नेपाली समय: ०८:४६:४२ pm
वि.सं २०७७ साउन २४   शनिवार

‘भारतलाई भूमि फिर्ता गर्नेबारे सोध्ने छु– सिंहमेव जयते कि सत्यमेव जयते !’

निर्माण सञ्चार, ६ जेठ,  काठमाडौं । भारतले मिचेको भूभाग फिर्ता गराउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसित दृढता पूर्वक ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भनी प्रश्न गर्ने भनेका छन् ।

सरकारले हिजै मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा स्वीकृत गरेपछि नेपालभित्र त्यसले लोकप्रियता पाइरहेको छ र प्रधानमन्त्री ओलीको प्रशंसा पनि त्यति नै भइरहेको छ । 

संसदमा अर्काे कोणबाट प्रधानमन्त्री ओलीले नक्सा मात्र बनाएर बस्ने हो वा अब भूमि फिर्ताका लागि पनि पहल गर्ने हो भन्नेबारे प्रश्न उठाएका थिए ।

नीति तथा कार्यक्रमका सवालमा जवाफ दिदै प्रधानमन्त्री ओलीले नेपालको भूभाग फिर्ता लिने सम्बन्धमा सरकार दृढतापूर्वक उभिएको र भारतसँग पनि उच्च कूटनीतिक पहल गरेर नेपालको जमिन फिर्ता लिई छाड्ने दृढता व्यक्त गरेका हुन् ।

यही क्रममा उनले भारतको राष्ट्रिय चिह्नका रुपमा सम्राट अशोकको सिंह सहित भएको विजय प्रतीक रहेको र त्यो प्रतीक मुनि ‘सत्यमेव जयते’ भनी लेखिएको सन्दर्भ उठाएका थिए ।

यही चित्रलाई हेरेर उनले आफूले नेपालको भूभाग फिर्ता दिने सवालमा सत्यमेव जयते हुने हो वा सिंहमेवा जयते हुने हो आफूले सोध्ने बताएका थिए । 

नेपालको भूभाग वर्तमान मोदी सरकारले वा नेपालका हकमा पनि वर्तमान सरकारले दिएको नभई इतिहासका त्रुटि रहेको प्रधानमन्त्रीको भनाइ छ । 

उनले सोही त्रुटि सच्याउन मित्र राष्ट्र भारत पनि तयार हुन आग्रह गरेका छन् । 

नेपाली जमिन लिपुलेक हुँदै भारतले मानसरोवर जाने बाटो खोलेको विषयमा भारतीय सेना प्रमुखले नेपाललाई कसैले उक्साएर नेपालले आफ्नो भूमि दाबी गरिरहेको टिप्पणी गरेका थिए । 

सोही तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकले आफ्नो सार्वभौम सत्ता, सार्वभौम जमिनबारे दाबी गर्दा अन्य कुनै पनि निकायले होच्याएर नबोल्न समेत प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन् ।

उनले भने, ‘नेपाल आजसम्म पनि कसैको दासत्व नस्वीकार गरेको एउटा अखण्ड सार्वभौम मुलुक हो भन्ने सबैले बुझ्नु पर्ने हो । आफ्नो मुलुकको हित रक्षा गर्न नेपालले कसैलाई सोधिरहनु वा कसैको उक्साहटमा लाग्नु आवश्यक नै छैन ।’ 

प्रधानमन्त्रीले नेपाली भूभाग फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गरेका छन् । सो सम्बन्धमा चिनियाँ पक्षसित पनि औपचारिक फोना वार्ता नै भएको प्रधानमन्त्री ओलीले दाबी प्रस्तुत गरेका छन् । 

उनले चिनियाँ पक्षसँग भएको छलफलबारे संसदमा जानकारी गराउँदै भने, ‘चिनियाँ पक्षको भनाइ मानसरोवसम्म दुवै देशको एक्सेसको कुरा भएको हो । तर नेपालको जमिन मिचेर सडक बनाउनेबारे कुरा भएको होइन ।’

प्रधानमम्त्री ओलीले चीनले पनि नेपाली भूभाग मिचिएबारे भारतीय पक्षसँग कुरा राखिसकेको आफूले जानकारी पाएको पनि सदनमा जानकारी गराएका छन् ।

तर, प्रधानमन्त्रीले भूमि फिर्ता कागज जस्तै सरल नभएको भन्दै संसदमा सोधिएको प्रश्नतर्फ व्यङ्ग्य कसेका पनि छन् ।

उनले भने, ‘यही नक्सा पनि त बनाउनु पथ्र्याे । त्यही काम पनि त कुराले हुने थियो र ? र, पछिल्लो समय जे लक्षण देखिएका छन् । भूमि फिर्ता गर्न पनि त्यति सहज छैन । त्यसैले मेरो आग्रह छ । राष्ट्रिताका सवालमा सबै राजनीतिक दल, सिंगो मुलुक एक ढिक्का बनेर लागौं ।’

तर, प्रधानमन्त्री ओलीले नेपाली भूभाग फिर्ता हुन्छ र गरेरै छाड्ने दोहोराएका छन् । त्यसका लागि सरकारले उच्च कूटनीति पहल कदमी र दुई पक्षीय वार्ताबाट समाधान गरिने पनि दोहोराए ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने उनको भनाइ छ । 

‘यसको निष्कर्ष निकालिन्छ । हाम्रो भूभाग फिर्ता लिइछाड्छौं,’ उनले भने ।

उनले थपे ‘नेपाल विश्वास गर्छ, सत्यमेव जयते माथि । हामी हाम्रो भूमि फिर्ता गर्न सक्छौं किनभने सत्यमेव जयते हुन्छ हुन्छ ।’

नेपालको भूभाग फिर्ता लिने कुरामा सरकारलाई देखावटी राष्ट्रियता वा बाहनाबाजी गरेको भन्ने अनावश्यक आरोप लगाएको पनि सुनिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसको पनि खण्डन गरेका छन् । 

उनले नेपालको भूभाग सहितको नयाँ नक्सा केही दिनभित्रै प्रकाशित हुने भन्दै राष्ट्रको निशाना छाप सच्याउन पनि संविधानमा रहेको अनुसूची संशोधन आवश्यक रहेको बताए । 

त्यसका लागि सरकारले छिटै नै संविधान संशोधनको प्रस्ताव ल्याउने दृढता पनि व्यक्त गरेका छन् ।

संसदमा प्रधानमन्त्रीले पटक पटक नेपालले आफ्नो गुमेको भूभाग फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गरिरहँदा अधिकांश सांसदहरुले ताली बजाएका थिए ।

संसद सम्बोधनको भिडियो

https://www.youtube.com/watch?time_continue=1&v=jR33fOp_K2Y&feature=emb_logo
०००

पढौं यी पनि
 

‘राष्ट्रियता ठूलो वा सानो भन्ने हुँदैन, राष्ट्रहरुले बराबर स्वाधीनताको उपयोग गर्न पाउनु पर्छ’ प्रधानमन्त्री ओली (LIVE)

 

सीमा सुरक्षामा ऐतिहासिक कदमः कालापानी नजिक छाङरुङमा बस्यो आजदेखि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट

नीति तथा कार्यक्रम बहुमतले पारित

 



प्रकाशित: २०७७ जेठ ६
May 19th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार