नेपाली समय: ०३:२४:४४ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

भारतमा विद्युत् निर्यातलाई इप्पानको स्वागत्, भन्यो– ‘विद्युत व्यापारमा नयाँ अध्यायको सुरुआत’

निर्माण सञ्चार, २७ जेठ, ०७९– काठमाडौं

यस वर्षको वर्षा याममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाएकोमा स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था, नेपाल (इप्पान) ले स्वागत गरेको छ 

विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको इप्पानको ठहर छ । यसबाट विद्युत व्यापारको क्षेत्रमा नयाँ अध्यायको सुरुआत हुने उसले बताएको छ ।

  • प्राधिकरणले अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न सुरु गरेको थियो । यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्नसक्ने नेपालमा विद्युत् उत्पादन भएको छ 
प्राधिकरणले अघिल्लो वर्षको वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात गर्न सुरु गरेको थियो । यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्नसक्ने नेपालमा विद्युत् उत्पादन भएको छ । 

इप्पानका अनुसार उक्त निर्यातको कदमले आगामी दिनहरुमा नेपालको जलविद्युतले छिमेकी मुलुकहरुमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार निर्माण गरेको छ । ऊर्जा उत्पादकहरुका अनुसार नेपालको विद्युत व्यापारको यस्तो प्रगतिशील कदमले ऊर्जा क्षेत्रका निजी लगानीकर्ताहरुमा ठूलो आशा, विश्वास र हौसला बढाएको र नेपालको ऊर्जा क्षेत्रमा अब देशी, विदेशी लगानीकर्ताहरु थप आकर्षित हुने छन् । 

० कति गर्छ व्यापार, कति हुन्छ आम्दानी ?

विद्युत निर्यातको लागि प्राधिकरणले भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडि बढेको छ । छनोट भएकामध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्ने छ । 

यसबाट प्राधिकरणले आगामी जुलाई १ देखि नोभेम्बर १५ (असार १७ गतेदेखि कात्तिक २९ ्गते) सम्म ६४ करोड ८० लाख युनिट बिजुली बिक्री गरी ४ अर्ब ७४ करोड ८५ लाख ४४ हजार रुपैयाँ आम्दानी गर्नेछ । 

सम्झौताअनुसार मानिकरणले एनभिभिएनभन्दा प्राधिकरणलाई २९ करोड ३ लाख रुपैयाँ बढी भुक्तानी गर्नेछ । 

प्राधिकरणले आर्जन गरेको यो हैसियतबारे इप्पानले यो ऊर्जा उत्पादनमा निजी क्षेत्र संलग्न भएको उपजका रुपमा लिएको छ । करिब तीन दशक अघिदेखि ऊर्जा उत्पादनका क्षेत्रमा निजी क्षेत्रको सार्थक सहभागिताका कारण हाल वर्षा याममा १००० मेगावाटभन्दा अधिक बिजुली आन्तरिक खपतभन्दा बढी हुन थालेको छ ।

यसरी बढ़ी हुने १००० मेगावाट मध्ये ३६४ मेगावाट विनिमय बजारमा तथा २०० मेगावाट मीडियम टर्म बजारमा बिक्री हुनेछ तथापी बाँकी ४३६ मेगावाट को भने अझै बजार खोज्नु पर्ने नै देखिन्छ । 

० सरकार मात्र व्यापारी बनेर पुग्दैन, निजी क्षेत्रलाई पनि सहभागी गराऊ !

मुलुकमा बर्सेनी ठूलो परिमाणमा बिद्युत उत्पादन हुन थालेको बर्तमान परिपे्रक्ष्यमा विद्युत् उत्पादन, प्रशारण र वितरण अब सरकारले मात्र गर्न संभव छैन । यसका लागि सरकारले विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि मार्गप्रशस्त गरिदिनुपर्छ । 

सरकारले विद्युत व्यापारमा निजी क्षेत्रको सहभागी गराउन भनेर निर्माण गरिरहेको ऐन, कानुन तथा लाइसेन्सको प्रक्रिया अत्यन्त सुस्त गतिमा अघि बढ्दा १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का पुग्ने देखिन्छ । 

‘तसर्थ, विद्युत व्यापार निजी क्षेत्रको लागि खुला गर्ने कार्यलाई यथाशीघ्र अघि बढाइयोस्’ इप्पानले जोडदार माग गरेको छ । इप्पानले भनेको छ— ‘विद्युत बजारको सुनिश्चितता हुंदै गएको परिप्रेक्ष्यमा निजी क्षेत्रको लगानीमा उत्पादन हुने बिद्युतको खरिद बिक्री समझौता (पिपिए) पनि सुचारु हुने इप्पानले विश्वास लिएको छ ।’


स्मरणरहोस्, प्राधिकरणले देशभित्र खपत भईअतिरिक्त निस्किएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरू गरेको थियो। भारतको विद्युत मन्त्रालय अन्तर्गत पर्ने केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

००० 
 



प्रकाशित: २०७९ जेठ २७
June 10th 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार