नेपाली समय: ११:२९:१२ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

उपत्यका कोरोनाको जोखिमतिरः उपत्यकामा मात्रै थपिए ५१ संक्रमित, देशैभर ४ सय १८

निर्माण सञ्चार, १९ साउन, काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि भयानक रुपमै रहिरहेकै अवस्था छ । सोमबारको तथ्यांक अनुसार मुलुकभर ४ सय १८ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । 

तर, सोमबार मात्रै काठमाडौं उपत्यकामा ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो डाटा विगत भन्दा क्रमशः बढिरहेको छ । यसले काठमाडौं उपत्यकाभित्र कोरोना महामारी अझै खतरनाक हुँदै गइरहेको संकेत गर्छ । 

आइतबार मात्रै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले केही दिनमा कोरोना संक्रमण भयावह हुन सक्ने बताएका पनि छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जना नयाँ संक्रमित पुष्टि भएका हुन् । ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार थप ४ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

आज सहित नेपालमा कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

त्यस्तै, गत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई उपचार पछि घर फर्किएका छन् । उपचार पछि घर फर्कनेको संख्या यो सहित हालसम्म १४ हजार ९ सय ६१ जना रहेका छन्।


देशभर ५ हजार ७ सय ३२ जनामा कोरोना संक्रमण सक्रिय अवस्थाको रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म ३ लाख ९८ हजारको पिसिआर परीक्षणा भएको मन्त्रालयको भनाइ छ । नेपालमा कोरोनाबाट हालसम्म मर्नेहरुको संख्या ५७ पुगेको छ ।

०००



प्रकाशित: २०७७ साउन १९
August 3rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार