नेपाली समय: ०२:३१:२८ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

नेफ्स्कूनको ३०औं वार्षिक साधारणसभाः ‘सहकारी क्षेत्रका नीति, कानुनी र व्यावहारिक समस्या समाधान गर्न सरकार तयार’

निर्माण सञ्चार, ३ मंसिर, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक समारोहका बीच प्रज्ञा भवन कमलादीमा गरेका छन् । 

मन्त्री श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित पहिलो अर्थात् उद्घाटन सत्रको बिशिष्ट अतिथिमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल हुनुहुन्छ भने संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष शान्ति अधिकारी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटासँगै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु समेत सहभागी उक्त सत्रले सहकारीका नीतिगत कुरामा जोड दिएको थियो ।

प्रमुख अतिथि मन्त्री श्रेष्ठले सहकारी तथा साकोस अभियानका नीतिगत, कानुनी तथा व्याहारिक समस्याहरु समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
अभियानको विकास, प्रवर्धन र सुशासन स्थापना गर्न नीतिगत, काुननी र व्यावहारिक उल्झनहरु छन् भने छलफलका आधारमा तिनको निदान गर्न मन्त्रालय तयार रहेको उनले स्पष्ट पारे ।

अर्थतन्त्रमा सहकारीको योगदान

तीनखम्बे अर्थनीति लिएको नेपालको सरकारी, निजी र सहकारी क्षेत्रमध्ये अर्थतन्त्रमा सहकारीको योगदानबारे ठोस बहस भने भएको पाइँदैन ।

नेपालको सहकारी अभियानको करिब ७ दशक लामो इतिहासको चर्चा गर्दै मन्त्री श्रेष्ठले कुल ग्राहस्र्थ उत्पादनमा ५ प्रतिशतभन्दा बढी तथा कुल वित्तीय कारोबारमा २८ प्रतिशत योगदान, ८८ हजारलाई प्रत्यक्ष रोजागरी प्रदान गरेको तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रिय पुँजी निर्माण, बचत परिचालन र लगानी, सीमान्तकृत समुदायको सशक्तिकरण, नेतृत्व विकासमा सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको चर्चा गरेका थिए । 

उनले सहकारी सिद्धान्तहरु बाट निर्देशित हुनुपर्नेमा जोड दिदैँ सहकारी तथा साकोस अभियानको बढ्दो लोकप्रियतासँगै बाइप्रडक्टका रुपमा देखिएका केही समस्याहरु समाधानका लागि अभियानसँग सहकार्य र साझेदारी गर्न सरकार तयार रहेको बताए  ।

अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानको कदर गर्दै संविधानले यसको स्वीकार्यता गरेको अवगत गराउँदै मन्त्री श्रेष्ठले सफलतासँगै समस्या र चुनौती थपिएको, उत्पादनमा नभई बचत ऋण कारोबारमा बढी केन्द्रीत भएको र वित्तीय सुशासनमा केही संवेदनशील समस्याहरु देखापरेको भन्दै संविधानले मान्यता प्रदान गरेको क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउने जिम्मेवारी सरकार र नेफ्स्कून लगायत अभियानको भएको प्रष्ट पार्ने काम गरेका थिए । 

मन्त्री श्रेष्ठको जोड थियो– ‘अर्थतन्त्रको अत्यन्त्रै महत्वपूर्ण र संवदेशनील क्षेत्र हो सहकारी क्षेत्र । उत्पादन र उत्पादकत्व क्षेत्रमा सहकारी जोडिनुपर्छ, समृद्धिको यात्रामा राज्यसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’

सहकारी अभियानको विकासका लागि मन्त्रालयले भिजन पेपर तयारीको काम अघि बढाएको जानकारी गराउँदै उहाँले छिट्टै अभियान तथा सरोकारवाहरुसँग छलफल गरेर पृष्ठपोषणसहित भिजन पेपरलाई निष्कर्ष दिइने जानकारी मन्त्री श्रेष्ठको दाबी छ ।

बचत तथा ऋण सहकारीहरु संवदेनशील भएको भन्दै उहाँले वित्तीय जोखिम न्यूनीकरण, संस्थागत सुशासन कायम गर्ने दिशामा राज्य र सहकारी अभियानसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो । सहकारीहरुको संस्थागत सुशासनमा बिशेष जोड दिदैं मन्त्री श्रेष्ठले आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउने, स्वनियमनलाई सबल बनाउनुपर्ने कुरामा जोड दिएका थिए । 

उनले सहकारी अभियानको विकास र प्रवर्धनका लागि साझा अवधारणा तयार गरी अघि बढ्न सरकार तयार रहेको, विभाग तथा प्रदेश एवम् सथानीय सरकारसँग समन्व्यमा अघि बढ्न अब ढिलाई गर्न नहुने समेत बताए । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सरकार र अभियानबीचको सहकार्यमा यस क्षेत्रलाई सुशासित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । अहिले सहकारी तथा साकोस अभियानको मुख्य विषय स्तरीकरण र स्थिरीकरण भएको बताउँदै अभियानको सुशासनमा बिशेष जोड दिनुभयो । उहाँले कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण, साकोस ऐनको आवश्यकतामा पनि उनको जोड थियो ।

सहकारीहरु उद्यमशीलतामा जोडिन्छन् कि ब्याज मात्रै लगाएर बस्छन् ?

सभामा स्वागत गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले चुनौतीका बेला सहकारी तथा साकोस अभियानको मर्म र गौरब झनै स्थापित भएको दाबी गरेका छन् । 
नेपालको साकोस अभियान चुनौतीहरुको सामाना गर्दै अघि बढेको र जहाँ चुनौतीहरु छन् त्यहाँ सम्भावनाहरु पनि बढी हुने उनले बताए ।

कोभिड प्रहार सामना गर्न ‘सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्य’ को नारासँगै सामाजिक तथा आर्थिक कृयाकलापमा संघ संस्थाहरु अघि बढ्नुपर्छ भनेर नेफ्स्कूनले विभिन्न व्यावसायिक निरन्तरताको योजना लगायत रणनीतिक योजनाहरु अघि सारेको जानकारी गराएका थिए ।

अध्यक्ष पौड्यालले विषय परिस्थितमा विश्व अभियानपनि नेपालको अवस्थासँग एकाकार भएको बताउँदै कोभिडका ३ चरणहरुको वित्तीय सहकारी क्षेत्रमा परेको प्रभावका बारेमा उल्लेख गरेका थिए । कोभिडको त्रासका समयमा घरदैलो सेवा, वित्तीय तथा गैर वित्तीय  क्रियाकलापमा बचत ऋण सहकारीहरुले बैंकले गर्न नसकेको काम गरेको दाबी उनको थियो ।

अध्यक्ष पौड्यालले नेफ्स्कूनले डिजिटल फाइनान्सको कुरा अघि सारेको, सामाजिक पुँजीको परिचालनलाई प्राथमिकतामा राखेको जानकारी गराएका थिए ।
३५ लाख नागरिकबीच उभिएको नेफ्स्कूनले सिङ्गो मुलुकको प्रतिनिधित्व गरेको बताउँदै उहाँले अबको साकोस अभियानलाई उद्यमशीलता र समृद्धिसँग जोड्नुपर्ने बताए ।

साकोस अभियानको भविष्य निर्माणका दुईवटा पाङग्रा स्तरीकरण र स्थिरीकरणको बारेमा चर्चा गर्दै अध्यक्ष पौड्यालले इआरपी निर्माणको प्रक्रियामा अघि बढेको समेत जानकारी गराए । सिङ्गो साकोस अभियानको लागि अत्यन्तै आवश्यक प्रविधिकरणसम्बन्धी इआरपीका सम्बन्धमा सैद्धान्तिक आधार तयार भएको र काुननी र व्यवस्थापकीय आधारका बारेमा छलफल भैरहेको अध्यक्ष पौड्यालको भनाइ थियो ।

गत वर्ष कोभिडका कारण संघको २९ औं वार्षिक साधारण सभा न्यूतम भौतिक उपस्थितिसहित हाइब्रिड मोडलमा आयोजना गरिएको थियो । 


०००
 



प्रकाशित: २०७८ मंसिर ३
November 19th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार