नेपाली समय: ०३:४८:४८ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

पहिरोमा परी कालिकोटका ९ जनाको मृत्यु

निर्माण सञ्चार, १४ साउन । कर्णाली । कालिकोटको नरहरीनाथ गाउँपालिकाको ७ बागामा पहिरो जाँदा एकै परिवारका ७ जना सहित नौ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण मंगलबार राती आएको पहिरोका कारण बाँगाका ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो आएको थियो ।  

पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ भने एकजनाको उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा एकै परिवारका सात जनामा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको कालिकोट जिल्लका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए । 
उनकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीय विमला बुढाको कुमालको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो ।  बेपत्ताहरुको घरभित्र पुरिएकाको अवस्थामा शव फेला परेको छ । यस्तै नरहरीनाथ

गाउँपालिका ४ गोठीमा पहिरो जाँदा बले बुढाको घर पुरिएको छ । भने, पहिरोले घर पुरिँदा बले बुढा र उनकी श्रीमती मना बुढाको घटनास्थलमै ज्यान गएको छ । 

मंगलबार बिहान रास्कोट नगरपालिका १ को गंगेखहरे खोलामा आएको बाढीले जय बहादुर शाहिको घर बगाएको छ । जय बहादुर शाहि लगायत ६ जना अहिलेसम्म बेपत्ता छन्  उनीहरुको खोजी कार्य जारी छ । पहिरोमै परेर रास्कोटमा एकजनाको मृत्यु भइसकेको छ ।

यस्तै सान्नीत्रिवेणी गाउँपालिका २ मा पहिरो खस्दा एक घर पुरिएको छ । भने रासकोटकै तुसारखोलामा आएको बाढीले टेक बहादुर टमटाको घर भत्काएको छ । 
बाँकी ८ घर जोखिममा परेका छन् । मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

यस्तै सान्नीत्रिवेणी गाउँपालिका ७ क्यूरीको बस्ती पनि पहिरोको जोखिममा परेको छ । स्थानीय मनराज सिम्खाडाका अनुसार गाउँको दुवैतिर पहिरो गएको छ । पहिरोका कारण कर्णाली राजमार्ग र कर्णाली कारिडोर अवरुद्ध भएको छ ।

जोखिम क्षेत्रका नागरिकको उद्दार तथा व्यवस्थापनका लागि स्थानीय सरकारले आबश्यक पहल गरिररहेको कालिकोटका संचारकर्मी हस्त चौलागाइले जानकारी दिएका छन् । 

 

०००

 


 



प्रकाशित: २०७७ साउन १४
July 29th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार