नेपाली समय: १०:५५:१३ बिहान
वि.सं २०७८ आश्विन ७   बिहीवार

हस्त पण्डित भन्छन्– ‘मेरी मैया दिदी र बेपत्ता दाजुभाइहरु टुप्लुक्क आएर कोट्याइदिए कति खुसी हुन्थेँ ... !’

निर्माण सञ्चार, ३ असार ०७८, हेलम्बु । हेलम्बु बजार मुलुककै ऐतिहासिक र सिँढी चढ्दै गरेको पर्यटकीय स्थलमध्ये एक पनि हो । यो बजार कहिले र कसरी सुरु भयो ? मानिसहरु बजारकै वरपर कसरी बस्ती बसाउँदै अघि बढे ? कसरी यो बजारले सिन्धुपाल्चोकको मन तान्दै पर्यटकीय गन्तव्यका रुपमा अघि बढिरहेको थियो ? भन्ने यो समवेदनात्मक टिप्पणिले तपाईको मनको वेदनाको बाढी बाँधै फोरेर बाहिर निस्कन सक्छ । 

हेलम्बु बजार, ०७२ सालको भूकम्पबाट उठिसकेको मात्रै के थियो, अषाढ १ गते आएको ‘महाविनाशकारी’ बाढीले खण्डहरमा परिणत गरिदियो । यो सभ्यताको उद्गमस्थल कसरी स्वाहा भयो भन्नेबारे स्थानीय समाजसेवी राजनीतिक युवा नेतृत्व तथा हेलम्बु बजार निर्माणको पछिल्लो युवा पुस्ता समेत रहेका हस्त पण्डितले गरेको भावनात्मक विह्वल विवेचना हेरौं उनकै शब्दमा–

......
मेरो सुन्दर हेलम्बु बजार क्षणभरमै भयो स्वाहा !

हेलम्बुमा तत्कालीन सात गाउँ पञ्चायतभित्र कतै पनि स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री नपाइने बेला नेपाल परिवार नियोजन संघको आग्रहमा मेरा हजुरबुबाले जग्गा दिएपछि २०३७ सालमा हस्पिटल बन्यो । 

त्यसपछि हाम्रो निजी घर बन्यो । त्यही बाटो भएर हेलम्बु र आसपासका गाउँहरु ओहोरदोहोर गर्ने ठाउँ भएकोले व्यापारीहरुको आकर्षण बढ्न पुग्यो । एक पछि अर्को गर्दै पहिले एक लहरमा बनेका घरहरु पछि दुई तर्फी हुँदै करीब ५० घरसहितको सुन्दर बस्तीका रुपमा यो क्षेत्र उदायो । 

राम्रो व्यापारिक कारोबारको केन्द्र थियो हेलम्बु बजार । २०७२ सालको विनाशकारी भूकम्पले सबै घर तहसनहस बनाएको आलो घाउ विस्तारै खाटा लाग्दै थियो । 

तर, ६ वर्षको दौरानमा भूकम्पले भत्किएका सम्पूर्ण संरचना पुनर्निर्माण गरिसकेसँगै, बस्ती, यहाँका जनता अब त उठियो है भन्न नपाउँदै आषाढ १ गते आएको ‘महाविनासकारी’ बाढीले मेरो सुन्दर बजार तहसनहस मात्र भएन, मेलम्ची क्षेत्रका धेरै मोटरपुल र झोलुङ्गे पुलहरु बगाएको छ । 

हेलम्बुको शान ट्राउट माछापालनको नामोनिसान मेटिएको छ । 

हजारौ रोपनी खेतीयोग्य जमिन बगाएको छ । गाई, भैंसी, बाख्रा, कुखुरा पालक किसानहरुको भाग्य लुटिएको छ । त्यो भन्दा पनि बढी मेरी प्राण प्यारी मैया दिदी, एउटै मुटुजस्तो भएर बसेको मेरो हरपलको साथी ज्ञानेन्द्र कक्षपति, प्रिय भाइहरु माधव भण्डारी, गणेश ज्योतिलगायत २६ जना बेपत्ता हुनुहुन्छ । 

यत्रो दिन बेपत्ता हुँदा मन त अमिलो भएकै छ तर यसो टुप्लुक्क आएर कोट्याइदिए म कति खुसी हुन्थे होला !

हामी सबै प्यारले बोलाउने सानु दाइको ट्राउट फर्ममा कत्रो लगाव थियो ! बिहान ६ बजे उठेर फर्म पुग्ने, ११/१२ बजे खाना खान आउने अनि फेरि एक घण्टामै फर्म पुग्ने र दिनभरि काम गरेर घर फर्कने उनको दैनिकी थियो ।

फर्ममा माछा उत्पादन, होटल, लज व्यवस्थित मात्र होइन, उत्तिकै रमणीय पनि बनाउनु भएको थियो । आजकै मितिमा उनको हेलम्बुलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन उच्चस्तरीय होटल संचालन गर्ने सपनाको पनि अवसान भएको छ। 

  • मेरी प्राण प्यारी मैया दिदी, एउटै मुटुजस्तो भएर बसेको मेरो हरपलको साथी ज्ञानेन्द्र कक्षपति, प्रिय भाइहरु माधव भण्डारी, गणेश ज्योतिलगायत २६ जना बेपत्ता हुनुहुन्छ । यत्रो दिन बेपत्ता हुँदा मन त अमिलो भएकै छ तर यसो टुप्लुक्क आएर कोट्याइदिए म कति खुसी हुन्थे होला !
मेरो मैया दिदी जो खोलाप्रति अगाध आस्था राख्नुहुन्थ्यो र बाढीले यो हदको रुप लिन सक्छ भन्ने कल्पना पनि गर्नु हुन्थेन । हुन पनि हो दिदीले मात्र होइन हेलम्बुका कोही कसैले पनि यो तहको बाढी देखेका थिएनन् । 

त्यतिखेर मेरो श्रीमती, ज्वाइँ र दुई छोरीहरु त्यही बजारकै घरमा थिए । जुन क्षण सम्झँदा मात्रै पनि आँङ जिरिङ गरेर उठ्छ ।

मित्रहरु गंगानाथ भण्डारी र भालु शेर्पाले चोक्पुको पुल बगायो रे, ठुलो बाढी आछ रे, चनौटेका सबै मानिसहरुलाई बजार खाली गर्न खबर भन्दिनुस् भनेपछि म तुरुन्त मानिसहरुलाई खबर गर्न हत्तासिएँ । भटाभटी फोन गर्न थालें । 

घरमा कसैको फोन लागेन । सीता कार्कीको फोन लाग्यो तुरुन्त भागिहाल भनें । बल्लतल्ल अनिताको फोन उठ्यो उनीहरु त त्यही पो रहेछन् ! 

एकै स्वासमा सबजना मास्तिर भागिहाल भनेको त मैया दिदीले अलि नपत्याए जस्तो गर्नुभएछ । उनीहरु सबै भागेपछि भाग्न खोज्दा भ्याउनु भएनछ ! उफ ! 

गोमालाइ धेरै चोटि फोन गरें तर पछिल्लो पटक रुँदै र भाग्दै गरेको अवस्थामा कुरा भो ! 

यतिबेला म टोलिएर सोच्दैछु । यदि ती साथीहरु (गंगानाथ भण्डारी र भालु शेर्पा) ले समयमै खबर नगरेको भए वा दुई मिनेट मात्र फोन सम्पर्क नभएको भए ! हैट, म कल्पना पनि गर्न सक्दिनँ, मेरो बस्ती, मेरो घर र बाँकी आज जो वरपर देखिरहेको छु, कोही पनि ...!


हरे विपत्ति, देख्दा सुन्दर छ प्रकृति, तर बौलायो भने यसको विपत्तिको कुनै हद र कुनै सीमा पनि नहुँदो रहेछ ! सिन्धुपाल्चोकमा हेलम्बु जतिको बसेको बजार यसरी क्षणभरमै स्वाहा भयो भने बर्सेनी जस्तो खस्ने जुरे पहिरो, बाह«बिसे बजार, दोलालघाट र अन्य क्षेत्रहरुको सुरक्षा पनि कति नै पो बलियो छ र ? सम्बन्धित निकाय यो क्षेत्रमा हुन सक्ने अन्य भवितव्य तर्फ सचेत रहोस्, धनजनको सुरक्षार्थ गतिलो कदम चालोस् ...!’

बाढीले जग न जिलो बनेका स्थानीयहरु, आँखा अगाडिको विनास र अन्योल भविष्य प्रति चिन्तित

...

(स्थानीय समाजसेवी तथा लोकप्रिय नेताको छवि बनाउन सफल पण्डितको भलाकुसरी र उनको सामाजिक सञ्जालमा व्यक्त भावनाका आधारमा यो सामग्री तयार गरिएको हो) 


०००



प्रकाशित: २०७८ आषाढ ४
June 18th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार