नेपाली समय: ०३:५३:२५ बिहान
वि.सं २०७७ साउन २३   शुक्रवार

आंशिक प्राध्यापकद्वारा जुम्ला क्याम्पसमा तालाबन्दी

निर्माण सञचार, १६ साउन,काठमाडौँ । जुम्ला बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले आफुहरुलाई करार गर्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका छन् । प्राध्यापकहरुको संगठनले जुम्ला बहुमुखी क्याम्पसमा ताला लगाएको हो । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा आंशिक प्राध्यापकहरु आन्दोलित भएसँगै जुम्लाका प्राध्यापकहरु पनि आन्दोलित भएका हुन् ।  

साविकको कर्णालीको एक मात्र आंगिक क्याम्पस जुम्लामा आंशिक प्राध्यापकहरुले मात्र धानिरहेका छन् । तत्काल आंशिक प्राध्यापकहरुलाई करार बनाउनु पर्ने माग सहित क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिएको क्याम्पसका आंशिक प्राध्यापक संघ एकाइ समितिका अध्यक्ष नरबहादुर घर्तीले बताए । 

उनका अनुसार हामी करार र स्थाई शिक्षक बराबरको काम गरिररहेका छौ । तर पारिश्रमिक उनीहरु बराबर पाउँदैनौं । धेरै पटक माग समेत गरिएको हो । तर सुनुवाई भएन् । हामीलाई ठूलो विभेद गरिएको छ । उनले भने, “श्रम ऐनलाई समेत व्यवास्था गर्दै त्रिभुवन विश्व विद्यालयले हाम्रो शोषण गरेको समेत उनिहरुको आरोप छ ।  

हालको आन्दोलनको एक सुत्रीय माग आंशिक प्राध्यापकलाई करार गरिनुपर्ने रहेको उनको भनाई छ ।  क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा जम्मा २४ जना प्राध्यापककको दरबन्दी रहेकामा १७ जना आंशिक प्राध्यापक रहेको र उनीहरुकै बलमा क्याम्पसको नियमित पठनपाठन अघि बढिरहेको क्याम्पस प्रमुख बसन्तराज भण्डारीले बताए । उनका अनुसार आंशिक शिक्षकहरुका जायज मागलाई त्रिविले छलफलबाटै समाधान गर्नु पर्छ । 

यता आन्दोलित प्राध्यापक घर्तीका अनुसार हाल त्रिविका कुनैपनि गतिविधिमा आंशिक प्राध्यापकको सहभागिता नरहने गरी आन्दोलन चरणबद्ध रुपमा अगाडि बढाइएको छ । जबसम्म आंशिक प्राध्यापकहरुलाई करार बनाउनुपर्ने एक सुत्रिए माग पूरा हुँदैन तबसम्म हामी त्रिविका कुनै पनि गतिविधिमा सहभागी नहुने उनको भनाई छ ।  


०००



प्रकाशित: २०७७ साउन १६
July 31st 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्