नेपाली समय: ०९:०८:०९ बिहान
वि.सं २०७७ आषाढ २८   आइतबार

काठमाडौं आउन अब आरडिटी परीक्षण चाहिनेः उपत्यकाका सबै नाका सिल

नर्मिाण सञ्चार, ८ जेठ, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर तिनैवटा जिल्लाका नाका सिल भएका छन् ।

आवतजावतका कारण उपत्यकाभित्र कोरोना संक्रमणको जोखिम उच्च हुन थालेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको हो।

गृहमन्त्रालयले निर्णय सहित सबै नाका बन्द गर्न स्थानीय सरकारलाई छ बुँदे परिपत्र गरेको छ । गृह मन्त्रालयले बुधबार उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउन निर्देशन गरेको छ ।

के भनिएको छ ?

गृहको परिपत्रको पहिलो बुँदामा भनिएको छ, ‘कोरोनाको जोखिम देखिँदा अत्यावश्यक काममा बाहेक उपत्यका प्रवेश निषेध गर्ने। आगागमनको स्रोतमै रोक्ने ।’

गृहको निर्णय अनुसार उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरूपमा सिल गर्ने भन्ने रहेको छ ।

परिपत्रको दोस्रो बुँदामा भनिएको छ, ‘सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्ण रूपमा सिल गर्ने। लुकीछिपी हुने प्रवेशहरू पूर्ण रूपमा रोक लगाउने ।’

गृहको परिपत्रको अर्काे बुँदामा उपत्यकाभित्र प्रवेश गर्नु परेमा आफ्नो आरडिटी परीक्षण अनिवार्य पनि बनाएको छ । यदि आरडिटी परीक्षण पत्र चाहिएमा सम्बन्धित व्यक्तिले आफ्नै खर्चमा टेस्ट गरी रिपोर्ट देखाउनु पर्नेछ।

‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेशपूर्व नै आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडिटी परीक्षण गरी सोको रिपोर्टसाथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने,’ गृहको परिपत्रमा उल्लेख छ।

त्यस्तै गृहमन्त्रालयले लुकीछिपी प्रवेश गर्ने जोकोहीलाई पनि खोजी खोजी कारबाही गर्न स्थानीय तहलाई भनेको छ ।

गृहमन्त्रालयले यो कदम चाल्नुका पछाडि उपत्यकाभित्र लुकीछिपी प्रवेश गर्नेहरुको संख्या बढ्नु रहेको छ । उपत्याका भित्र देखिएका सबै कोरोना संक्रमितहरु यस्तै लुकीछिपी छिरेकाहरुमा देखिएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले गत जेठ १ गते उपत्याका भित्रका सबै मेयरहरुको संयुक्त वैठक राखेका थिए । सो बैठकमा सहभागी उपत्यकाभित्रका सबै मेयरहरूले नाका पूर्ण रुपमै सिल गर्न आग्रह गरेका थिए ।


०००



प्रकाशित: २०७७ जेठ ८
May 21st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार