नेपाली समय: १२:२७:३८ am
वि.सं २०८१ चैत्र ३   सोमवार

वैकल्पिक ऊर्जाका आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जडानको गुरुयोजना तयार गर्न केन्द्र र प्राधिकरणबीच सम्झौता

निर्माण सञ्चार, ९ चैत, काठमाडौं

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा देशको दुर्गम स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जडान सम्बन्धी गुरुयोजना तयार गर्न तथा जुम्ला जिल्लामा निर्माण भएका ७ वटा लघु तथा साना जलविद्युत आयोजनाहरुलाई मिनीग्रिडमा आबद्ध गर्ने परियोजनालाई कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरण¸ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एन.इ.ए. इञ्जिनियरिङ कम्पनीबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारी अनुसार जुम्ला मिनीग्रिड परियोजना कार्यान्वयनको साथै आगामी आर्थिक वर्षमा १०० वटा सम्भाव्य लघु जलविद्युत आयोजनाहरु पहिचान गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने लक्ष्य रहेको छ ।

समझदारी पत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी तथा नेपाल विद्युत प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका हुन् ।

पटकपटक विद्युत आपूर्तिको समस्या झेल्दै आएको जुम्ला सदरमुकाममा प्राधिकरणद्वारा निर्मित एक साना जलविद्युत आयोजना तथा केन्द्रको सहयोगमा निर्मित ६ वटा आयोजनाहरुलाई मिनीग्रिडमा आबद्ध गर्नको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न एन.इ.ए इञ्जिनियरिङ कम्पनी र केन्द्रबीच गत २०७७ कार्तिक २ गते सम्झौता भएको थियो ।

मिनीग्रिड निर्माण पश्चात् जुम्ला सदरमुकाममा विद्युत आपूर्ति सहज हुने अपेक्षा रहेको छ ।

आयोजनाको दिगो सञ्चालन र वितरण प्रणालीको कार्यक्षमतामा वृद्धि  

समझदारीपत्रमा हस्ताक्षरको क्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले आयोजनाहरुको राष्ट्रिय प्रशारण लाइनमा आबद्ध गर्ने कार्य शुरुवातले केन्द्र तथा विभिन्न विकास साझेदारहरुको सहयोगमा निर्माण भएका तथा निर्माणाधीन लघु तथा साना जलविद्युत आयोजनाहरुको दिगो रुपमा सञ्चालन तथा प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनको वितरण प्रणालीको कार्यक्षमता वृद्धि गर्न सहयोग पुग्ने बताएका छन् ।

साथै उनले उपरोक्त कार्यबाट विद्युत आपूर्ति प्रणालीलाई थप विश्वासिलो र भरपर्दो बनाउन समेत योगदान पु¥याउने बताए ।

व्यावसायिक प्रस्ताव र प्राविधिक सहयोग महत्वपूर्ण  

त्यसैगरी समझदारीपत्रमा हस्ताक्षरको क्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा आबद्ध गर्दा बिजिनेस मोडालिटी (डाइरेक्ट पिपिए वा हाइब्रिड मोडालिटी) मा स्पष्ट हुनुपर्ने बताउँदै स्थानीय तह र उपभोक्तासँग समन्वय र ग्रिड कनेक्सनको लागि प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्नुपर्ने बताए ।

सो को लागि केन्द्रले उपयुक्त व्यवसायिक प्रस्ताव (बिजिनेस प्रोपोजल) तयार गर्ने अपेक्षा रहेको उनको भनाइ छ ।

लघु जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जडानको लागि प्राधिकरण सदैव उत्साहित रहेको बताउँदै उहाँले सो को लागि आवश्यक  प्राविधिक÷उपकरण÷लागत सम्बन्धी मापदण्ड एन.इ.ए इञ्जिनियरिङ्ग कम्पनीले तयार गर्ने उनको भनाइ छ ।

समझदारीमा के छ ?

समझदारी अनुसार जुम्ला जिल्लामा निर्माण हुन लागेको मिनीग्रिड परियोजनाको विस्तृत अध्ययनलाई प्रतिवेदन यथासक्य चाँडो अन्तिम रुप दिइ कार्यान्वयनमा लैजाने, लघु जलविद्युत निर्माण भएको क्षेत्रमा राष्ट्रिय प्रशारण लाइन पुगेपछि विद्युत गृहसम्म लाइन विस्तारको लागि प्राधिकरणले सहयोग गर्ने, प्रशारण लाइनमा जोड्ने लगायतका प्राविधिक कार्य केन्द्रको तर्फबाट गरिने समझदारी भएको छ ।

त्यस्तै गुरुयोजना अनुसार केन्द्रको सहयोगमा निर्माण भएका कम्तीमा १०० वटा आयोजनाहरु पहिचान गरेर राष्ट्रिय पशारण लाइनमा जोड्ने कार्यलाई अघि बढाउने लक्ष्य रहेको छ । सो कार्यको लागि दुवै निकायले आवश्यक स्रोतको व्यवस्था गर्ने समेत सहमति भएको छ ।

०००
 



प्रकाशित: २०७७ चैत्र ९
March 22nd 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार