
४ वटा प्रदेशमा एकैपटक ५ औद्योगिक क्षेत्रको शिलान्यास
निर्माण सञ्चार, ९ फागुन, ०७७, काठमाडौं । यसै साता प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले एकैपटक ४ वटा प्रदेशमा ५ वटा औद्योगिक क्षेत्र स्थापनाको शिलान्यास गर्ने भएका छन् ।
जसअन्तर्गत यही फागुन १० , ११ ,१३, १४ र १६ गते उक्त ५ औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । जसमध्ये प्रधानमन्त्रीले दुई वटा, अर्थमन्त्री पौडेलले एउटा र उद्योग मन्त्री लेखराज भट्टले दुईवटा औद्योगिक क्षेत्रहरुको शिलान्यास गर्ने कार्यक्रम तय भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताएका हुन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम जाँदैछन् । प्रधानमन्त्रीले फागुन १० गते सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी–छेला औद्योगिक क्षेत्र’ र फागुन १६ गते प्रदेश १ को झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रलाई समेटिएको ‘चीन–नेपाल औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले फागुन ११ गते लुम्विनी प्रदेशको बाँकेस्थित ‘नौबेस्ता औद्योगिक क्षेत्र’ र फागुन १४ वागमती प्रदेशको मकवानपुरस्थित ‘मयुरधाप औद्योगिक क्षेत्र’ को शिलान्यास गर्ने भएका छन् ।
त्यस्तै फागुन १३ गते अर्थमन्त्री पौडेलले लुम्विनी प्रदेशस्थित रुपन्देहीको ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास गर्ने छन् । यी पाँचवटा औद्योगिक क्षेत्रहरु पाँच वर्षभित्र निर्माण सम्पन्न हुने औद्योगिक विकास लिमिटेडका अध्यक्ष बस्नेतको दाबी छ ।
प्रकाशित: २०७७ फाल्गुण ९
-
पाँच वर्षभित्र निर्माण सम्पन्न हुनेः २५ अर्ब वैदेशिक लगानी
-
५ मध्ये २ वटा विदेशी लगानी र ३ वटा स्वदेशी लगानीमै बन्ने
प्रकाशित: २०७७ फाल्गुण ९
February 21st 2021
प्रतिक्रिया दिनुहोस्