नेपाली समय: ०१:३८:२२ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

आठ करोडमा २ सय ५० विपन्नलाई जनता-आवास घर

निर्माण सञ्चार,२२ साउन, काठमाडौं । तातोपानी गाउँपालिका २ का हरसिंह दमाईका तीन छोरा छन् । तीनैजनाले बिवाह गरिसकेका छन् । हरसिंहले भने, “घर साँघुरो भएकै कारण माईलो छोरा बुहारी भारतमा छन् । भने जेठा, र कान्छा छोराबुहारी तथा आफ्ना बुढाबुढी गोठ, (पाण) घरको छतमा सुत्ने गर्छौ ।”घरको आर्थिक अबस्था कमजोर भएकै कारण साँघुरो घरमा १० जनाको परिवार २ कोठाभित्रै गम्सीएर बस्न बाध्य छौ । 

गत वर्ष पनि जनता आवासका घर निर्माणका आबेदन दिएका थियौ । तर राजनीति पावर  र चिनजानका आधारमा घर परे ।  तर यस वर्ष भने जनता आवासको घर निर्माणका लागि म छनौट भए । स्थानीय सरकारले बल्ल वास्तविक विपन्न पहिचान गरेको अनुभूति भएको भन्दै खुसी व्यक्त गरे । उनी अहिले घर निर्माणमै बेस्थ छन् । सोहि गाउँकै कन्न कामी अति विपन्न हुन । 

गत वर्ष उनलाई पनि घर परेन् । घर परेन भन्दै निरास भएका उनी यस वर्ष आफु जनता आवास घर निर्माणका लागि छनौट हुँदा निकै खुसी छन् । उनी भन्छन,“गत वर्ष राजनीति पावरका आधार छनौट गरेकै कारण घरहरु प्रयोग विहिन भए, च्याउ उम्रिए, तर यस वर्ष बास्तविक लक्षित वर्ग समेटिएका छौ । निर्माण पश्चात प्रयोगमा ल्याउने उनको प्रतिबद्धता छ ।  हरसिंह दमाई र कन्न कामी मात्र हैनन, जुम्लाका आठै स्थानीयतहका २ सय ५० जना अति विपन्न दलित परिवार जनता आवासका लागि छनौट हुँदा खुसी छन् । 

जग्गा भएका तर आर्थिक अभावले घर निर्माण गर्न नसकेका दलित विपन्नका लागि सरकारले ल्याएको जनता आवास कार्यक्रमबाट जुम्लामा यस वर्ष मात्रै बास्तविक लक्षित वर्ग लाभान्वित भएको पूर्वाधार विकास कार्यालयको दाबी छ । पूर्वाधार विकास कार्यालय जुम्लाका निमित्त प्रमुख टंक प्रसाद न्यौपानेका अनुसार चालु आ.वमा जुम्लामा २ सय ५० जनता आवासका घर निर्माण हुदैछन् । 

जसमा चन्दननाथ नगरपालिका ३२, तातोपानीमा २९, पातारासीमा २६, गुठिचौरमा ३८, हिमामा ३०, सिंजामा ३० र कनकासुन्दरी गाउँपालिकामा ३५ गरी २ सय ५० घर निर्माण भईरहेका छन् । विगतको जस्तो घर भएका, हुनेखानेहरुलाई घर पर्ने विपन्न छुट्ने समसा नरहेको निमित्त प्रमुख न्यौपानेको भनाई छ । अझै कार्यविधिमा भनिए अनुसार अति विपन्न संग कागजजात नहुँदा छुट्नु पर्ने समस्या रहेको छ । 

८करोड ४० लाख लागत
जुम्लामा चालु आवमा निर्माण भईरहेका २ सय ५० घरका लागि ८ करोड ४० लाख लागत लाग्ने भएको छ । प्रतिघरलाई ३ लाख ३६ हजारका दरले दिँदा ८ करोड ४० लाख हुन आउँछ । पूर्वाधार विकास कार्यालयका सव ईन्जिनियर भन्छन,”८ करोड ४० लाखमा अहिले कार्यालयको खातामा २ करोड मात्रै रकम आएको छ । हामीले घर निर्माण हुन्जेल सम्म चार किस्ता भुक्तानी दिन्छौ ।” 

पहिलो किस्ता जग खन्दा २५ प्रतिशत अर्थात ८४ हजार, दोस्रो किस्ता डिपिसी गर्दा ३० प्रतिशत अर्थात १ लाख ८ सय, तेस्रो किस्ता छाना छाएको बेला ३५ प्रतिशत अर्थात १ लाख १७ हजार ६ सय र अन्तिम किस्ता सम्पुर्ण कार्य अन्तिम भएपछि ३३ हजार ६ सय गरी ३ लाख ३६ हजार रुपैया भुक्तानी दिइने छ । 


विगतको भन्दा भुक्तानी प्रक्रियालाई निकै छिटो र छरितो गर्ने लक्ष्य राखिएकाले स्थानीयलाई काम भने स्टमेट अनुसार गर्न अनुरोध गरिएको छ । ३ लाख ३६ हजार भन्दा बढी हुन आउने सबै खर्च स्वयम स्थानीयकै श्रमदानमा जोडिन्छ ।

निमित्त प्रमुख टंक प्रसाद न्यौपाने भन्छन, निर्माण सामाग्री, ढुवानी ज्याला जोड्दा तराईको भन्दा जुम्लामा महंगो पर्छ । त्यसैले छ्टाएको रकम भन्दा बढी हुने खर्च श्रमदानमा जोडिने छ । जनता आवासका घर निर्माण कार्यविधि २०७५ले निर्धारण गरेका सेवा सर्त तथा मापदण्डमै रहेर अनुगमन निरिक्षण देखि भुक्तानीलाई अघि बढाईने कार्यालयले जनाएको छ । 

 

 

०००



प्रकाशित: २०७७ साउन २२
August 6th 2020

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्