नेपाली समय: ०१:४१:५७ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

अध्यक्षमा आफ्नै पालो आएको दाबी गर्दै कोइराला भन्छन्, नैतिकताको आधारमा अध्यक्षमा उम्मेदवारी दिन रविजीले मिल्दैन’

निर्माण सञ्चार, २५ फागुन, २०७८, काठमाडौं । 

१२औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका दाबेदारहरु थपिने क्रम बढिरहेको छ । सुरुमा वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको चर्चा थियो । यो क्रम जारी रहँदा पूर्वअध्यक्ष रमेश शर्मासम्मको नाम बाहिर आएको छ ।

यसअघि नै पूर्व महासचिव रामशरण देउजा र काँग्रेस निकट निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइराला चर्चामै थिए । एफक्यानको यो महाधिवेशन नेतृत्व परिवर्तनका लागि समेत भएकाले सरोकारवाला सबैले चासोपूर्वक हेरेका छन् ।

तर, उम्मेदवारहरुको आँखा चाहिँ सत्तारुढ नेपाली काँग्रेसको कोर्टतिर तन्किएको अवस्था छ । ‘काँग्रेसले कसलाई’ वा ‘काँग्रेसबाट कसले’ समर्थन लिने दौड नै यतिबेलाको दौडको अन्तर्य हो । 

  • एफक्यान महाधिवेशनः नेतृत्वमा रुपान्तरण र निर्माण उद्योगमा पुस्तान्तरण बहस शृंखला
२७, २८ गते हुने ‘साधारणसभा कम महाधिवेशन’ ले २९ गते चुनावी प्रक्रिया ग्रहण गर्ने छ र त्यसको एक दिनमै महासंघको भावी अध्यक्षका रुपमा कुनै एक ‘विजेता’को मुहार सार्वजनिक हुने छ । पूर्वअध्यक्ष शर्माको चर्चा चुलिदै गर्दा अन्तिम घडीमा कुनै ‘जादु’ ले कतै ‘सर्वसम्मत’ नेतृत्वको माहोल त बनाउँदैन भन्ने ‘चाँदीको घेरा’लाई पनि अगाडि सारेको निर्माण व्यवसायीहरुको आँकलन छ ।

एफक्यान नेतृत्व दौडको होड चलिरहँदा निर्माण मिडियाले भने निर्माण व्यवसायी महासंघमा रुपान्तरण र नेपालको निर्माण उद्योगमा पुस्तान्तरण सम्भवना छ कि छैन ? भन्ने कोणबाट बहस शृंखला सञ्चालन गरिरहेका छ । यस शृंखलाको यस अङ्कमा ‘बिकोइ बिल्डर्स’का प्रमुख तथा लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालासँग साक्षात्कार भयो ।

यस अघि पनि अध्यक्षकै लागि मैदानमा उत्रिसकेको कोइराला अन्तिम घडीमा आएर पार्टी नेतृत्वले जे भन्यो त्यही मान्न तयार भएको बताउँछन् । निर्माण सञ्चारसँग उनले भने, ‘म त पार्टीको एउटा इमानदार कार्यकर्ता पनि हुँ । पार्टीले त्यतिबेला छाड्न भनेपछि यो पटक मलाई नै दिने वाचाकसम सहित मेले अध्यक्षको पद छाड्न तयार भएको हुँ ।’

उनले यसपटक पार्टी नेतृत्वले नै आफ्नो वचन पूरा गर्नेमा आफू विश्वस्त रहेको पनि बताए । 

अध्यक्षका लागि वर्तमान अध्यक्ष सिंहको पनि दाबी रहेकै अवस्थामा काइराला भने ‘रविजीले यो चरणमा अध्यक्ष पदमा फेरि दाबी गर्ने नीतिक आधार नरहेको’ जिकिर गर्छन् । उनको भनाइ छ— ‘अघिल्लो पटक वर्तमान अध्यक्ष (रवि) सिंहले पार्टी (नेपाली काँग्रेस) नेतृत्वकै बिचमा यसपटक मलाई समर्थन गर्नुस्, अर्काेपटक म तपाईंलाई नै अध्यक्ष बनाएर बाहिरिन्छु’ भन्ने वाचा गर्नुभएको छ । त्यसैले यसपटक त मेरै पालो हो ।’

प्रस्तुत छ अध्यक्षका प्रत्यासी कोइरालासँगको छलफलको अंश—

अघिल्लो पटक अन्तिम घडीमा अध्यक्ष पद छाडिदिनु भयो, फेरि यसपटक अध्यक्षकै लागि दाबी गरिरहनु भएको छ । तपाईंले ‘टिकट’ पाउने कुरो पक्का छ त ?

यस पटक अध्यक्षको दाबी मात्र गरेको होइन टिकट नै मैले पाउने हो । यो पटकको पालो त मेरै हो । किनभने मेरै अगाडि पार्टी नेतृत्वले यस्तो सहमति गराएको छ । यो कुरा त नेतृत्वले बिर्सेको छैन नि । 

  • यस्ता छन् हुमनाथ कोइरालाका भावी योजना— अध्यक्षको अधिकार प्रत्यायोजनदेखि महासंघको सम्पत्तिलाई सदुपयोगसम्म 
फेरि रविजीले पनि मलाई दिनुभएको वचनमा इमानदार नदेखिनु होला भन्ने मैले सोचेको छैन । उहाँले अघिल्लो पटक मसँग हात जोडेर, मेरै घरमा गएर यसपटक मलाई छाडिदिनुहोस्, अर्काे पटक म तपाईंलाई टिकट दिएनन् भने टिकट दिलाउन म आफैँ लड्छु, तपाईंलाई नै अध्यक्ष बनाउन टिकट ह्यान्डओभर गर्ने छु भन्नुभएको छ । इमानदार हुनु भएन भने त्यसको पनि त केही होला नि त ! पार्टी नेतृत्वले पनि हेरिरहेको छ । 

अध्यक्षमा उहाँ दोहोरिने त उहाँले नै भन्नुभएको छ, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पनि अध्यक्षमै आफ्नो दौड रहेको घोषणा गर्नुभएको छ, अब तपाईं पनि थपिनु भएको छ, अरुअरु पनि थपिने क्रम होला नि !

म पनि थपिएको भन्ने नै होइन । म त स्वाभाविक कन्डिडेट (उम्मेदवार) हुँ । अर्काे कुरा महासंघको इतिहासमा नेतृत्व दोहोरिएको कुनै रेकर्ड छैन । हिजोका अध्यक्षहरु यक्षध्वज कार्की, रमेश शर्मा, जिप छिरिङ लामा, जयराम लामिछाने सबै व्यक्ति कोही पनि दोहोरिनु भएको पनि छैन । दोहोरिनु राम्रो पनि होइन । एक पटक अध्यक्ष भइसकेपछि फेरि केका लागि दोहोरिने ? ल ठिकै छ विधानले २ पटकसम्म भनेको छ, पाउनु पनि होला । तर केका लागि ? त्यही अध्यक्ष पदकै लागि ? पद पाउन यस्तो लोभलालच देखायो भने बरु अब हार्ने पक्का चाहिँ हुन्छ । त्यसैले दोहोरिने कुराले उहाँलाई पनि इमानदार बनाउँदैन । मैले चितवन भेलामा पनि भनेँ, त्यहाँका व्यवसायीहरुले पनि चासो राखेका थिए । पार्टीबाट टिकट आउने मेरै लागि हो ।  

हैन, दोहोरिने चार्म (छवि) उहाँसँग छ र ? महासंघमा उहाँ असफल भइसक्नु भएको छ । कार्यसमितिका साथीहरुलाई मिलाएर एकैढिक्का बनाएर लैजान सक्नु भएन । महासंघमा वातावरण बिग्रिएको छ ।

यो साँढे ३ वर्षमा उहाँको क्षमता हेरिसकियो । उहाँसँग कोही साथी खुशी छैन । दोहोरिनलाई पनि सबै साथी खुसी पारेर लौ तपाईं नै भन्ने माहोल पनि छैन । सबैले नयाँ नेतृत्वकै अपेक्षा गरिरहेका छन् भने अब दोहोरिन्छु भनेर के अर्थ, भन्नुस् त !

एक त दोहोरिनै नै होइन । दोस्रो कुरा नेतृत्वमा सबैलाई पालो दिनु पनि पर्छ । तेस्रो कुरा आफूपछिको नेतृत्व विकास गर्नु पनि पर्छ । यो त संस्था हो नि आफ्नो घरबार हो र ?

निर्माण व्यवसायी महासंघमा अध्यक्ष बन्न दौडमा एउटा पछिल्लो ट्रेन्ड हेर्दा ‘ठुलालाई गाली’ र ‘सानाबाट ताली’ लिने प्रचलन नै चलेको देखिन्छ । तर विडम्बना यो हो कि त्यहाँ अध्यक्ष हुने मध्यम वर्गीय हैसियतवाला कन्ट्र्याक्टर चाहिँ ‘ठुला’ भनिएकैहरुको ‘कृपा’ पाएपछि मात्र चुनाव जित्ने र पछि काम पनि ठुलालाई हात जोडेरै अर्बौंको सब–कन्ट्र्याक्ट लिने गरेका छन्, यसलाई तपाईले कसरी लिनुभएको छ ?

यसबारे म एउटा फेहरिस्त नै भनिदिन्छु । तपाईं यसलाई खुलेर लेखिदिनुस् ।

नेपाल सरकारको कुल बजेट १५–१६ खर्बको छ । भन्नेबेला निर्माणमा ६०–७० प्रतिशत विकास खर्च निर्माण र पूर्वाधारमै खर्च हुन्छ भनिन्छ । खासमा के छ भने केही वर्षका विकास बजेट हेर्दा विकास बजेट ३० देखि ३३÷३५ प्रतिशत पूर्वाधार विकासका लागि मात्र छुटिने गरेको पाइन्छ । लौ ठिक छ, एउटा मोटो हिसाबले ४० प्रतिशत नै निर्माणको बजेट रहेछ, भनेपछि ४–५ खर्ब बजेट निर्माणका लागि हुने भो ।

एउटा हल्ला छ निर्माणको कामै हुँदैन । लौ आधा काम भएनछ भने पनि करिब अढाई खर्बको काम त हुने नै भयो । रमाइलो कुरा के छ भने, सबै काम ठुला कन्ट्र्याक्टरले लिए भनिन्छ । एक वर्षको कामको प्रगति हेर्दा ठुला कन्ट्र्याक्टर भन्नेले– लौ ६–७ जना मात्रै किन १० वटैको कुरा गरौं, यी दशवटाले सालभर गरेको काम हेरौँ, सालभरमा जम्मा ३० अर्ब जतिको काम गर्दा रहेछन् ।

तिनीहरुको ब्यालेन्स सिटले सालभरमा ३० अर्बको काम गरेको देखाउँछ । लौ ठुला भन्नेमा एक दर्जन निर्माण कम्पनी नै रहेछन् भने पनि तिनले हदै गरेछन् भने वर्षमा ४० अर्बकै काम गर्छन् ।

अब भन्नुस् वर्षभरिको त्यो अढाइ खर्बका बाँकी निर्माणका काम कसले गर्दारहेछन् त ? त्यो घटाउँदा त २ खर्ब १० अर्बको निर्माणको काम त साना निर्माण व्यवसायीले गर्दारहेछन् नि त ! 

अब भन्नुस्, सबै काम ठुलाले खायो भनेर तपाई कुन आधारमा भन्नुहुन्छ ? डाटाले त यो हल्लाको पुष्टि त गर्दैन त ! ठुलाले खाए भन्ने कुरा भोट माग्ने भाँडो त होला तर यर्थामा ठुलालाई गाली गरेर लोकप्रिय बन्ने कुरा आफैँमा ठिक छैन ।

निर्माण व्यवसायीले त सबैमा समान व्यवहार गर्ने र महासंघको अध्यक्ष हुनेले त सन्तुलन कायम गर्ने हो नि । जथाभावी बोलेर हुन्छ ?

तपाईं अध्यक्ष हुनुभयो भने महासंघलाई कसरी अघि लैजानु हुन्छ त ? 

ठिक भन्नुभयो । यदि मैले महासंघको नेतृत्व गर्न पाएँ भने सबैभन्दा पहिले म महासंघको भौतिक जग्गाजमिन र भौतिक सम्पत्तिको सदुपयोग गर्ने छु । र त्यसलाई उत्पादनमूलक काममा लगाउँछु । मले मेरो मोबाइलमै म अध्यक्ष भएँ भने केके गर्छु भनी नोट गरिरहेको हुन्छु । 

दोस्रो कुरा अधिकार प्रत्यायोजनको काम मैले गर्ने छु । उपाध्यक्षहरु कसैले पनि काम पाइन भन्ने गरेका छन् । म भन्ने छु ल्याउनुहोस् तपाईलाई कुन अधिकार नपुग्दा काम गर्न रोकिएको छ भन्ने छु । प्रदेशदेखि जिल्लासम्ममा काम र गतिशीलता हुनु प¥यो नि । हो मेरो नेतृत्वमा महासंघलाई गतिशील बनाउने छु । सबैलाई कामैकाम दिएर निर्माण व्यवसायीको सेवामा लगाउने छु ।

तेस्रो ऐन, कानुनलाई निर्माण मैत्री बनाउने छु । जस्तै, बुटवलदेखि नारायणगढसम्म सडक विस्तार गर्नु परेको छ । तर, सडक विभागले रुखका कारण बाटो बनाउन सकेको छैन ।

मुलुक बनाउने काम हो, त्यो रुख काटेर सडक विभागको महानिर्देशकले घरमा लैजान्छ त ? लाँदैन नि । हो मैले सरकार, विभाग र निजी क्षेत्रबिच पुलको काम गर्ने छु । र, निर्माणका समस्याहरुलाई एकै डालोमा हालेर फिल्डमा जे समस्या हो त्यही काम त्यही फिल्डमै सच्याउने पहल गर्ने छु । यो काम त म गर्छु गर्छु । 

सडक बनाउन वार्षाैं लाग्छ, जनताले दुःख पाइरहेका छन् । तपाई सञ्चारकर्मीहरुले पनि त्यो सडकखण्डमा काम गर्ने चाइनिजबारे केही लेख्नसक्नुहुन्न । हामी नेपाली थियौँ भने कुकुरको फोटो टाँसेर फूलमाला लगाइदिनसक्नुहुन्थ्यो ।

वास्तविक कुरा एकातिर समस्या छ, हल्ला अर्काेतिर गर्ने परिपाटी भयो । यही पारिपाटी चाहिँ समस्या हो । म यसको समाधान गर्ने छु ।

अर्काे कुरा, ठुला साना भन्ने चलनको अन्त्य गर्ने छु । काम सबैले आआफ्नो क्षमता अनुसार गर्ने हो नि । किन ठुलो सानो ? जति सकेको काम गर्ने हो । तर गर्न नसक्ने अनि गाली गर्ने त होइन नि !

निर्माण सामग्री र साइट सम्बन्धी धेरै कुराहरु सरकारी पक्षले निर्माण व्यवसायीलाई नै लाद्ने गर्छन् । फारममा भएको सम्झौता अनुसार उनीहरु नै निर्माण सामग्रीदेखि सुरक्षा प्रबन्धबारे काम गर्नै उदासीन छन् ।

मैले अध्यक्ष जितेँ भने यी सबै कामहरुको मसिनो गरी योजना बनाएर सरकारी पक्ष, निर्माण व्यवसायी, स्थानीय तहका नेतृत्व सबैसँग एउटा मोडालिटी तयार गराएर मात्रै निर्माणको काम थालनी गराउन परम्परा नै बसाल्ने छु । किनकि मैले त काम गरेको अनुभव छ नि । खटेको छु । फिल्डदेखिकै समस्याबारे भोगेको छु । 

चुनावी प्रतिस्पर्धाकै कुरा गरौँ– अबको चुनावी प्रतिस्पर्धा तपाईं, रवि सिंह र निकोलस पाण्डेका बिचमा हुने हो त ? 

तपाईंले सोधिहाल्नु भयो । यो चुनावको अन्तिम सिन आइसकेको छैन । धेरै कुरा बोलिहाल्ने अवस्था बनिसकेको छैन । अन्तिमसम्म कोको फिर्ता हुने हो, कसको नेतृत्वमा अध्यक्षको टिम बन्ने हो त्यो त हेर्नै बाँकी छ ।

तर कुरा निकोलस भाइसँग त मेरो कुरा भइरहेकै छ । उहाँसँग त मेरो प्रतिस्पर्धा नै हुँदैन । उहाँसँगको कुनै समस्या छैन । तर, रविजीले दोहोरिने भन्ने कुरा सम्भव छ जस्तो मलाई लाग्दैन ।

किनभने कुनै पनि फौजदारी कसुर वा मुद्दा परिरहेको व्यक्ति यस्तो सामाजिक संस्थाको उमेद्दवार नै बन्न पाउँदैन । उहाँको निर्माण सेवा विरुद्ध मध्यपहाडी लोकमार्ग, लालबकैया नदी नियन्त्रण जस्ता आयोजनामा मुद्दा हालेको छ ।

यस्तो अवस्थामा त उहाँले अहिले हैन त्यतिबेलै महासंघको पदबाट नैतिकताको आधारमा राजिनामा दिनु पर्थ्यो । यो त सार्वजनिक संस्थाको पद धारण गर्ने व्यक्तिको छविमा दाग लाग्नु भएन नि !

हजुरको कम्पनीको हकमा चाहिँ कुनै दाग लागेको छैन ?

हेर्नुहोस्, तपाई सञ्चारकर्मीहरुलाई त सबै कुरा थाहै भाइहाल्छ नि । राज्यको सेवा गरिएको छ । आजसम्म कुनै पनि कसुरको भारी बोक्नु परेको छैन । मलाई किन लाग्ने ? 

नेपालको निर्माण उद्योगमा पुस्तान्तरणको समस्या देखिन्छ, महासंघ नेतृत्वमा रुपान्तरण नै नभइरहेको पुरानै ढर्रा देखिन्छ, यस्ता गम्भीर समस्याबारे तपाईंहरु कोही पनि खासै चासो दिनुहुन्न किन नि ?

सही कुरा उठाउनुभयो । म यस्ता नीतिगत र निर्माण क्षेत्रका समस्या हल गर्न प्रतिबद्ध छु । वास्तवमै निर्माण उद्योगमा नयाँ पुस्ता भाग्दै जाने । बाबुबाजेले दुःख गरेर हुर्काएका कम्पनीहरुमा छोरानातिले नहेरिदिने समस्या पनि छन् ।

महासंघको नेतृत्व पनि परम्परागत मात्रै भयो भन्ने गरेको धेरै सुनिन्छ । अब यसमा परिवर्तन गर्न आवश्यक छ ।

यस कामको थालनी अब मबाटै हुने छ । म अध्यक्ष भएँ भने त्यसको एक वर्षपछि मलाई तपाई यसरी नै सोध्न आउनुहोला, यी सबै प्रश्नहरु जुन तपाईले सोध्नु भयो, ऐन कानुनदेखि संरचना, जिल्ला र प्रदेशसम्मका, ती सबै कुराको नयाँ जवाफ पाउने ठाउँमा हामी हुने छौँ । 


००० 



प्रकाशित: २०७८ फाल्गुण २५
March 9th 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार