नेपाली समय: १०:१५:३१ राती
वि.सं २०७७ आश्विन ५   सोमवार

महानायक सहित जोडिने कि राष्ट्रियताको अभियानमाः ‘लिम्पियाधुरा र लिपुलेक नेपालकै हो, भारतले तथ्‍य स्वीकार्नु पर्छ’ (भिडियो सहित)

निर्माण सञ्चार, ९ जेठ । काठमाडौं । नेपाली सिनेमा क्षेत्रका ‘महानायक’ को सम्मानले समेत चिनिने अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको स्पष्ट शब्दमा बोलेका छन् । र, उनले नेपालको भूभाग भएको कुरा छिमेकी भारतले स्वीकार गर्नु पर्ने पनि बताएका छन्। 

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नक्सा जारी गरेपछि नायिका मनीषा कोइरालाले समेत यस अभियानको पक्षमा आफूलाई उभ्याएपछि उनको चर्चा यतिबेला नेपाली मनभरि उचालिएको छ । त्यस्तै अभिनेता हमाल पनि दुई दिनदेखि चर्चाको शिखरमा छन् । 

सरिता गिरी, बाबुराम भट्टराई लगायतका नेताले घुमाउरो भाषामा भारतसँग उसले मिचेको भूमिबारे नेपालले दाबी गर्नु नपर्ने भन्दै हिँडिरहेका बेला नेपालमा कलाकारहरुले यसरी पहिलो पल्ट नेपालको भूमि नेपालले नै पाउनु पर्ने बोलिरहेका छन् ।

राष्ट्रियताको मानेमा सबै राजनीतिक दलहरु एकढिक्का भएर उभिएको सन्देश गएको पनि छ ।

महानायक हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच न पुर्‍याउन आग्रह गरेका हुन्। 

उनले भनेका छन्, ‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पूरा प्रमाण छ। हामी नेपाली विनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ ।’

उनले अझै अघि भन्छन्, ‘भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’  

अभिनेता हमालले भूमि मिचिएको मुद्दा हरेक नेपालीको मुद्दा भएको भन्दै आफूले सारा नेपालीहरु एक भएर मुलुकप्रति लाग्नु पर्ने पनि बताएका छन् ।

उनले यतिबेला नेपाली युवाहरू शिक्षित, सचेत भएको र नेपालीले न्याय अन्याय छुट्याउन सक्ने भएकाले नेपालको भूमि मिचिएप्रति सिंगो नेपाल एक रहेको विश्वास पनि व्यक्त गरेका छन्।

‘पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन्,’ उनी अघि भन्छन्, ‘नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ।’ 

यद्यपि, अभिनेता हमालले नेपाली राजनीतिको समस्या पनि उल्लेख गरेका छन् । तर, जे भएपनि यतिबेला नेपालीहरुको राष्ट्रियताप्रतिको संवेदना उच्च छ र सम्मान गर्नु पर्ने उनको भनाइ छ । 

उनले भारतले सत्य र तथ्यलाई नमानेको समेत भनेका छन्। 


 

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2632851130263061/  

 

०००



प्रकाशित: २०७७ जेठ ९
May 22nd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार