नेपाली समय: ०८:४९:३९ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

लकडाउनमा पनि तिला जलविद्युत् निर्माण तीव्र गतिमाः यसरी बन्दैछन् जुम्लामा सडक

निर्माण सञ्चार, २२ वैशाख, जुम्ला । 
देश डेढ महिनादेखि लकडाउनमा छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनले देशभर उद्योग कलकारखाना, होटल व्यवसाय, पर्यटन क्षेत्र लगायत सम्पूर्ण विकास निर्माणका योजना ठप्प छन् । 

तर जुम्लाको तिला गाउँपालिका ७ स्थित एक मेगावाट क्षमताको तिला जलविद्युत् आयोजनाको भने धमाधम निर्माण भइरहेको छ । निर्माण कार्य रोकिएको छैन् । 

  • ग्रीनजोनको अवधारणा सहित ६ महिना अघि कृषि अनुसन्धान कार्यालयसंगै जोेडिएको सडक नगरपालिकाले २ लेनको बनाएको थियो । करिब २५ लाख ५० हजारको लागतमा निर्माण गरिएको सडकले भत्काएर अहिले १० मिटर चौडाई सडक निर्माण हुँदैछ
सरकारको निर्णयलाई पालाना गरी सामाजिक दुरी कायम गर्दै जलविद्युत निर्माण करिब ७० प्रतिशत बढी काम सकिएको छ । पावर निर्माण, नहर निर्माण, नहर डिपिसी, लगायतका काम सकिएको छ । 

निर्माण कार्यमा संलग्न निर्माण व्यवसायी साहसी राजकुमार शाहीले काम नरोकिएको जनाए ।

उनका अनुसार लकडाउनकै बीचमा निर्माण कार्य रोकिएको छैन । तर, बाहिरबाट आउने सामान नाकामै रोकिएकाले समस्या सिर्जना हुन थालेको छ । 

उनले भने, ‘लकडाउन खुकुलो भई सामान पुगेको खण्डमा चालु आर्थिक वर्षको असार मसान्तमै जलविद्युत निर्माणको काम सम्पन्न हुने छ ।’

निर्धारित समयमा सम्झौता अनुसारको हाइड्रोपावर निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिने उनको दाबी छ । उक्त जलविद्युतले

एक नगरपालिका सहित सात गाउँपालिका १९ हजार घरधुरीलाई उज्यालो दिने सर्वेक्षण छ । भौगोलिक विकटतालाई छिचोल्दै लकडाउनका बीच पनि आयोजना निर्माणले गती लिएको छ । 

लागत साढे १२ करोड 

एक मेगावाट क्षामताका तिला जलविद्युतलाई राष्ट्यि प्रशारण लाइनमा जोडिने छ । जिल्लाकै गौरबको आयोजनाका भएकाले लकडाउनमा पनि निर्माण कार्यलाई निरन्तरता दिइएको हो । 

तिला गाउँपालिकाको समपुरक कोषमा संघीय अर्थ मन्त्रालयको सहयोग अनुदानमा २ करोड ८९ लाख र जुम्लाका संघीय सांसद्र गजेन्द्र बहादुर महतको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष कार्यक्रमको १० करोड गरी जम्मा साढे १२ करोडको लागतमा तिला जल जलविद्युत आयोजना निर्माण भइरहेको तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए । 

जुम्लाको प्रमुख समस्या भनेकै विद्युत हो । 

विद्युत अभावकै कारण उद्योग कलकारखाना संचालन नहुँदा कृषि उत्पादनले बजार नपाउने बेरोजगारी बढ्ने समस्या छ । संघिय सांसद गजेन्द्र बहादु महतले भने, ‘जुम्लाबासीको आवश्यकता मध्यनजर गर्दै जलविद्युत आयोजना निर्माण थालिएको हो ।’ 

उक्त आयोजना निर्माणले सयौ स्थानीयले रोजगारी पाएका छन् । 

स्थानीय टोप बहादुर रावतले भने, जलविद्युत निर्माणको सिप सिक्नुका साथै, रोजगारी पाएकोमा खुसी व्यक्त गरे । काम खोज्न कालापहाड जानेहरु यस वर्ष उक्त योजना निर्माणबाट रोजगारी पाउँदा खुसी भएका छन् । 

खलंगामा लोडसेडिङ कायमै

जुम्ला सदरमुकाम खलंगालाई उज्यालो बनाउने योजना रामकहानी बनेको छ । स्रोत हुँदा पनि प्रभावकारी काम गर्ने नेतृत्व नभएकै कारण खलंगा लोडसेडिङमुक्त हुन नसकेको नागरिकको गुनासो छ ।

नयाँ मेसिन जडान गर्दा, डिजेल प्लान्ट ल्याउँदा पनि खलंगामा एक दिन बत्ति आउने एकदिन नआउने समस्या टरेको छैन् । 

गएको  असोज महिनामा जुम्ला सदरमुकाम खलंगा बजार एक महिना अन्धकार हुँदा संघीय सांसद गजेन्द्रबहादुर महतले  सांसद विकास कोष २४ लाख ६० हजारको लगानीमा दुई सय केभी (१६० किलोवाट) डिजेल प्लान्ट मेसिन ल्याए । तर खर्चिलो भएपछिबाट दिगो हुन सकेन् । फेरी नयाँ मेसिन जडान पनि भयो । 

लाखौ बजेट मर्मतका नाममा खर्च समेत भईसक्यो तर खलंगामा नियमित बत्ती भने अझै आउन नसकेको नगरबासी आत्रोसित छन् ।  
करिब  २२ हजार उपभोक्ता अहिले महिनामा १५ दिन लोडसेडिङ खेपिरहेका छन् ।

पातारासीमा निर्माण भइरहेको चुकेनी जलविद्युत, तिलामा भइरहेका तिला जलविद्युत आयोजनाले जुम्लाको अन्धकारलाई हटाउने विश्वास गरिएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले  बताए ।  

नगरको २ लेन सडक भत्काएर नयाँ निर्माण  

लकडाउनका बीच पनि जुम्लामा विकास निर्माण दुर्त गतीमा बढिरहेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देश डेढ महिना यता लकडाउनमा छ । तर जुम्ला सदरमुकामको सडक भने धमाधम निर्माण भइररहेको छ । 

चन्दननाथ नगरपालिका जुम्लाले गएको पुसमा निर्माण गरेको सडक ६ महिना नपुग्दै सडक डिभिजन कार्यालयले भत्काएर पुनर्निर्माण गर्न थालेको हो । 

ग्रीनजोनको अवधारणा सहित ६ महिना अघि कृषि अनुसन्धान कार्यालयसंगै जोेडिएको सडक नगरपालिकाले २ लेनको बनाएको थियो । 
करिब २५ लाख ५० हजारको लागतमा निर्माण गरिएको सडकले भत्काएर अहिले १० मिटर चौडाई सडक निर्माण हुँदैछ ।

सडक डिभिजन कार्यालय जुम्लाले यातायात व्यवस्था कार्यालयदेखि जुगाड खोलासम्मको सडकलाई स्तरवृद्धि गर्न लागेको हुँदा नगरपालिकाले निर्माण गरेको सडक भत्काउनु परेको चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकीय अधिकृत पुरुषत्तम देवकोटाले बताए । 

नगरपालिकाले ५ सय मिटर सडकका लागि खर्च गरेको २५ लाख बालुवामा पानी खन्याए जस्तै भएको छ । दीर्घकालीन योजना बिनै निर्माण गरिएको सडकले स्थानीय सरकारको बजेट मात्रै दोहन भएको स्थानीय नागरिकको विरोध छ । 

पहिलाको सडक भत्काउदै सडक डिभिजन कार्यालय करिब एक किलोमिटर सडकलाई १० मिटर चौडाई बनाउने, कालोपत्रे गर्ने काम अघि बढाएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले  बताए । 

उनका अनुसार १ किलोमिटर सडक १० मिटर चौडाई सहित कालोपत्रे गर्न  भ्याट र कन्टिजेन्सी सहित ४ करोड २२ लाख रुपैयामा टेण्डर भइ काम सुरु गरिएको छ । 

त्यस्तै खलंगामा खानेपानीको समस्या भएपछि भत्काइएको जुगाड खोला पुल पनि पुनर्निर्माण चलिरहेको छ । मुख्यबजारमै रहेको उक्त पुल भत्किदा आवतजावमा समेत समस्या भएको छ ।

साँघुरो जुगाड खोलापुललाई अहिले पराकिलो बनाइँदै छ ।  

देशमा जारी लकडाउनलाई उल्लघंन भन्दा पनि सामाजिक दुरी कायम गरी, सुरक्षा सामाग्री प्रयोग गरेर विकास निर्माणलाई दुर्तगतीमा अघि बढाइएको छ ।

लकडाउनका बीच भइरहेको विकास निर्माणले पछि निकै सहज गर्ने सरोकारवालाको भनाइ छ ।

 

०००

 

 



प्रकाशित: २०७७ बैशाख २२
May 4th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार