नेपाली समय: ०२:५३:१५ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

लकडाउनका कारण देशैभरीका बन्द होटल व्यवसाय, आजदेखि सञ्चालनमा आउँदै

निर्माण सञ्चार, १५ साउन,काठमाडौँ ।कोरोना संक्रमण र लकडाउनका कारण बन्द भएका होटल रेस्टुरेन्ट तथा ट्राभल, ट्रेकिङलगायतका थप केही व्यवसाय बिहीबारबाट  सञ्चालनमा आउँदै छन् । 

साउन ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि होटल रेस्टुरेन्ट तथा ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका पर्यटकीय व्यवसाय खुल्ने भएका हुन् ।होटल सञ्चालनको लागि सरकारले बनाएको निर्देशिकाको पूर्ण पालना हुनुपर्नेछ ।

सरकारले साउन १५ देखि तोकेका मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति दिने निर्णय गरेअनुसार आजदेखि खुल्ने भएका हुन्।

लकडाउन तथा बन्द अवधिको सेवा सुविधासम्बन्धी केही समयअघिमात्र व्यवसायी र मजदुरका संगठनबीच सम्झौता भएको थियो।


सरकारले आजदेखि खोल्न अनुमति दिए पनि पूरा क्षमतामा भने होटल खुल्ने छैनन्। व्यवसायीहरूका अनुसार ग्राहकको मागअनुसारमात्र खुल्ने छन् भने होटल तथा रेस्टुरेन्टमा सामूहिक भोज तथा समारोह भने गर्न पाइने छैन ।

रेष्टुरेन्ट भने यसअघि नै खुलिसकेका छन्। सरकारले यसअघि सीमित क्षमतामा मात्र खोल्नका लागि अनुमति दिए पनि रेष्टुरेन्टहरूमा त्यो पालना भएको थिएन्।

तारे होटलहरूले भने यसअघि नै सन् २०२० को डिसेम्बरसम्म व्यापार आउने सम्भावना नभएकाले बन्दको घोषणा गरिसकेका छन्। यद्यपी बीचमै सीमित क्षमतामा होटल खोल्न सकिने सञ्चालकहरूले बताएका छन्। 

 


०००



प्रकाशित: २०७७ साउन १५
July 30th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार