नेपाली समय: १०:३८:१५ बिहान
वि.सं २०७८ आश्विन ७   बिहीवार

राष्ट्रपति विरुद्ध विषवमन गर्दै हिँडेका एउटा ‘आचार्य’लाई अर्का ‘आचार्य’ले दिए यस्तो दनक

निर्माण सञ्चार, ६ असार ०७८, काठामाडौं

मनसुनकै आरम्भमै सिन्धुपाल्चोक हेलम्बुदेखि मेलम्ची क्षेत्रमा भएको बाढी पहिरो र त्यसले पुराएको धनजनको क्षतिमाथि हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका निकायसँग राखेको चासोको विषयलाई केही कानुनविद्हरुले गरेका टीकाटिप्पणीमाथि राष्ट्रिय युवा संघ नेपालले खरो प्रतिवाद गरेको छ । 

उक्त प्राकृतिक विपदाबारे राष्ट्रपतिले सरकारको केही दिन अघि मात्रै गृहमन्त्रालय र सुरक्षा अधिकारीहरुसँग जिज्ञासा राखेको विषयलाई लिएर संविधानविद् भीमार्जुन आचार्यले गरेको टीकाटिप्पणि यतिबेला विवादित बनेको छ । कानुनविद् आचार्यका भनाइलाई युवा संघले खेद व्यक्त गर्दै मुलुकको विपत्तिमाथि जिम्मेवार निकाय र व्यक्तिहरु जोकसैले पनि राख्ने चासो मानवीय चासो भन्दै संविधानविद्का नाउँमा मानवताविरोधी वक्तव्यबाजीमा नउत्रन संघका महासचिव रमेश आचार्यले चेतावनी नै दिएका छन् । 

‘विपत्ति मानवीय संवेदनाको विषय हो, तर सस्तो लोकप्रियताका लागि यस्ता विषयमाथि पनि नकारात्मक टिप्पणी हुनु झनै नकारात्मक छ,’ महासचिव आचार्यले भने ।

महासचिव आचार्यले गरेको प्रतिवादको पूर्ण अंश यहाँ प्रस्तुत गरिएको छ–

यो वर्ष मनसुनको आरम्भमै सिन्धुपाल्चोक हेलम्बुदेखि मेलम्चीसम्मको भूभागले मुलुकको मनोविज्ञानलाई नै अर्कैदिशातिर मोडिदियो । लगातार केही दिनको वर्षाले मुलुकका केही भूभागहरुमा क्षतिमात्र पुराएन, हेलम्बु–मेलम्ची प्रकोपले मुलुकको सम्पूर्ण ध्यान त्यतातिरै तानिदियो । नसोचेको स्थानमा एक्कासी भएको पहिरो र नदी प्रवाह थुनिन पुगेपछि त्यसले निम्त्याएको विनाशलीलाबाट पुगेको धनजनको क्षति, र बचेका जनताहरुको पुनस्र्थापनाबारे राज्यका सबै तह र तप्का चिन्तित बनेका छन् ।

यसैबीच सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले प्राकृतिक प्रकोपजन्य क्षति र त्यसबाट सिर्जित परिस्थितिको व्यवस्थापनमा विशेष ध्यान दिनु भएको देखियो । सरकार तथा विभिन्न संस्थाहरु समेत हातमा हात मिलाएर बाढीपहिरो पीडितहरुको उद्धार, राहत, सुरक्षा तथा पुनव्र्यवस्थापनमा जुटिरहेका बेला राष्ट्रप्रमुखले उक्त विपदाबारे भएका प्रगति र जनताको अवस्थाबारे जानकारी राख्नु वा जिज्ञासा गर्नु आफैंमा दायित्वबोध त हुँदै हो, साथै मुलुकको संविधानले मुलुक र जनताको अन्तिम संरक्षक निकायका रुपमा स्थापना गरेको राष्ट्राध्यक्षले जनताको विपत्तिमा राख्ने चासोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको विपत्तिमा सबैको ध्यान खिच्ने सन्देश जाने कुरा पनि त्यतिकै सत्य हो ।

तर, केही सम्भ्रान्त सुकिला वकिल अर्थात् स्वघोषित संविधानविद्का नाउँमा राष्ट्रपतिले लिएको सामान्य जिज्ञासामाथि हिलो छ्याप्ने काम भएको छ । मुलुक जहिले असजिलोमा परेको हुन्छ, त्यसमाथि सहजकर्ता वा सम्मानित भूमिका खेल्न नजानेका कालोकोटेहरुको एउटा डलरे सर्कलले नेपाली समाजमा छाडेको छवि र उनीहरुको छेपारे चरित्रलाई सँगसँगै तुलना गरेर हेर्ने हो भने सम्माननित राष्ट्रपति संस्थालाई जोडेर व्यक्त मानवताविरोधी अभिव्यक्तिको भण्डाफोर गर्ने युवा संघ नेपालले अभियान घोषण गर्नुपर्ने महसुस भएको छ ।

  • प्राकृतिक विपदाबारे राष्ट्रपतिले सरकारको गृहनिकायसँग जिज्ञासा राखेपछि संविधानविद् भीमार्जुन आचार्यले गरेको टीकाटिप्पणि यतिबेला विवादित बनेको छ । कानुनविद् आचार्यका भनाइलाई राष्ट्रिय युवा संघले खेद व्यक्त गर्दै मुलुकको विपत्तिमाथि जिम्मेवार निकाय र व्यक्तिहरु जोकसैले पनि राख्ने चासो मानवीय चासो भन्दै संविधानविद्का नाउँमा जनविरोधी वक्तव्यबाजीमा नउत्रन संघका महासचिव रमेश आचार्यले चेतावनी नै दिएका छन्
बाढी पहिरो प्रभावित क्षेत्रप्रति सबैको चासो र क्रियाशीलता हेर्दा मुलुकले भोगेको विपत्ति माथि सरकार सहित विभिन्न सरोकारवाला संघ संस्थाहरुको ठूलो पंक्ति (सकारात्मक सोच भएका सबै पक्ष) तत्कालै उद्धार तथा राहतमा उत्रनुले मुलुकलाई परेका बेला सरकार, सेना, प्रहरी तथा सम्बन्धित निकयालाई साथ दिने ठूलो पंक्ति रहेछ है भन्ने सन्देश त गएको छ नै, तर सरकारले गर्दागर्दै पनि देखिएका केही कमजोरी वा प्राकृतिक विपदाका कारण समयमै गर्न नसकिएका कामप्रति दूलो खोजेर मुखा मार्न छिर्ने सर्प प्रवृत्तिका मान्छेहरु भने यही हो मौका भनेजसरी आरोप प्रत्यारोपमा पनि उत्रिएको देखिएको छ । 

विपदापूर्ण समयको यो माग कुनै व्यक्ति वा संस्थालाई बलियो बनाउने र कुनै व्यक्ति वा संस्थालाई कमजोर बनाउने विषय थिएन । तर केही कथित संविधानविद्हरुले मानव जीवनको रक्षा गर्ने विषयलाई राष्ट्रपतिसँग जोडेर मानवता विरोध अभिव्यक्ति प्रदर्शन गरेका छन् । जुन दुःखद छ ।

संविधानविद्को नाम कमाउनु भएका आचार्यज्यूसँग मेरा धेरै प्रश्नहरु छन् । के संविधानमा उल्लेखित अभिभारा बहन गर्ने सन्दर्भमा प्राकृतिक बिपत्तिबाट आफ्ना नागरिकलाई जोगाउन सरकारले गरेको तयारीबारे सम्माननीय राष्ट्रपतिले सम्बन्धित निकायका प्रमुखहरुसँग जानकारी लिनु गलत हो ? 

तपाई त यही संविधान र यो संघीय व्यवस्थाको उपहास गर्दै खिलाफमा उत्रनुभएको व्यक्ति हैन र ? जुन व्यवस्था गर्भमै थियो, यो व्यवस्था र संविधानका लागि बलिदान दिनेहरुका विरुद्ध समेत अनर्गल बोल्दै हिँड्नु भएका तपाई भीमार्जुन आचार्यलाई त यो संविधान र व्यवस्था माथि बोल्ने नैतिकता पनि कतै बाँकी रहेको होला र ? किनभने, हरेक व्यक्तिले आफ्नो व्यतित्व आफैंले निर्माण गर्ने वा भत्काउने हो । यसै कसौटीमा परख गर्ने हो भने तपाई त यो संविधान र व्यवस्था विरुद्धको छवि बनाउनु भएको मान्छे, तपाईले बोल्दै गर्दा यो दुनियाँले के बुझ्दछ भने, ‘लौ अब भीमार्जुन आचार्यले फेरि व्यवस्था र संविधान विरुद्ध बोल्न थाल्यो’ भनेर बुझ्ने हो नि हैन र ? 

तपाईकै चरित्र र व्यक्तित्वसँग तुलना गर्नलायक केही महान व्यक्तिहरु नेपालमा हुनुहुन्छ । चित्रबहादुर केसीदेखि उपेन्द्र यादव, बाबुराम भट्टराईसम्मलाई आज कुन इमानको तराजुमा तौलेर हामी जस्ता नेपाली युवाहरु जो यो व्यवस्थाका लागि जीवन उत्सर्ग नै गरेर होमिएका थियौं– हरुले– तपाईको इमान र सच्चाइलाई बुझ्ने हो ? लौन महाशय, हामीलाई भ्रम पर्न गयो, तपाईको यो बदलिदो मौसमी अनुहार, मौसमी अभिव्यक्ति र मौसमी चरित्रले गर्दा !

तपाईहरुलाई जनताले सो–कल्ड अर्थात् कथित बुद्धिजीवी भन्दा के फरक पर्ला ? जबकि तपाईहरु त मुलुककै अस्थिरताको लागि कसैको ज्यालापानीमा रातदिन लागिरहनु भएको छ । यहाँ त नेपाली जनता अर्काको ज्यालापानी खाएर चलेका छैनन् । आफ्नो श्रमपसिनामा आफ्नै ज्यालामा जीवन गुजारी रहेका छन् ?!

तपाईहरु नै त्यस्तो रंगबदला व्यक्ति हो नि हैन र ? यदि महामारीमा वा विपत्तिमा राष्ट्रपतिले कुनै चासो नै नराखेको पाएमा ‘राष्ट्रपतिले राष्ट्र र जनताको अभिभावकत्व निर्वाह गर्न चुक्नुभयो’ त भन्नु नै हुन्थ्यो । 

फेरि संविधानले नै मुलुकको सर्वाेच्च संरक्षकका रुपमा राखेको व्यक्तिले त्यही काम गर्दा वा विपत्तिमाथि जिज्ञासा गर्दा तपाई अहिले के भन्दै हुनुहुन्छ ? ‘राष्ट्रपतिले यसरी मुलुकको विपत्तिमाथि सोधनी गर्न मिल्छ ? मिल्दैन, उहाँ त देखे पनि अनदेखा गरेर मौन भएर, चुप लागेर बस्ने हो नि !’  

तपाईका हेरक पाइला पाइलाका चरित्र यो वाक्यांशसँग तुलना गरेर हामी जतिका युवाहरु हेर्न नमिल्ने कुनै संविधानमा लेखिएको छ र संविधानविद्ज्यू ? यसरी पाइलैपिच्छे रंग बदल्ने यहाँहरुलाई हामीले के भनेर सम्बोधन गर्ने ‘नक्कचरो’ ?

तपाईले भन्नु भयो, ‘कार्यकारी भूमिका निर्वाह गरेर संविधानको उल्लंघन गर्नुभयो ...!’

मलाई पनि तपाई प्रति यस्तै विष वमन गर्न मन छ, ‘के सम्माननीय राष्ट्रपतिज्यूले गृहप्रशासन वा सम्बन्धित निकायका व्यक्तिहरुलाई बोलाएर कसको सरुवा कहाँ गर्ने ? क–कसलाई बढुवा कसरी गर्ने ? जस्ता विषयमा सोधनी गर्नुभएको हो र ? के उँहाले प्राकृतिक बिपत्तिबाट आफ्ना नागरिकलाई जोगाउन सरकारले तयारी के–कस्तो छ भन्ने जानकारी लिनु कार्यकारी कदम हो नै हो ? 


यदि तपाईंहरु सम्माननीय राष्ट्रपतिले गर्नुभएको उक्त छलफललाई कार्यकारी अभ्यास भन्नुहुन्छ भने हामी निष्कर्ष निकाल्छौँ ‘तपाईंहरु सो–कल्ड संविधानविद् अर्थात् संविधान विरोधीहरु (तपाईको त छवि नै यही हो नि) मानवता विरोधी संविधानविद् हुनुहुन्छ । 


कृपया आफूलाई उक्त दर्जामा झारी मुलुकमा फेरि अस्थिरता निम्त्याउन खोज्ने व्यक्तिहरुको साधन बनेर गणतन्त्र नेपालको संस्थाको मर्यादालाई गिराएर परिवर्तनका उपलब्धिहरुलाई उल्टाउन उद्धत नहुनुस् ! यदि तपाईंहरु हाम्रो यो आवाजलाई बेवास्ता गर्नुहुन्छ भने राष्ट्रिय युवा संघ नेपाल तपाईंहरु पनि को कस्तो हो ? कसको ज्याला पानीमा चल्ने गरेको छ जस्ता याबत कुराहरुको भण्डाफोर गर्न बाध्य हुनेछौं। कालो कोटको पनि त मार्यादा र सीमा हुन्छन् कि महाशाय ! कि कालोकोटे पेशा भनेको सेतो जति सबैथोकलाई कालो नै बनाउनु पर्ने पेशा हो ?

संविधानले मुलुकको रक्षक बनाएको निकायले मुलुकका जनताको विपत्तिमा चासो राख्न नहुने भन्ने तपाईको चेतलाई चेतना होस्, तपाईका आमाले तपाई बिरामी पर्दा के भयो बाबु, कस्तो छ भनेर निधार छाम्ने अधिकार राख्छिन् !

सम्बन्धित सबै कालोकोटेहरु जो सेतोलाई कालो बनाउने ध्याउन्नमा लागिरहेका छन्, सबैलाई चेतना भया !

तस्वीरमा क्रमशः संविधानविद् ‘आचार्य’ र राष्ट्रिय युवा संघ महासचिव ‘आचार्य’

०००



प्रकाशित: २०७८ आषाढ ६
June 20th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार