नेपाली समय: १२:५७:३८ am
वि.सं २०७७ आश्विन १४   बुधवार

आफ्नै अस्पतालको लापरबाहीले डाक्टरको मृत्यु

निर्माण सञ्चार,३० भदौँ,काठमाडौँ । 

के भएको थियो ?
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका डा. ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरबाही र त्रुटि गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका एक चिकित्कसलाई कारबाही गरेको छ भने एकजनालाई स्पष्टीकरण सोधेको छ । काउन्सिलले डा. सिंहको उपचारमा संलग्न आँखा, कान, घाँटी, नाकका चिकित्सक डा. विश्व तुलाचनलाई एक वर्षसम्म ‘इसोफिजिएल इन्डोस्कोपी’ नपाउने कारबाही गरेको छ । 

एक वर्षपछि इसोफिजिएल इन्डोस्कोपीको तालिम लिएको प्रमाण पेस गरेपछि मात्रै डा। तुलाचनलाई काम गर्न दिने निर्णय गरेको छ । काउन्सिलले २५ भदौमा डा। तुलाचनलाई यस्तो निर्देशनसहितको पत्र पठाएको हो । डा. तुलाचनले उपचारका क्रममा उपचारको पूर्ण प्रक्रिया नअपनाएको, बिरामी पक्षलाई सबै जानकारी नगराएको र उपचारको अभिलेख तथा कागजात दुरुस्त नराखेको काउन्सिलको ठहर छ । 


उपचारका क्रममा निधन भएका डा. ज्ञानेश्वरप्रसाद सिंह । उनको उपचारमा लापरबाही र त्रुटि भएको भन्दै मेडिकल काउन्सिलले युनिभर्सलका डा। विश्व तुलाचनलाई कारबाही गरेको छ भने एनेस्थेसिया चिकित्सक लक्ष्मी पाठकलाई विनास्वीकृति तस्बिर र भिडियो अपलोड गरेकोमा स्पष्टीकरण सोधेको छ । 
त्यस्तै, उपचारमा संलग्न अर्का चिकित्सक लक्ष्मी पाठक (एनेस्थेसिया)ले डा. सिंह र उनको परिवारको स्वीकृति नलिई उपचार गरिरहेको भिडियो, तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेर गम्भीर विषयमाथि खेलबाड गरेको र बिरामीलाई उपयुक्त समयमा काउन्सिलिङ नगरेको काउन्सिलले जनाएको छ ।

बिरामीको उपचारसँग सम्बन्धित कागजात र अभिलेख दुरुस्त नराखेको हुँदा ‘कोड अफ इथिक्स एन्ड प्रोफेसनल कन्डक्ट, २०१७’ अनुसार किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । डा. पाठकलाई निषेधाज्ञा खुलेको दुई हप्ताभित्र काउन्सिलमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।

डा. सिंहको उपचारमा संलग्न तीनजना चिकित्सकमध्ये एकजनाको कुनै गल्ती नदेखिएको काउन्सिलले जनाएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को परिच्छेद ४ को २२ ‘क’ र ‘ग’अनुसार उपचार नगरेको देखिएको काउन्सिलको ठहर छ । नियमावलीअनुसार ‘आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म उचित निदान गरी रोगको उपचार गर्ने, आफूले आफ्नो शक्ति, ज्ञान, सीप र अनुभवले कुनै रोगको उपचार गर्न नसक्ने जस्तो लागेमा उपलब्ध हुन सकेसम्म कुनै विशेषज्ञसँग सल्लाह लिई गर्ने र अवस्था हेरी रोगीको उपचार हुन सकेसम्म विशेषज्ञबाट गराउनुपर्छ भन्ने कुराको सल्लाह स्पष्ट रूपमा उपचार गराउने रोगी वा रोगीका परिवारका भरपर्दो सदस्यलाई दिने अथवा अस्पतालजस्ता संस्थामा सिफारिस गर्ने’ काम युनिभर्सल कलेजले नगरेको काउन्सिलले जनाएको छ । 

नियमावलीमा उल्लेखित काम नगरेको हुँदा काउन्सिलले युनिभर्सल कलेजलाई स्वास्थ्य सेवा प्रणालीमा सुधार गर्न, स्वास्थ्य सेवा प्रभावकारिताको व्यवस्थित प्रोटोकल निर्देशिका बनाएर लागू गराउन निर्देशन दिएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापनका कर्मचारीलाई समय–समयमा ‘मेडिको–लिगल’ एवं स्वास्थ्य सेवा व्यावसायिक प्रभावकारिताका तालिम सञ्चालन गर्नसमेत निर्देशन दिएको छ ।

के भएको थियो ?

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा १० वर्षदेखि अर्थोपेडिक्स सर्जन एवं अर्थोपेडिक्स विभाग प्रमुखका रूपमा कार्यरत डा। ज्ञानेश्वरप्रसाद सिंहको घाँटीमा १० भदौ ०७६ मा खाना खाने क्रममा हड्डी अड्किएको थियो । त्यसपछि डा. सिंहलाई उपचारका लागि उनैले काम गर्ने युनिभर्सल अस्पताल लगियो । ११ भदौमा घाँटीबाट हड्डी झिकिएको भनेर उपचारमा संलग्न चिकित्सकले डा. सिंहको परिवारलाई जानकारी दिएका थिए ।

डा. सिंहको उपचार सफल भएको भन्दै उपचारमा संलग्न चिकित्सकले सामाजिक सञ्जालमा उपचार गरिरहेको तस्बिर र भिडियो नै सार्वजनिक गरे । ‘आधा हड्डी झिक्यौँ, आधा धकेलेर पेटमा पु¥यायौँ भनेका थिए,’ डा. सिंहका छोरा प्रज्ज्वल सिंहले भने । त्यसको पाँचौँ दिन उनलाई बान्ता हुन थाल्यो, ज्वरो आयो । उनको अवस्था बिग्रन थालेपछि परिवारले सिटिस्क्यान गर्र्नुपर्ने माग राखे । ‘सिटिस्क्यानमा पेटमा धकेलियो भनिएको हड्डी त घाँटीमै रहेको देखियो,’ प्रज्ज्वलले भने । त्यसपछि परिवारका सदस्यलाई जानकारी नै नदिई डा. सिंहलाई आइसियूमा सारियो । ‘उहाँलाई किन आइसियूमा राखेको भन्दै हामीले प्रश्न गरेपछि अस्पतालले काठमाडौं लानुपर्छ । एक–दुई दिनमा ठीक हुन्छ भन्दै हेलिकोप्टरमा काठमाडौं पठायो,’ डा. सिंहकी पत्नी विना सिंहले भनिन् । 

१५ भदौमा डा. सिंहलाई काठमाडौंको मनमोहन अस्पतालमा ल्याइयो । उनको अवस्था गम्भीर भइसकेको थियो । रेफर पत्रमा युनिभर्सल कलेजले छातीको अत्यधिक दुखाइका कारण डा. सिहलाई काठमाडौं रेफर गरिएको लेखेको थियो । तर, मनमोहन अस्पतालले भने घाँटीमा अड्किएको हड्डी धकेल्ने र झिक्ने क्रममा लापरबाही भएको बतायो । त्यही लापरबाहीका कारण खानाको पाइप च्यातिएको र संक्रमण भएको पुष्टि भयो । मनमोहन अस्पतालमा हड्डी निकाले पनि अवस्था ठीक नभएकाले च्यातिएको पाइपको शल्यक्रिया तीन महिनापछि मात्रै गर्न सकिने चिकित्सकले बताए । त्यसपछि आइसियूमा राखिएका डा. सिंहको २ माघ ०७६ मा शिक्षण अस्पतालमा मृत्यु भयो ।

उनको मृत्युपछि परिवारले ९ साउन ०७७ र २० भदौमा युनिभर्सल कलेजलाई क्षतिपूर्ति र सुविधाबापतको रकम माग गरेर निवेदन दिए । परिवारले क्षतिपूर्तिका लागि दिएको निवेदनमाथि कलेजले सुनुवाइ नगरेपछि १८ भदौमा गृह मन्त्रालय र २२ भदौमा स्वास्थ्य मन्त्रालयमा निवेदन दिए । पाँच महिना आइसियूमा राख्दा मात्रै ७० लाख रुपैयाँभन्दा बढी खर्च भएको परिवारले बतायो । ‘गत वर्षको भदौदेखि आफन्तको घरमा बसेका छौँ । बुबाको मृत्युपछि त हाम्रो बिचल्ली भएको छ,’ प्रज्ज्वलले भने, ‘त्यही अस्पतालमा १० वर्ष काम गर्नुभयो । त्यहीँका डाक्टरको लापरबाहीले बुबाको मृत्यु भयो । क्षतिपूर्ति, सुविधा माग्दा हाम्रो फोन नै उठाउँदैनन् ।’ 

कलेज व्यवस्थापनले भने क्षतिपूर्ति दिन नसक्ने बताएको छ । उनको उपचारमा सक्दो सहयोग गरेको दाबी गर्दै कलेजका म्यानेजिङ डाइरेक्टर खुमा अर्यालले भने, ‘अस्पतालले बिरामीलाई सेवा–सुविधा दिने हो, क्षतिपूर्ति दिने होइन । उपचार डाक्टरले गर्छन्, अस्पतालले गर्दैन, त्यसैले हामी क्षतिपूर्ति दिन सक्दैनौँ । क्षतिपूर्ति दिन अस्पताल खोल्या त होइन नि ।’ क्षतिपूर्ति चाहिएमा कानुनी प्रक्रियामा जानुपर्ने उनको भनाइ छ । 

 

 

 

०००
स्रोत नयाँपत्रिकाबाट



प्रकाशित: २०७७ भाद्र ३०
September 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार