नेपाली समय: ०४:४८:४३ अपरान्ह
वि.सं २०७७ कार्तिक ५   बुधवार

हिमाल चढ्न आएका १५ जना रोयल गार्डसहित बहराइनका राजकुमार काठमाडौंमा

निर्माण सञ्चार,३१ भदौँ, काठमाडौं । बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १८ जनाको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत सो टोली नेपाल आएको हो । 


टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन् । यस्तै अन्य ३ जना बेलायती यो टोलीमा सहभागी छन् ।  बहराइनस्थित नेपाली दूतावासका अनुसार सो टोलीले लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्य लिएको छ । टोली शेख इशा एयरबेसबाट विशेष विमानमा मंगलबार राति नेपालका लागि प्रस्थान गरेको थियो । 
 
 बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो ।

बहराइनका  लागि नेपाली राजदूत पदम सुन्दासले लगभग २ महिना समयावधिको कार्यक्रम सहित नेपाल प्रस्थान आएको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिँदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको बताए । 


सो टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा गत भदौ १४ गतेको  मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो । 

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको छ ।

यो टोलीले नेपालमा रहँदा समेत सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गर्ने भएको छ । उनीहरुलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ, श्रम सहचारी दामोदर दाहाल लगायतले प्रस्थान पूर्व पर्वतारोहणमा सफलताको शुभकामना दिएका थिए ।  भेटमा सुन्दासले नेपाल र बहराइनबीच रहँदै आएको मित्रवत सम्बन्धमा यस आरोहणले थप आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे । 


०००



प्रकाशित: २०७७ भाद्र ३१
September 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार