नेपाली समय: ०३:३२:३७ अपरान्ह
वि.सं २०७७ कार्तिक ५   बुधवार

जनकपुर आइपुग्यो नेपाली रेल

निर्माण सञ्चार, २ असोज,काठमाडौं । सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालनका लागि भारतसँग किनेको रेल शुक्रबार दिउँसो डेढ बजे जनकपुर आइपुगेको छ।  लामो समयको प्रतिक्षापछि जनकपुरमा रेल आइपुगेको छ। कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन जनकपुर ल्याइएको हो।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ । 

कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याइएको हो । रेल नेपाल आए पनि फेरि भारत नै फर्किनेछ ।

सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको थियो ।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चा थियो । तर, रेल नेपाल वा भारत कुन देशले किन्ने भन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन सकेको थिएन।


०००
 



प्रकाशित: २०७७ आश्विन २
September 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार