नेपाली समय: ०२:०६:३७ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

काेराेनाले आधा घट्यो निर्माण सामग्रीको उत्पादन, माग पनि छैन

निर्माण सञ्चा,१८ भदौ, काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट जोगिन गरिएका लकडाउन र निषेधाज्ञाले निर्माण सामग्रीको उत्पादन ह्वा्तै घटेको छ।  कोरोनाका कारण निर्माण सामग्रीको उत्पादन आधाले घटेको उद्योगीहरूले  बताएका छन्।

वार्षिक ३ अर्बको इँटा उत्पादन भइरहेकोमा कोभिड र मनसुनका कारण यस वर्ष डेढ अर्बको मात्र उत्पादन भएको इँटा उत्पादक संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए।

उनकाअनुसार मंसिरदेखि जेठसम्म इँटा उत्पादन गर्ने समय हो। तर गत वर्ष पुस–माघसम्म पानी परेकोले फागुनबाट उत्पादन सुरू भयो। चैतको दोस्रो सातादेखि नै लकडाउन हुँदा पर्याप्त इँटा उत्पादन हुन सकेन।

इँटा उत्पादन आधाले घटे पनि  अभाव भने नहुने उनी बताउँछन्।


‘लामो समयको बन्दाबन्दीले मानिसलाई घर खर्च चलाउनै गाह्रो हुन्छ, यो समयमा कसले घर बनाउँछ र इँटा नपुग्नु’ चित्रकारले भने। बन्दाबन्दीले आगामी वर्ष धेरै इँटा उद्योग बन्द नै हुने उनले बताए।

कोभिड १९ का कारण कुल उत्पादनको २० प्रतिशतमात्र सिमेन्ट उत्पादन भएकोे सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए।

‘लकडाउन हुनुभन्दा अगाडि वार्षिक १० मिलियन टन सिमेन्ट उत्पादन भएकोमा अहिले त्यसको २० प्रतिशत पनि उत्पादन हुन सकेको छैन,’ उनले भने।

कोभिडलाई व्यवस्था गर्न नसकेपछि सरकारको ध्यान उत्पादन नै बन्द गर्नेतिर गएको उनको आरोप छ। उद्योग चल्न नपाउँदा बैंकको ब्याज गाभिँदै गएको उनले गुनासो गरे।


‘बन्दाबन्दी नगरेको भए हामी सुरक्षाका उपाय अपनाएर उत्पादन गथ्र्यौं। बन्दाबन्दीले कर्मचारी आउन पाएका छैनन्,’ उनले भने, ‘हामीलाई कर्मचारी पाल्न, भाडा तिर्न र बैंकको ब्याज तिर्न गाह्रो भएको छ।’

सरकारले बन्दाबन्दीलाई मात्रै लम्ब्याउने हो भने आगामी वर्ष धेरै सिमेन्ट उद्योग बन्द हुने उनले बताए।

कोभिडले रङरोगनको उत्पादन ठ्याप्पै बन्द भएको रङरोगन उत्पादक संघका अध्यक्ष विश्व शाखले बताए। सरकारले उद्योग सञ्चालन गर्ने वातावरण नै नदिएको उनको आरोप छ।

‘उद्योगमा काम गर्ने कर्मचारीलाई फ्याक्ट्रीमै राख्नुपर्ने र कोरोना संक्रमण भए त्यसको जिम्मेवार उद्योगीले लिनुपर्छ भनेपछि हामीले कसरी उद्योग सञ्चानल गर्न सक्छौं,’ उलने भने, ‘पहिले फ्क्याट्री बनाउँदा कर्मचारी राख्न मिल्ने गरी बनाइएको छैन, फेरि हामी कसरी जिम्मेवारी लिन सक्छौं कर्मचारीको।’

संघमा आवद्ध ५० उद्योगमा ठूला लगानीका उद्योग सबै बन्द भएको उनले बताए।

‘संघमा आवद्ध प्रायस् सबैसँग मेरो कुरा भइरहेको छ। कसैले उद्योग चलाएको छु भन्दैनन्। यो वर्ष उत्पादन पनि छैन, खपत पनि हुँदैन,’ उनले भने।

गिट्टी तथा बालुवाको उत्पदान पनि लकडाउनयता ५० प्रतिशतमा झरेको गिट्टी तथा बालुवा व्यवसायी बताए।

गोदाममै थन्कियो अबौंको सिमेन्ट

करिब आधा वर्षको बन्दाबन्दीले सामाान बेच्न नपाउँदा सिमेन्ट गोदाममै थन्किएको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष अचुतम कटुवालले बताए।

‘टायल, ट्वाइलेट, बाथरूम, बिजुलीका सामान त बिग्रने थिएनन् तर यसरी बेच्न नै नपाइने भयो भने सिमेन्ट गोदाममै बिग्रन्छ,’ उनले भने।
सिमेन्ट गोदाममै थन्किँदा ३ अर्बभन्दा बढी नोक्सान हुने उनको अनुमान छ। 

उनकाअनुसार संघमा आवद्ध २५ सय व्यापारीसँग ५० लाख बोरा सिमेन्ट गोदाममा छ। अन्य वस्तुमा जस्तो उपभोक्ताको भीड नहुने भएकोले बन्दाबन्दीमा पुरा समय निर्माण सामग्री बेच्न दिनुपर्ने उनीहरूको माग छ।

लकडाउन भएपछि नै उनीहरूले सामान बेच्न पाएका छैनन्।

लकडाउनमा सामान ढुवानीमा अवरोध गर्ने भए सरकारले भन्सार पास नै नगरीदिन उनले आग्रह गरेका छन्।

‘कर लिन भन्सार पास हुन्छ। सामान ल्याएका गाडी बाटोमा हप्तौंसम्म रोकिदिन्छन्। लकडाउनमा भन्सार पनि पास नहुनु पर्ने होइन ररु,’ उनले प्रश्न गरे।


०००
स्रोतः सेतोपाटीबाट



प्रकाशित: २०७७ भाद्र १८
September 3rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार