नेपाली समय: ०६:२०:३४ बिहान
वि.सं २०७९ जेठ १०   मंगलवार

नेपाल स्काउट पनि अब कोभिड शव व्यवस्थापनमा जुट्यो

निर्माण सञ्चार, १९ जेठ ०७८, काठमाडौं
 
नेपाल स्काउटले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापन सुरु गरेको छ । केही दिनअघि विराटनगरबाट शव व्यवस्थापन आरम्भ गरेको स्काउट विशेष टोलीले आज काठमाडौंमा पनि शव व्यवस्थापन गरेर स्काउट शव व्यवस्थापनमा उत्रिएको सन्देश दिएको हो ।

स्काउटको उक्त विशेष टोलीले ग्र्याण्डी अस्पतालमा कोरोना उपचार क्रममा मृत्यु भएका काठमाडौं सोह«खुट्टेका ५८ वर्षीय सुशील वीर कंसाकारको शव व्यवस्थापन गरेको नेपाल स्काउट स्पेशल टास्क फोर्स संयोजक अजित लामाले जानकारी दिएका हुन् ।

संयोजक लामाका अनुसार आजको शव व्यवस्थापनका लागि नेपाल स्काउट वागमती प्रदेश संयोजक केशरत्न बज्राचार्य स्वयम् नै सहभागी भएका थिए । उनका साथमा उक्त स्पेशल टास्क फोर्स संयोजक लामा, सगरमाथा आरोही समेत रहेका वागमती प्रदेश सदस्य प्रकाशराज पाण्डे, र स्काउट ललितपुर महानगरका सदस्य विगेन्द्र महर्जन रहेका थिए ।

कोभिड–१९ संक्रमितहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ । तर, मृत्यु पछि शवको कोरोना नेगेटिभ देखिएको अस्पतालले जनाएपछि सो शव नेपाली सेनाले व्यवस्थापन गरेको थिएन । कोरोना संक्रमितकै मात्र शव व्यवस्थापन नेपाली सेनाले गर्ने गरेकोमा कोरोना नेगेटिभ पुष्टि भएपछि परिवारजनका लागि शव व्यवस्थापन गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको थियो ।

तर, मृतकका आफन्त कोरोना त्रासका कारण शव व्यवस्थापनमा नजुटेपछि सोको व्यवस्थापनका लागि नेपाल स्काउटका वागमती संयोजक रहेका बज्राचार्यसँग पीडित पक्षको सम्पर्क भएको थियो ।

त्यसपछि बज्राचार्य सहितको उक्त चार जनाको नेपाल स्काउट टोलीले २ दिनदेखि नउठेको शवलाई अस्पताल परिसरबाट बुधबार अपराह्न उठाएको थियो ।

शव व्यवस्थापनका लागि तयार स्काउट सदस्यहरुले विशेष तालिम नै प्राप्त गरेका छन् । 

देशमा भइपरिआउने जुनसुकै प्रकोपका लागि उद्धार तथा व्यवस्थापनमा सहयोग गर्न भन्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले विपद व्यवस्थापन सहजीकरणका लागि स्पेशल टास्क फोर्स गठन गरेका थिए । जसको संयोजक अजित लामा हुन् ।

स्काउटले दुई हप्तादेखि यता ‘ननकोभिड बीमारी’हरूलाई एम्बुलेन्स सेवा सुचारु गरेको छ । केन्द्रीय संयोजक भण्डारीका अनुसार स्काउटले कोरोना माहामारीसँगै कोभिड विरुद्ध जनचेतनामूलक अभियान, चिकित्सकीय परामर्श सेवा, हेल्प डेस्क, डिसइन्फेक्ट कार्य र शवदहमा निःशुल्क पानी वितरण जस्ता कार्यहरु सञ्चालन गर्दै आएको छ ।

 शव व्यवस्थापनमा सरिक विशेष तालिम प्राप्त स्काउट सदस्यहरुको टोली
 

OOO



प्रकाशित: २०७८ जेठ १९
June 2nd 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार