामलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने र पुनर्निर्माणका सिकाइलाई कसरी संस्थागत गर्नेबारे पनि विषय केन्द्रित थियो ।

नेपालको पुनर्निर्माणमा संलग्न विभिन्न दातृ निकायका प्रतिनिधि एवं पुनर्निर्माण विज्ञसहित ४५ जना सहभागी उक्त छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा प्राप्त अनुभवहरुलाई संस्थागत गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं तीनै तहका सरकारहरुसँग निकट भएर काम गरिरहेको जानकारी समेत दिएका थिए ।

सिइओ ज्ञवालीले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका कारण पुनर्निर्माणका कामहरु प्रभावित भएको बताएका थिए । 

दातृ निकायका अधिकारी तथा पुनर्निर्माण विज्ञहरुले दिएको सुझाव अनुसार पनि सिइओ ज्ञवालीले भने ऐनले दिएको सुविधाअनुसार समय थप गर्ने वा नगर्नेबारे छलफल भइरहेको पनि जनाकारी गराएका थिए ।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले सहभागीलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेका थिए भने पुनर्निर्माणको कार्यमा सघाउ पुर्याउने सरकारी निकाय, दातृ निकाय, विकास साझेदार, स्थानीय तह तथा लाभग्राही सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले नेपालको पुनर्निर्माण कार्यक्रमको सार, बाँकी मुख्य विषयहरु एवं आगामी बाटोबारे मुख्य सामग्री प्रस्तुत गरेका थिए भने उनको प्रस्तुतिमाथि ६ जना प्यानलिस्टले टिप्पणी गरेका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणले बनाएका नियमावली, निर्देशिक अन्य अभ्यास आगामी दिनमा अन्य विपद्हरुको व्यवस्थापनमा उपयोगी हुने धारणा राख्दै सिकाइहरु संस्थागत गर्न पुनर्निर्माण प्राधिकरणसँग जोडिएर काम गरिरहेको जनाकारी गराएका थिए ।

अन्तक्रियामा विश्व बैंकका बरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अक्बर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का सहायक आवासीय प्रतिनिधि विजय सिंह, अमेरिकी विकास सहयोग नियोग युसएड नेपालका प्रतिनिधि एन्ड्रयु गोल्डा, भूकम्प प्रविधि राष्ट्रिय समाजका रणनीति सल्लाहकार आमोद मणि दिक्षित र पत्रकार कनकमणि दिक्षितले टिप्पणी गरेका थिए ।

उनीहरुले विविध प्रतिकुलताका बाबजुद पुनर्निर्माणमा प्राप्त उपलब्धि उल्लेखनीय रहेको धारणा राख्दै प्राप्त सिकाइहरुको संस्थागत स्मरण, अभिलेखीकरण तथा हस्तान्तरणमा ध्यान दिन सुझाव दिएका छन् । 

पुननिर्माणको समग्र प्रक्रियाको मूल परिणाम उत्थानशील समुदाय निर्माण भएकोले त्यो अनुभव ७७ वटै जिल्लामा लैजानुपर्नेमा सहभागीहरुको जोड थियो ।

प्राधिकरणले यस अघि नै यो पाँच बर्सभित्र पुनर्निर्माणको क्रममा प्राधिकरणबाट मात्रै ३ खर्ब ८१ अर्ब रुपियाँ खर्च भएको बताएको थियो । 

उक्त खर्च सरकार तथा दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपियाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपियाँ खर्च भएको उल्लेख गरेको थियो ।

यस ५ वर्षको अवधिमा भूकम्पले क्षतिग्रस्त निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था र सडकहरुको पुनर्निर्माण सम्पन्न भएपनि अझै केही हिस्सा काम .सकिन बाँकी रहेको प्राधिकरणले बताएको छ ।

सिइओ ज्ञवालीले कोरोनाबाट छुटकारा पाउने बित्तिकै पुनर्निमाणका सबै काम निश्चित अवधिभित्रै सक्ने गरी थप बजेट तथा समय निर्धारण गर्न भने बाँकी रहेको र सरकारसँग सल्लाहमा केही दिनमै पनि निर्धारण हुन सक्ने बताएका थिए ।

 

०००

भूकम्पका ५ वर्षः कोरोना प्रभावकै बीचमा पनि पुनर्निर्माणमा ८८ प्रतिशत प्रगतिः यस्तो छ आँकडा

 



प्रकाशित: २०७७ बैशाख १२
April 24th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार