नेपाली समय: ०१:३९:३१ बिहान
वि.सं २०७७ आश्विन १४   बुधवार

जबरजस्ती मच्छेन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोकमा झडप

निर्माण सञ्चार, १७ भदौ,काठमाडौँ ।  निषेधाज्ञाबीच स्थानीय युवाहरुले ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्र नाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय र प्रहरीबीचको  झडपले उग्ररुप लिएपछि  प्रहरीले अश्रु ग्यास हानेको  छ। स्थानीय प्रशासनको वेवास्ता गर्दै रथ तान्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । रथ तानेर सडकको बीच भागमा पुर्‍‌याइएको  छ। सडकमा ठूलो संख्यामा प्रहरी घेरा हालेर बसेका छन्।


 यसअघि रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए। कुनै अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा प्रहरी उपस्थित गराइएको थियो। कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको थियो।


लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित गरेको थियो। कोरोनाका कारण उपत्यकामा धार्मिक गतिविधि तथा जमघटमा रोक लगाइएको छ। 

वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ। रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ।

सरकारले कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर स्थानीयले जबरजस्ती रथ तान्न खोजेपछि थपड भएको हो ।

०००



प्रकाशित: २०७७ भाद्र १८
September 3rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार