लिदी पहिरो विस्थापितको शिविरबाट !
निर्माण सञ्चार, १३ भदौ, दीपक पौडेल ।
स्थान साविकको सेलाङ्ग गाविसको बाँसखर्क हाल जुगल गाउँपालिकाको वडा नं. १ । माथि डाँडोमा पुग्नासाथ पाखाभरि हरिया टेन्टहरु देखिए । वडा अध्यक्ष प्रताप लामा हतारमा थिए । राहत सामाग्री व्यवस्थापन गर्ने चटारो छ उनलाई । उनी साविकको गोल्चे गाविस र हाल जुगल गाउँपालिकाको वडा नं २ का वडा अध्यक्ष हुन् ।
पहिरोले क्षतविक्षत लिदी उनकै वडामा पर्छ ।
लिदी पहिरोबाट बचेकाहरु ११ घण्टाको बाटो पैदल हिंडेर बाँसखर्क आइपुग्दैछन् । पहिरोले बस्न नदिएपछि छिमेकी वडाको खाली जग्गामा बस्ने व्यवस्था मिलाइँदै छ ।
लिदी पहिरोले ३९ जनाको ज्यान लियो । पूरा गाउँलाई नै उठिबास लगायो । १४ जना बालबालिका पूर्णतया बेसहारा भएका छन् । उनीहरुको व्यवस्थापन पहिलो प्राथमिकतामा छ । उनीहरुलाई नजिकको आफन्त खोजेर जिम्मा लगाउनुपर्ने स्थिति छ । हराएकाहरुको खोजीकार्य जारी नै छ ।
बाँचेकाहरुलाई अस्थायी शिविर खडा गरेर स्थानान्तरण गरिँदैछ । आफू जन्मे हुर्केको थातथलो छोडेर मनभरि आफन्त गुमाउँदाको पिडा बोकेर रित्तो हात अन्यत्र जानुपर्दाको लिदीबासीको पिडा शब्दले समेट्न सकिँदैन । प्रकृतिको विपत्ति यति ह्रदयविदारक पनि हुँदो रहेछ भन्ने कुरा त्यो घटना देख्ने र भोग्नेलाई मात्र थाहा छ ।
जिल्लाकै विकट मध्येको एक तमाङ्ग बस्तीको त्यो पहिरो कति त्रासादीपूर्ण थियो भन्ने पिडितहरुको डर त्रासले भरिएको अनुहारले नै बताउँथ्यो । टोलाएको अनुहार । थकानपूर्ण शरीर । घर छोड्नुपर्दाको पिडा । नयाँ ठाउँमा बस्न सजिलो पक्कै छैन ।
न्यूनतम पूर्वाधारहरु चाहिन्छ नै । गाउँपालिका अस्थायी बसोबासको प्रबन्ध भरिसक्य राम्रोसँग मिलाउन बन्दोबस्तीका सामाग्री जुटाउन अभ्यस्त छ । सदरमुकाम चौताराबाट १६ किलोमिटर टाढा रहेको यस ठाउँमा राहत सामाग्री पु¥याउन पनि कठिनाइ नै छ ।
अझ बर्खामास । पानी निरन्तर परिरहन्छ । कच्ची सडक । ठाउँठाउँमा गाडी फस्छ ।
स्थानीय तहले जसोतसो न्युनतम सुविधाको चाँजोपाँचो मिलाएको छ राहत तथा उद्धारमा स्थानीय जनप्रतिनिधि, सो क्षेत्रका संघ तथा प्रदेशका मन्त्री, सांसदहरु, सम्बन्धित सरकारी तथा अन्य संघसंस्था सबैले हातेमालो गरिरहेको देखिन्छ ।
जिल्लाको क्षेत्र नं. १ का संघीय साँसद तथा प्रतिनिधि सभाका सम्माननीय सभामुख समेत रहनुभएका अग्नि प्रसाद सापकोटाले राहत र पुनस्थापनामा कुनै कमी हुन नदिन सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँ आफैं पनि निरन्तर राहत तथा अस्थायी स्थानान्तरणको चाँडो प्रबन्ध गर्न जुटिरहनुभएको छ ।
मान्छे मात्र सारेर भएन । मान्छेलाई वस्तुभाउ पाल्ने, खेतिपाति गर्ने न्यूनतम जग्गा जमिन पनि चाहियो । स्थायी घरको प्रबन्ध गर्नुप¥यो ।
गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठको भनाइ छ ।
तसर्थ सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनु नै अहिलेको आवश्यकता हो । गाउँपालिका अध्यक्ष भएकोले पनि राहत तथा पुनस्थापनाको प्रेसर उहाँलाई धेरै छ । उहाँ समग्र पक्षको व्यवस्थापनको लागि लागिरहनुभएको देखिन्छ ।
पहिरो र यसले गर्ने क्षतिका घटना प्रत्येक वर्षको बर्षायाममा कहीं न कहीं सुनिन्छ नै । यो यदाकदा हिउँदमा पनि जान्छ । हिले पहिरो, सुख्खा पहिरो, चट्टानी (रक एभालान्च) यसका केही स्वरुपहरु हुन् । हामी खेतका आली र बारीका कान्ला भत्किँदा पनि पहिरो लडेछ नै भन्छौं ।
खेतका गह्राहरुमा पानी डम्कियो भने आली भत्किएर तल्लो गह्रामा गएर मिसिन्छ । रातभर पानी पर्दा बारीका कान्ला भत्किएर भिरालो पर्छ । अझ रातोमाटो भएको बारी त सलल बग्छ । यी पहिरोका सुक्ष्म रुप हुन् । खेत भन्दा अलि ठूलो फाँट, बारीभन्दा अलि ठूलो पाखो बग्यो भने अब पहिरोको स्वरुप ठूलो हुँदै जान्छ । यसले क्षति गर्छ । खेतियोग्य जमिन नष्ट गर्छ । रुख बिरुवा नष्ट गर्छ ।
मानव समुदायको लागि पहिरो बिध्वंशात्मक हुन्छ ।
ठूलो जनधनको क्षति गर्ने गरी पहाड नै फुटेर जाने पहिरो मानव समुदायको लागि दुखदायी हुन्छ ।
सिन्धुपाल्चोक बाढी पहिरोको चपेटामा परिरहने जिल्ला भएर होला त्यहाँ ठुला ठूला पहिरोका प्रसंगहरु छन् । भिषण पहिरो गएका छन् । धुस्कुन पहिरो, जुरे पहिरो, लिदी पहिरो ठूला पहिरो हुन् ।
२०४४ सालमा सिन्धुपाल्चोक जिल्लाको पूर्वी भेगमा पर्ने लाटु, घोरथली, धुस्कुनमा भिषण बाढी पहिरोले ठूलो क्षति गरेको थियो ।
त्यसैगरी २०७१ साल श्रावण १७ गते जिल्लाकै जुरेमा भिषण पहिरोबाट १४५ जनाले ज्यान गुमाएका थिए भने पहिरोले सुनकोशी नदी थुनिदा बाहबिसे बजारसम्म ३ किलोमिटरको ताल नै बनेको थियो ।
पहिरो अक्सर पहाडमा जान्छ । हिमालमा पनि जान्छ । अक्सर हामीले भोगेका विध्वंशकारी पहिरो पहाडमा जान्छ ।
पहाडको एक भाग फुट्छ बेगले ढुंगामाटोको थुप्रो बग्छ अनि एक ठाउँमा पुगेर रोकिन्छ । पहिरोको पूरा नाम पहाड हिडेर रोकिनु भने पनि हुन्छ । पहिरोमा सँगै जोडिएर आउने तत्व हो बाढी । हामी बाढी पहिरो भन्ने शब्दावली नै बढी सुन्छौं ।
बाढी र पहिरो दुबै एकैपटक आयो भने गर्ने बिध्वंश झन् चर्को हुन्छ ।
बाढी पहिरोकै चपेटामा परेर पहिरोको पिडा जनबोलीका गितहरुका समेत पोखिदै आएको छ । “यो मनमा पिर प¥यो गहिरो, भागौं भने साउनको भेल पहिरो ।”
पहिरोले भाग्न पनि दिंदैन । मनमा पीर परेर परदेश भाग्न खोज्नेलाई पनि साउनको भेल पहिरोले कतै जान दिंदैन । तसर्थ पहिरोले मान्छेलाई थुनी थुनी पिडा दिन्छ । थुनी थुनी मार्छ ।
भूकम्पमा भाग्न सकिन्छ । तर पहिरोमा सकिँदैन । भुकम्प भन्दा बढी जोखिम हुन्छ पहिरोमा ।
“बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घरमाथि पहिरो छ ।”
यो गितले पहिरोको कहाली लाग्दो स्वरुपको भाव दिन्छ । गितले भने जस्तै कुनै पनि कुरा बुझ्नेलाई मात्र सजिलो हो । नबुझ्नेलाई घरमाथि पहिरो भएको घरमा बस्दा हुने चिन्ता जत्तिकै त्रासादीपूर्ण लाग्छ ।
यसैले पहिरोको दुख दर्द कति कहाली लाग्दो हुन्छ भन्ने कुरा माथिको गितको भावले नै व्यक्त गर्छ । त्यसैगरी जिल्लाकै लोकगायक हरेराम कार्कीले २०४४ सालमा गएको धुस्कुन पहिरोको गित नै बनाए । नरमाइलो धुस्कुन गाउँ थिएन, त्यहाँ बस्नलाई पहिरोले दिएन ।
यसरी पहिरोका वेदना लोक संस्कृतिमा पनि समेटिएका छन् ।
पहिरोले लिदीबासीलाई बढी नै सास्ती दियो । आफू जन्मेको थातथलो छोडेर हिंड्नुपर्यो ।
पहिरो जाने जग २०७२ साल वैशाख १२ गतेको भूकम्पले नै खनिसकेको थियो ।
भूकम्पको सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा नै रहेको थियो । यसपालीको पहिरोले लिदीबासीलाई नराम्रोसँग डस्यो ।
यो घटनाबाट पाठ सिकेर जोखिमयुक्त बस्ती अन्यत्र सार्न सके भविष्यमा यस्ता घटना सुन्न पर्दैनथ्यो ।
... लिदीबासीलाई गहिरो सहानुभूति ...।
०००
प्रकाशित: २०७७ भाद्र १३
प्रकाशित: २०७७ भाद्र १३
August 29th 2020
प्रतिक्रिया दिनुहोस्