नेपाली समय: ०२:१८:२० बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

नेबुपले समात्न सकेको मौसमः अर्थतन्त्रका समस्या र समाधानबारे ध्यान खिच्ने यो बहस

निर्माण सञ्चार, ९ वैशाख, ०७९– टिप्पणीसहित

अक्सर नेपालका बुद्धिजीवीहरु बुद्धिविलासमै सीमित हुने गरेको आरोप खेपिरहन बाध्य छन् । बुद्धिजीवीहरुलाई कोठामा बसेर गुगल म्यापका आधारमा डिजाइन दिने इन्जिनियरसँग पनि तुलना गर्नेहरुको कमी छैन । यस्तो किन हुने गर्छ भन्ने प्रश्नको उत्तर पनि त्यति सहज छैन ।

कहिले काहिँ सही तर्क गर्दा पनि तर्क गर्ने मौसम पक्रन नसक्ता बुद्धिजीवीहरुको करोडौं मूल्यका सुझावहरु पानीका फोकाजस्तै गरी बिलाउन पुगेका नजिरहरु छन् । तर, कहिले चाहिँ बेमौसमी काँक्रो पकाउने खेतीमा रुमलिन पुगेका कारण पनि बुद्धिजीवीहरु बुद्धिको व्यापार गर्न नजान्ने कोटीमा दर्ज हुन पुगेका छन् । आरोप गर्नेहरु बुद्धिजीवीलाई एकलकाटे, एकाङ्गी र विधिलाई भन्दा पनि व्यक्तिलाई टिपेर आफ्नो कुरा सुनाउन तिर लाग्ने गरेको यदाकदा आलोचना सुनिन्छ ।
०००
तर, नेपाल बुद्धिजीवी परिषद्ले बिहीबार गरेको समयकि बहस भने यी सबै आरोप खण्डन गर्न अब्बल बन्नपुगेको छ । मौसम समात्न सकेको मात्र भएर होइन कि देश दुनियाँलाई आफ्ना मुखले बोलेका कुरा कानसम्म पुग्ने गरी मिडियाबाजी समेत गर्न सकेकोमा परिषद्को कार्यक्रम कार्यक्रमभित्रको कार्यक्रमका रुपमा चर्चा बटुल्न सफल भयो यसपाला । 

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको आन्तरिक जीवनमाथिको नीतिगत बहस चितवनको सौराहामै समापन गरेपछि मुलुकको हितमा केन्द्रित अर्थतन्त्रमाथिको बहस थियो– नेबुपले आयोजना गरेको ‘अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपाय’ ब्यानरको अन्तरक्रिया कार्यक्रम । 
बिहीबार (८, वैशाख) काठमाडौं हात्तीसारस्थित नेपाल हाउसमा फस्ट आवरमै सुरु भएको कार्यक्रमले बुद्धिजीवी परिषद्को उक्त कार्यक्रमलाई सामयिक कसीमा नमूना बहस भनेर भन्न सकिन्छ ।
...
बुद्धिजीवीहरुले कानै टटाउने गरी कुर्लंदा पनि देशको वर्तमान सरकारलाई भने मस्त निद्रामा सुतेको कुम्भकर्णको कानैनिर बाजा बजाए सरह छ । भोभो भन्दै बरु ऊ कोल्टे फेर्छ, अहँ उठ्तैन, ब्युझिदैन ।

देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगिसकेको नेपाल हाउसमा जम्मा भएका पूर्व गभर्नरदेखि पूर्वअर्थसचिवहरुसम्मले बताए ।

नेपाल बुद्धिजीवी परिषद्को आयोजना रहेको सो कार्यक्रमका वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चेतवानी दिएका छन् । 
मुलुक आर्थिक रुपल धराशायी नै बनिसकेको र आसन्न आर्थिक समस्याले आर्थिक हिंसा र मुलुकलाई नै विपन्नता तर्फ धकेलिदिने वक्ताहरुको चिन्ता थियो ।

अर्थतन्त्र रेडजोनमाः ज्ञवाली

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक ‘रेडजोन’मा गएकोले मुलुक गम्भीर संकटमा धकेलिएको बताउनुभयो । सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पुँजीगत खर्च बढाउन, नीतिगत रुपमा भएका सेटिङ् रोक्न र राष्ट्रबैंक माथिको हस्तक्षेप रोक्न आग्रह गरेका थिए ।

बेरुजु बढ्योः क्षेत्री

यसैगरी कार्यक्रममा बोल्दै पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरु गम्भीर नभएको बताए । बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नबढेको बताउँदै क्षेत्रीले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय हुनुपर्ने बताएका हुन् । कृषि क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने समेत उनको सुझाब छ ।

वर्तमान अर्थसंकटको कडी– राष्ट्रबैंकसँग समन्वयको अभावः खनाल

त्यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए । बैदेशिक कर्जाले सुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिएका छन् । 

निलम्बन गरेर गलत गर्याे सरकारलेः रावल

यसैगरी राष्ट्रबैंकका पूर्व गभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर वर्तमान सरकारले गलत गरेको बताए । राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा. रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात बढाउन सुझाए ।

बौद्धिक हस्तक्षेपको आवश्यकता बढ्योः देवकोटा

परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत वनाउन, उत्पादन वढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए ।

श्रेष्ठले दिए डाटामा वर्तमान अर्थतन्त्र

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका बारेमा डाटा नै प्रस्तुत गरेका थिए ।
परिषद् अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्का उपाध्यक्ष विधान आचार्यले स्वागत, उपमहासचिव सुशील विकेको धन्यवाद ज्ञापन र सञ्चालन महासचिव इ. गजेन्द्रप्रसाद थपलियाले गरेको आयोजकले बताएको छ ।


०००


 



प्रकाशित: २०७९ बैशाख ९
April 22nd 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार