नेपाली समय: १२:२६:१० am
वि.सं २०८१ कार्तिक २३   शुक्रवार

उठ्यो धरहराको शिरः वैशाख ११ मा उद्घाटन हुँदै

निर्माण सञ्चार, ३० चैत, ०७७ काठमाडौं । भूकम्पले ढलेको ऐतिहासिक सम्पदा धरहराको शिर उठेको छ । गोरखा भूकम्प ०७२ वैशाख १२ गते दिनको १२ बजे मध्याह्नमा गएको भूकम्पले धरहरा भत्कन पुगेको थियो । पुनर्निर्माण कार्य सम्पन्न हुनैलागेको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको छ ।

धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनका अनुसार अब केही दिनमै गजुरको जडान हुँदै छ । यतिबेला भने रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । 

उनले भने, ‘गएको ०७२ वैशाख १२ को भूकम्पले धरहरा ढलेको थियो । तर, अब हामी नेपालीले यसको एक दिन अगाडि अर्थात् ०७८ वैशाख ११ गते नै उद्घाटन गर्ने छौं ।’

उनका अनुसार वैशाख ११ गतेलाई शोक दिवस जसरी लिइएकाले एक दिन अगाडि धरहरा उद्घाटन गरिने भएको हो ।

काम केके बाँकी ?

मानन्धरले धरहराको पार्किङ र बगैँचातर्फको काम निरन्तर रहिरहने बताए । जुन काम सकिएको छैन । धरहरा वरपरको २९ रोपनी क्षेत्रमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले यसको निर्माण ठेक्का पाएको थियो ।

पार्क पनि बन्दै

सरकारले गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा समेत धरहरा क्षेत्रमै गाभेर त्यहाँ पार्क बनाउँदै छ । अब बन्ने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ जस्ता अत्याधुनिक सुविधा हुनेछन् ।

बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बनेको भएपनि धरहराको भित्री निर्माण भने सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना चाहिँ २२ तलाको छ । 

स्मरणरहोस्, १९९० सालको भूकम्प अघि धरहरा ११ तलाको थियो । सो भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको धरहराले यो निर्माणसँगै २२ तले आकार ग्रहण गरेको छ । यसमा २ तला अन्डरग्राउन्ड बेसमेन्ट निर्माण भएको छ ।

धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट रहेका छन् । भत्केको धरहराको भग्नावशेष पुरानो भागलाई चाहिँ सिसाले ढाकेर संरक्षण गर्ने योजना रहेको छ । 

०००



प्रकाशित: २०७७ चैत्र ३०
April 12th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार