नेपाली समय: ०२:४०:४९ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

विकास निर्माणका काममा जनप्रतिनिधि र प्राविधिकले गर्ने नैतिक–निर्णयको मूल्याङ्कन किन र कसरी गर्ने ?

निर्माण सञ्चार, १८ कात्तिक, ०७७ । काठमाडौं ।

  • ‘एउटा पहाडी  इलाकाको नगरपालिकाले भ्यू–टावर लगायतको नक्सा बनाउन सल्लाह मागेको थियो। मेयर लगायत अन्य कर्मचारीसँगको बैठकको दौरान मेरो प्रतिक्रिया थियो– ‘मेयरसाप, हामीले डाँडोभन्दा अग्लो भ्यू–टावर बनाउने हो ? नत्र त्यही डाँडोलाई नै विकास गरौं, भ्यू–टावर पनि त्यही हुन्छ, पहाडको विकास पनि !’ मेरो कुरा मिलेन। अर्का आर्किटेक्ट–प्लानरले त्यो डिजाइन गर्नु भएछ ...! कमसेकम परामर्श दिने प्राविधिकले अलिकति नैतिकता राखिदिएको भए विकासको दुरुपयोग हुनबाट बच्ने थियो कि !’
पूर्वाधार निर्माणमा ‘चेक एन्ड ब्यालेन्स’को सवाल

यो स्टाटस एकजना आर्किटेक्टले फेसबुकमा राख्नुभएको हो । माथिको यो परिस्थितिले के संकेत गर्छ भनेर म घोत्लिएँ । इञ्जिनियरिङ्ग नैतिक–मान्यता (Engineering Ethics) र नैतिक–निर्णय गर्ने (Ethical decision making) प्रक्रियाको बारेमा केही लेख्‍न आवश्यकता महशुस भएकोले यो लेख लेखिएको हो । 

यस लेखले विकास निर्माणको कार्यसँग सम्बन्धित विषयमा निर्णय गर्नु पर्ने इञ्जिनियर–आर्किटेक्ट र जनप्रतिनिधिलाई विवेकसम्मत (Rational) तथा बुद्धिमत्तापूर्ण (Prudent)  निर्णय लिने कार्यमा सघाउनेमा थोरै भनेपनि विश्वास गर्न सकिन्छ। त्यस्ता निर्णयहरुलाई सार्वजनिक वहसको विषय बनाउने र मूल्याङ्कन गर्ने परिपाटिको विकास गर्ने तर्फ समेत यस लेखले सघाउ पुर्‍याउनुका साथै इञ्जिनियर–आर्किटेक्ट बाहेक अन्य पेशामा रहनु भएकाहरुलाई समेत यो लेख सन्दर्भ सामग्रीको रुपमा उपयोगी हुने अपेक्षा गरिएको छ।

(क) आचरणः

नैतिक–मान्यता वा आचरण (Ethics) लाई मानिसको चालचलन वा व्यवहारको रुपमा मात्र पनि हेर्न सकिन्छ। आचरणलाई मानिसको चालचलन वा व्यवहार ठिक (उपयुक्त) वा बेठिक (अनुपयुक्त) भनी मूल्याङ्कन गर्ने विज्ञानको रुपमा पनि हेर्ने गरिएको पाइन्छ। ठिक भन्नुको अर्थ सम्बन्धित समाज वा समुदायलाई ग्राह्य हुने र बेठिक भन्नुको अर्थ सम्बन्धित समाज वा समुदायलाई ग्राह्य नहुने भनी बुझ्नु पर्ने हुन्छ। सामाजिक रुपमा ग्राह्य र अग्राह्य भन्ने कुरा त्यस समाज वा समुदायको धर्म, संस्कृति र संस्कारसंग जोडिएको हुन्छ र समाज वा समुदायको आर्थिक–सामाजिक विकासको अवस्थाले मानिसको धर्म, संस्कृति र संस्कारलाई निर्देशित गरेको हुन्छ।

पूर्वाधार निर्माणमा जनप्रतिनिधि र प्राविधिक दुवै पक्षको जवाफदेहिता आजको ज्वलन्त प्रश्न हो

त्यसैले कुनै पनि समाज वा समुदायको विकासमा शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। आचरणलाई आधुनिक राज्यको हिसाबले परिभाषित गर्दा कानुन सम्मत भए त्यस्तो आचरणलाई ठिक र कानुन विपरीत भए बेठिक मान्नु पर्ने हुन्छ।

मुलुकको आर्थिक–सामाजिक विकास र चेतनाको स्तरमा भएको विकासले कानुन निर्माणमा अहम् भूमिका खेल्छ। यही आचरणको विषय जब पेशा वा व्यवसायसँग जोडिन्छ त्यतिखेर पेशा अपनाउनेको (वा व्यवसाय गर्नेहरुको) आचरण कानुनी हिसाबले मात्र ठिक भएर पुग्दैन उनीहरुको आचरण चाँही कानुनले परिभाषित गर्ने ठिक वा बेठिकको स्तरभन्दा धेरै माथि उठेको हुनुपर्दछ। त्यसैले पेशासँग सम्बन्धित परिषद्ले (Professional council) निर्धारण गरेको नैतिक आचार संहिता (Code of Ethics) अनुरुपको हुनु पर्ने अपेक्षा गरिन्छ। 

त्यसैले जुन समाजमा पेशागत परिषद्हरु विश्वसनीय र सक्षम हुन्छन् त्यस्तो मुलुकका पेशामा संलग्न मानिसहरुको सामाजिक प्रतिष्ठा (छवि) पनि राम्रो हुन्छ । 

तर हाम्रो मुलुकमा पेशासँग सम्बन्धित परिषद्हरुले आफ्नो पेशागत मूल्य र मान्यताको उचाई उठाउन सकेको देखिदैन। फलतः हामीकहाँ पेशामा संलग्न मानिसहरुको मनोबल (Morale) प्रत्येक राजनैतिक परिवर्तनसँगै झनै खस्कँदै गइरहेको अवस्था छ। यो ज्यादै ठूलो चिन्ताको विषय हो। 

(ख) नैतिक, अनैतिक वा नैतिकता–निरपेक्षताः

कुनै पनि घटना (Incidence) वा कार्य वा अकार्य (Action/Inaction) लाई नैतिक (Moral) अनैतिक (Immoral) वा नैतिकता–निरपेक्ष (Non-moral) भनी विश्लेषण गर्ने गरिन्छ। विवेकी र बुद्धिमान मानिसबाट स्वैच्छिक रुपमा (Voluntary) गरिएको कार्य वा अकार्य मात्र नैतिक वा अनैतिक भनी विश्लेषण गर्ने गरिन्छ। प्रकृति, पशु, बालक लगायत मूर्ख वा हठी (Idiot) का व्यवहारहरुलाई र आफ्नो काबु बाहिरको परिस्थितको कारण कुनै विवेकी एवम् बुद्धिमान मानिसबाट हुन पुगेका कार्य वा अकार्यलाई नैतिक वा अनैतिकको कसीभित्र राखेर जाँचिदैन। 

त्यस्ता घटना वा व्यवहारहरु नैतिकता–निरपेक्ष मानिन्छन्। त्यसैले नैतिक आचरण सम्बन्धी विषयवस्तुको विश्लेषण बढी जटिल देखिन्छ। यसलाई समय, परिस्थिति र व्यक्तिको समग्रतामा हेर्नु पर्ने हुन्छ। 

पेशा विशेषमा रहेका मानिसहरुबाट हुने वा भएका कार्य वा अकार्य (व्यवहार) को नैतिक पक्षको मूल्याङ्कन झनै जटिल हुन्छ र त्यस्ता कार्य वा अकार्यले समाजलाई दीर्घकालीन रुपमा प्रभाव समेत पार्ने हुँदा त्यस्ता पक्षहरुको जिम्मेवारीपूर्वक, गहन ढंगले र विश्वसनीय तरिकाले मूल्याङ्कन तथा अध्ययन अनुसन्धान गर्नु पर्ने हुन्छ। 

हामीकहाँ यस्तो प्रचलन छैन। त्यसैले कुनै पनि पेशाको विश्वसनीयता कायम हुन सकेको छैन। 

चिकित्सक, इञ्जिनियर–आर्किटेक्ट, कानुन व्यवसायी जस्ता कानुनद्वारा स्थापित परिषद् भएका पेशाहरुले पनि आफ्नो ज्ञान, दक्षता र अनुभवको आधारमा समाजमा आफुलाई स्थापित गराउन सकेको छैन। यही कारण, केहीलाई छोडेर आम रुपमा क्षमता र स्वाभिमान भएका युवाहरुलाई आफ्नो देशमा टिक्न गारो भएकोले विदेश जान बाध्य भएका हुन्। यो त्यस्ता युवाहरुको दोष होइन। राज्य व्यवस्थाको कमजोरी र हेलचेक्र्याइँको परिणाम हो भन्ने बुझ्नु पर्दछ।

(ग) नैतिक–निर्णयका अभिलक्षणः

नैतिक–निर्णयका निम्न अभिलक्षणहरु देखिन्छन्–

  • १) नैतिक–निर्णयहरु प्रायः विकल्प विहिन हुँदैनन्। तिनीहरुका विकल्पहरु पनि हुन्छन्,
  • २) नैतिक–निर्णयका परिणाम वा प्रतिफल सोचेजस्तै नहुन पनि सक्छ
  • ३) कतिपय नैतिक–निर्णयका परिणाम वा प्रतिफल मिश्रित खालको पनि हुन सक्छ
  • ४) नैतिक–निर्णयका परिणाम वा प्रतिफलले पछिसम्म प्रभाव पार्ने हुन्छ, र
  • ५) नैतिक–निर्णयको असर व्यक्तिगत रुपमा पनि पर्ने हुन्छ । 
उल्लिखित अभिलक्षणले गर्दा नैतिक–निर्णय गर्नु पर्दा धेरै कुराहरु माथि विचार गर्नु पर्ने हुन्छ। त्यस्ता निर्णयहरुले देश र जनतामा दूरगामी असर पार्छ र त्यस्ता निर्णयहरुले व्यक्तिको जीवनमा समेत प्रभाव पार्ने गर्छ। 

त्यसैले राजनैतिक र पेशागत निर्णय गर्नु पर्दा हचुवाको भरमा गर्नु हुँदैन। नैतिक–निर्णय गर्नु पर्दा तथ्य र तथ्याङ्कको सहारा लिनु पर्दछ । आफूले गरेको निर्णयप्रति प्रतिबद्धता हुनु पर्दछ र आफूूले गरेको निर्णयको नतिजाप्रति पनि जवाफदेही रहनु पर्ने हुन्छ।

घ) नैतिक द्विविधाः

नैतिक निर्णय गर्दा प्रायः द्विविधाको स्थिति उत्पन्न हुन्छ। संस्थागत तवरमा निर्णय लिँदा आर्थिक प्रतिफल र सामाजिक दायित्वको बीचबाट ठिक (उपयुक्त) निर्णय गर्नु पर्ने हुन्छ। 

उदाहरणको लागि प्रदेशका मन्त्रीहरुको लागि गाडी खरिद गर्ने कि कोभिड–१९ का विरामीहरुको उपचारको लागि अस्पतालको सुविधा अभिबृद्धि गर्ने ? वा निजी अस्पतालहरुले कोभिड–१९ को उपचार गरेको खर्चमा नाफाको प्रतिशत ज्यादै न्यून राख्ने कि सके जति धेरै राख्ने ? लाई हेर्न सकिन्छ । 

त्यसैगरी व्यक्तिगत तवरमा हेर्दा आफ्नो चाहना वा इच्छा र कर्त्तव्यको बीचबाट ठिक (उपयुक्त) निर्णय गर्नु पर्ने हुन्छ। 

उदाहरणका लागि मन्त्री र सांसदहरुको तलब सुबिधा बढाउने कि त्यस्तो रकमबाट कोभिड–१९ पीडित विपन्न तथा मजदुरका लागि राहतको व्यवस्था गर्ने ? जस्ता निर्णयहरु नैतिक–निर्णयहरु हुन् र त्यस्ता निर्णयहरु गर्दा निजी नाफामुलक संस्था हो भने स्वाभाविक रुपमा उसको बढी झुकाव आर्थिक प्रतिफलतिर रहन्छ तर सरकारी वा सार्वजनिक निकाय भए त्यस्तो निकायको बढी झुकाव सामाजिक दायित्व पुरा गर्ने तर्फ हुनु पर्दछ। 

राजनैतिक नेतृत्व र सार्वजनिक निकायका पदाधिकारीहरु यसमा प्रस्ट हुनु पर्दछ। 

ङ) नैतिक निर्णयलाई मूल्याङ्कन गर्ने आधारः 

नैतिक निर्णयलाई ठिक (उपयुक्त) वा बेठिक (अनुपयुक्त) भनी निर्णयमा पुग्नु पर्दा वा त्यस्ता निर्णयहरुको मूल्याङ्कन गर्दा वा त्यस्ता निर्णयहरु ठिक (उपयुक्त) भएको सिद्ध गर्नका लागि विभिन्न आधार लिने गरिन्छ। 

उदाहरणका लागि परम्पराको (Tradition) आधार, विद्यमान कानुनको (Existing Law) आधार, उपयोगितावादी (Utilitarian) सिद्धान्तको आधार, सार्वभौमवादी (Universalism) सिद्धान्तको आधार, वितरणवादी (Distibution) सिद्धान्तको आधार र व्यक्तिगत स्वतन्त्रताको (Personal liberty) सिद्धान्तका आधारहरुलाई लिन सकिन्छ। 

यस लेखको प्रेरक कडी बनेको दृष्यावलोकन–बुर्जा (भ्यू–टावर) निर्माणको प्रसंगलाई उल्लिखित आधारहरुमा विश्लेषण गर्दा परम्परागत आधारमा विश्लेषण गर्न आवश्यक र उपयुक्त हुने देखिदैन। 

विद्यमान कानुनको आधारमा हेर्ने हो भने कानुनले दृष्यावलोकन–बुर्जा निर्माण गर्ने स्थान यही हुनु पर्छ भनी किटान गर्न सक्दैन र कुनै इञ्जिनियर वा आर्किटेक्टले दृष्यावलोकन–बुर्जाको डिजाइन र नक्सा बनाउन हुँदैनथ्यो भन्न सकिने पनि देखिदैन। 

त्यसै प्रसंगलाई उपयोगितावादी सिद्धान्तको आधारमा विश्लेषण गर्दा नगरपालिकाको दृष्यावलोकन–बुर्जा बनाउने निर्णय नै ठिक (उपयुक्त) छ कि छैन भनी नगरपालिकाका मेयर एवम् सभासदहरुले गम्भीरतापूर्वक विश्लेषण गरेर, नगरवासीहरुबीच छलफल भई तय गरेको हुनु पर्ने हो । किनकि दृष्यावलोकन–बुर्जाभन्दा उक्त नगरपालिकाको लागि अन्य आयोजना बढी महत्वपूर्ण र धेरै जनताको हितमा हुने हुन सक्छन् । 

सार्वजनिक निकायको निमित्त सामाजिक दायित्व सर्वोपरी हुनु पर्छ। यस्ता कुराहरु सम्बन्धित स्थानीय तहको सार्वजनिक महत्वका विषयहरु पनि हुन्। विकास निर्माणको काममा सार्वजनिक छलफल गराउने र नागरिकहरुको विचार समेत लिने परिपाटि स्थानीय तहहरुले सुरु गर्नु अति आवश्यक छ। 

व्यक्तिगत इञ्जिनियर वा आर्किटेक्टको तर्फबाट सार्वभौमवादी सिद्धान्तलाई आधार मानी हेर्ने हो भने नगरपालिकाले सुम्पिएको काम यौटा इञ्जिनियर वा आर्किटेक्टले नगरेमा अर्कोले गर्न सक्छ र त्यस्ता इञ्जिनियर वा आर्किटेक्ट थुप्रै छन्। 

त्यसैगरी इञ्जिनियर वा आर्किटेक्टको व्यक्तिगत स्वतन्त्रताको आधारमा हेर्दा पनि कसैलाई उक्त कार्य गर्न मन लागेन र गरेन वा गर्न आवश्यक थिएन र गरेन भन्न पनि सकिन्छ। त्यसैले कसैले कुनै डिजाइन वा नक्शा नबनाएकै कारण उसले ठिक गरेको वा कसैले डिजाइन वा नक्सा बनाएकै कारण बेठिक गर्‍यो भनी हाल्न मिल्दैन। 

पेशागत ज्ञान, सीप र दक्षताको आधारमा कुनै इञ्जिनियर वा आर्किटेक्टले दिने सल्लाह वा सुझाव प्राविधिक हिसाबले ठिक (उपयुक्त) र लागत–प्रभावी (किफायती)  हुनु पर्दछ। 

इञ्जिनियर वा आर्किटेक्टले स्वास्थ्य, सुरक्षा र वातावरणलाई नकारात्मक प्रभाव पार्ने विषयमा भने सम्झौता गर्नै हुँदैन। त्यसैले पेशामा लागेकाहरुले गर्ने पेशासँग सम्बन्धित निर्णयहरुलाई ठिक वा बेठिक भन्नका लागि सम्बन्धित पेशाको अभ्यासको स्तर र आचार संहिताको कसीमा घोटेर मात्र भन्नु पर्ने हुन्छ। 

त्यसैले सम्बन्धित पेशालाई नियमन गर्नका लागि कानुनद्वारा पेशागत परिषद्हरु स्थापना गरिएका हुन्। यस्ता परिषद्हरुले पेसाको मर्यादा र विश्वसनीयता अभिबृद्धिका लागि काम गर्नु पर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन। 

माथि गरिएको चर्चाले नैतिक–निर्णयको विषयवस्तु सजिलो नभएको र त्यस्ता निर्णयहरुको मूल्याङ्कन जटिल रहेको बताउँछ। नैतिक आचरण (Moral conduct) लाई सापेक्षिक रुपमा हेर्नु पर्ने हुन्छ अर्थात् यसलाई ठिक र बेठिकको दुई कित्तामा विभाजन नगरी कुनै पनि घटना वा कार्य–अकार्यमा कुन व्यक्तिको नैतिक आचरण अर्कोको भन्दा कति ठिक वा कति वेठिक भनी तुलनात्मक रुपमा हेर्नु पर्ने हुन्छ। 

कतिपय अवस्थामा पेशागत मानिसहरुले घोर लापरवाही (Gross negligence) गरेको पनि देखिन्छ। त्यस्तो अवस्थामा संभवतः कानुनी हिसाबले पनि गल्ती भएको प्रमाणित हुन सक्छ। साथै पेशागत आचार संहिता पनि आकर्षित हुन सक्छ र त्यसको प्रतिफल कानुनी कारबाहीको साथसाथै हेलचेक्र्याइँ वा लापरवाहीको परिमाण अनुसार पेसागत रुपमा सचेत गराउनेदेखि पेशाको अभ्यास गर्नबाटै रोक लगाउने सम्मको कारवाही गर्नु पर्ने हुन सक्छ। त्यसको अतिरिक्त हेलचेक्र्याइँ वा लापरवाहीको कारण भएको क्षतिको हर्जाना समेत तिराउनु पर्ने हुन सक्छ। 

त्यसैले पेशागत दायित्व बीमालाई कडाइका साथ प्रभावकारी रुपमा लागु गराउनु पर्ने हुन्छ। 

अन्त्यमा, जनप्रतिनिधिहरुले पाइलैपिच्छे नैतिक–निर्णयहरु गर्नु परिरहेको हुन्छ र उनीहरुको निर्णयले देश, समाज र जनताको भाग्य निर्धारण गर्दछ। अतः जनप्रतिनिधिहरुको नैतिक आचरण र सामाजिक मान्यता ज्यादै उँचो र विश्वसनीय हुन जरुरी छ भने भौतिक पूर्वाधारको विकास तथा निर्माणको काममा पेशागत सल्लाह र सुझाव एवम् आयोजनाहरुको डिजाइन, नक्सा र सुपरिवेक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने इञ्जिनियर–आर्किटेक्टको पेशागत दक्षता (Competency) र पेशागत निष्ठा (Integrity) भरपर्दो एवम् गर्व गर्न लायक हुनु पर्ने हुन्छ। 

राजनैतिक नेतृत्वको दबाबलाई थेग्न सक्ने र प्रलोभनबाट मुक्त भएको हुनु पर्दछ। अन्यथा नेपालको भौतिक पूर्वाधारको विकास निर्माण कार्य इनार खनेर इनारभित्र दृष्यावलोकन–बुर्जा (भ्यू–टावर) निर्माण गर्ने जनप्रतिनिधिको दूरदर्शितामा इञ्जिनियर–आर्किटेक्टले प्राविधिक पेशागत दक्षता प्रदर्शन गर्दै हिंड्नु पर्ने स्थिति नआउला भन्न सकिदैन। 

सामान्य उदाहरण हेरौँ– सेनाको मुख्यालयले पुरानो चलनचल्तीको सडकमा सर्वसाधारणलाई हिंड्न रोकेपछि माइतिघर मण्डलाबाट भद्रकाली निस्कने गरी बनाइएको (नयाँ) सडक वा राजधानीकै सडकमा निर्माण गरिएका पेटीहरु (फुटपाथ) लाई लिन सकिन्छ।

जनप्रतिनिधि तथा इञ्जिनियर–आर्किटेक्टले गर्ने नैतिक–निर्णयलाई नेपालको सन्दर्भमा नयाँ ढङ्गले नयाँ विषयवस्तुको रुपमा यस लेखमा उठाइएको हुँदा यस विषयमा थप बहस एवम् विचार विमर्श गर्न समेत जरुरी देखिएको छ।  

(लेखक पूर्वाधार कानुनविद् तथा पूर्वाधार व्यवस्थापनविद् हुन्)

०००



प्रकाशित: २०७७ कार्तिक १८
November 3rd 2020

डा. राजेन्द्रप्रसाद अधिकारी

(लेखकः निर्माण व्यवस्थापन विषयको प्राध्यापक एवं करार व्यवस्थापन तथा विवाद समाधान क्षेत्रमा कार्यरत छन्)