नेपाली समय: ०२:४९:३१ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

लामो समयपछि संस्कृत विश्वविद्यालयमा अनुसन्धान दर्शन तथा शोधविधिबारे प्रशिक्षण

निर्माण सञ्चार, १७ आषाढ, ०७९ । 

विश्वविद्यालय अनुसन्धान केन्द्र गठनका सन्दर्भमा ‘विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा माथि उठाउन योग्य तथा गुणस्तरीय शैक्षणिक अनुसन्धाताहरु उत्पादन गरी संस्कृत वाङमयमा अतुलनीय योगदान दिने’ जस्ता उद्देश्य राखेर गठन गरिएको नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रले लामो अन्तरालपछि अनुसन्धान सम्बन्धी तालिम प्रदान गरेको छ । 

केन्द्रले विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ५ दिने ‘नेसंविका शिक्षक एवम्  विद्यावारिधि शोधार्थीका लागि अनुसन्धान दर्शन तथा शोधविधि प्रशिक्षण’ दिएको हो । 

प्रशिक्षण यही असार १२ गते आरम्भ भई १६ गते सम्पन्न भएको थियो । 

काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा सम्पन्न उक्त अनुसन्धान गोष्ठीमा २० वटाभन्दा बढी सत्रमा झन्डै २ दर्जन बढी विभिन्न फरक फरक विषयमा तालिम प्रदान गरिएको थियो । प्रशिक्षण संस्कृत विश्वविद्यालय अन्तर्गत अनुसन्धानरत विद्वानहरुलाई नै प्रदान गरिएको आयोजक विश्वविद्यालय अनुसन्धान केन्द्रका अधिकारीहरुको भनाइ छ । 

उक्त प्रशिक्षण— एमएलए, एपिए जस्ता पाश्चात्य अनुसन्धान पद्धतिहरुलाई विश्वले नै मान्यता दिइरहेका सन्दर्भमा वैदिक तथा प्राचीन विषयवस्तुलाई पनि नयाँ ढाँचाका अनुसन्धान विधि, प्रविधि र विषयवस्तुसम्बद्ध भई कसरी अनुसन्धान गर्न सकिन्छ भन्नेमा बढी केन्द्रित थियो । यद्यपि, आयोजक विश्वविद्यालय अनुसन्धान केन्द्रका अनुसार— प्रशिक्षणले वैदिक प्राचीन अनुसन्धान विधि र आधुनिक अनुसन्धान पद्धतिबारे तुलनात्मक सीप प्रदान गरेको छ ।  

काठमाडौं केन्द्रित तालिम दिनु अघि केन्द्रले विश्वविद्यालय केन्द्रीय कार्यालय दाङमै पनि तालिम प्रदान गरेको थियो । विश्वविद्यालय कर्मचारीहरुलाई अनुसन्धान विधि र त्यसको व्यवस्थापनबारे तालिम दिएको केन्द्रले केन्द्रीय कार्यालय पछि राजधानी केन्द्रित तालिम दिएको थियो । 

क–कसले दिए अनुसन्धान प्रशिक्षण ?

अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा डा सुधन पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटनसत्रमा त्रिभुवन विश्वविद्यालयका अङ्ग्रेजी विभागका वरिष्ठ प्राध्यापक एवम् नेसंवि अनुसन्धान परिषद्का सदस्य प्रा डा कृष्णचन्द्र शर्मा प्रमुख अतिथि रहेका थिए । साथै, प्रा डा शर्माद्वारा एमएलए अनुसन्धान पद्धतिबारे प्रशिक्षण समेत प्रदान गरिएको थियो । 


कार्यक्रममा नेसंवि अनुसन्धान परिषद्का सदस्य एवम् वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकाल, अनुसन्धान परिषद्का सदस्य एवम् पूर्वकार्यकारी निर्देशक डा विष्णुप्रसाद दहाल, परिषद्का सदस्यहरू डा दिनेश पन्थी र डा मुकुन्द लामिछाने दैनिक अतिथिका रुपमा सहभागी भएको अनुसन्धान केन्द्रले बतायो । 

२० सत्रमा विभाजित विभिन्न कार्यपत्रहरु मध्ये नेसंविका पूर्वशिक्षाध्यक्ष डा लालमणि पाण्डेय, वाल्मीकि विद्यापीठ नेपाली विभागका अध्यक्ष डा नारायण चालिसे, प्रा डा नुरापति पोख्रेल, प्रा डा भागवत ढकाल, प्रा डा सुधन पौडेल, डा  ऋषिराम रेग्मी, डा कृष्णकान्त पराजुली र डा शान्तिकृष्ण अधिकारी लगायत प्रशिक्षकहरूले पौरस्त्य तथा पाश्चात्य अनुसन्धान पद्धति, पौरस्त्य दर्शन, शोधकार्यमा सामग्री सङ्कलन र विश्लेषण, पूर्वकार्य समीक्षा आदि विविध विषयमा सैद्धान्तिक एवम् प्रायोगिक ढङ्गले प्रशिक्षण प्रदान गरेको अनुसन्धान केन्द्रको भनाइ छ । 

‘नेपाल अनुकूल अनुसन्धान पद्धति विकास गरौँ’, प्रज्ञा सदस्य सचिव प्रेक्षित

आषाढ १६ गते सम्पन्न समापन समारोहका प्रमुख अतिथि नेसंविका पूर्वकुलसचिव एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय रहेका थिए । 

समापन सत्रमा बोल्दै उनले पौरस्त्य वाङ्मयभित्र आफ्नै खाले विशिष्ट शोधपद्धति रहेको बारे प्रकाश पारेका थिए । प्राच्य अनुसन्धान परम्परा र आधुनिक अनुसन्धान पद्धतिमाथि गहिरो अध्ययन गरी नेपालका विश्वविद्यालय अनुकूलन हुने गरी आफ्नै अनुसन्धान पुस्तिका प्रकाशन गर्नु पर्नेमा प्रज्ञा सदस्य सचिव उपाध्यायले जोड दिएका थिए । 

वैदिक वाङमय र आधुनिक विधिका बिचमा कतै कतै मौलिक फरकता रहेको भन्दै प्रा प्रेक्षितले आउने दिनमा नेपालका ठुला र पुराना विश्वविद्यालयहरु मिलेर शोध पुस्तिका प्रकाशित गर्नु पर्ने र त्यसका लागि संस्कृत विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान र विश्वविद्यालय अनुदान आयोगजस्ता संस्थाले मिलेर काम गर्नुपर्ने उनले बताए । 

अनुसन्धान केन्द्रप्रति धेरैको आशा तर चुनौतीका चाङबाट उठ्न सकेन माथि, किन ?!

अनुसन्धान गोष्ठीको अन्त्यतिर डा कृष्णकान्त पराजुलीले नेपाल संस्कृत विश्वविद्यालय सम्बद्ध अनुसन्धान विकास र व्यवस्थापनमा रहेका चुनौतीबारे प्रस्तुति दिएका थिए । उनले औँल्याएका विषयवस्तु र प्रशिक्षणमा सहभागीहरुले राखेका धारणाहरुलाई समेत नियाल्दा नेसंवि अनुसन्धान केन्द्रका चुनौतीहरुलाई निम्नानुसार बुँदीकृत गर्न सकिन्छ ।

  • १. अनुसन्धान केन्द्रलाई युगानुकूल भौतिक तथा प्राविधिक क्षमताले सुसम्पन्न गर्नु पर्ने, तर केन्द्रको आफ्नै अफिस राख्ने स्थान समेत लथालिङ्ग अवस्थामा कहिले दाङ, कहिले कहाँको अस्थायी अवस्था र कमजोर भौतिक संरचनाभित्र अनुसन्धान गराउने बाध्यताको सिकार बनेको ।
  • २. प्राच्य वाङमय सम्बद्ध अनुसन्धान विधि, पद्धतिको विकास गर्नु पर्ने तर आजसम्म गोष्ठी गर्न पनि नसकेको ।
  • ३. प्राच्य वाङमयसम्बद्ध दुर्लभ ग्रन्थहरुको आधिकारिक अनुवाद, संकलन, सम्पादन तथा प्रकाशन गर्नु पर्ने, आजसम्म गर्नै नसकेको ।
  • ४. विश्वविद्यालय आजसम्म पनि सर्वाङ्गीण संरचनामा चल्न नसकेको, कतिपय भौतिक र प्राचीन विषयका डिन कार्यालय समेत राख्न नसकेको ।
  • ५. अनुसन्धानका लागि आजसम्मका पदाधिकारीहरुमा सोच र सहयोगी भावनाको समेत अभाव रहेको ।
  • ६. संघीय संरचना अनुसार अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालयका अतिरिक्त पूर्वमा २ नम्बर प्रदेश, वागमती प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशसम्म नै शाखा कार्यालयहरु विस्तार गरी अनुन्धाताको ठुलो संख्या र सहभागितालाई सुनिश्चित गर्न नसकेको ।
  • ७. विभिन्न समयमा अनावश्यक रुपमा विद्यार्थी वा प्राध्यापकहरुको समेत आन्दोलनका कारण अनुसन्धान आयोग तालाबन्दीको सिकार भइरहनु परेको ।
  • ८. अनुसन्धान कार्यमा संलग्न गराउन विज्ञ तथा अनुसन्धातालाई आवश्यक भौतिक सुविधा, सहज उपलब्धताको अभाव रहिरहेको ।
  • ९. अनुसन्धान केन्द्रका लागि आवश्यकमात्राका दक्ष कर्मचारीको अभाव सबैभन्दा पेचिलो बन्दै गएको गुनासो छ ।
     
यस्ता विभिन्न समस्यालाई समाधान गर्ने गरी अनुसन्धान केन्द्रलाई आधुनिक युग सुहाउँदो गरी भौतिक तथा प्राविधिक रुपमा विकास गर्न, आइटी प्रविधि, अन्तर्राष्ट्रिय जर्नल वा ग्रन्थ सम्बद्ध विशिष्ट पुस्तकालयीय पहुँच समेत उपलब्ध गराउनु पर्ने सहभागीहरुको राय छ । 

अनुसन्धान केन्द्र स्थापनादेखि आजसम्म नै विश्वविद्यालयले आवश्यक दक्ष कर्मचारी भर्ना गर्न सकेको छैन । केन्द्रलाई प्रविधि सम्पन्न बनाउने, वेभ साइटहरु निर्माण गराउनु पर्ने, शोधार्थीलाई सहज हुने गरी आइटी बेसमा काम गराउनु पर्ने जस्ता सुझाव सहभागी प्रशिक्षार्थीहरुले दिएका छन् ।

आजको युगमा अनुसन्धान कार्यका आधारमा विश्वविद्यालयको इज्जत र श्रेणीलाई मापन गर्ने प्रचलन छ । विश्वविद्यालयहरुले जति धेरै गहन अनुसन्धान दिन सक्छन् त्यति नै धेरै इज्जत बढ्ने गरेको पाइन्छ । पश्चिमा जगतका विश्वविद्यालयहरु यसका नमूना हुन् ।

नेसंवि अनुसन्धान केन्द्रले विभिन्न आन्तरिक समस्या झेलिरहेका बारेमा अनुसन्धाताहरु पनि बढी चिन्तित भएको देखिन्छ । उनीहरुका अनुसार विश्वविद्यालयभित्रको वातावरण अनुसन्धाताहरुलाई सुविधा, पहुँच र सुव्यवस्था दिने भन्दा पनि बढी दुःख दिने गरी एकोहोरिएर व्यवहार गरेझैँ लाग्ने नाम नबताउने सर्तमा एक अनुसन्धाता बताउँछन् । 

उनी भन्छन्, ‘विश्वविद्यालयले अनुन्धाताहरुलाई जति धेरै अनुसन्धानमा आकर्षित गर्न सक्यो, जति धेरै अनुसन्धान फस्टाउन सक्यो त्यति नै विश्वविद्यालय विश्वको नजरमा पर्दै जाने हो । त्यही सोच अनुसार आगामी दिनमा कार्यक्रमहरु विश्वविद्यालयले दिन सकोस् । हामी त्यही आशा गर्दछौँ ।’

विगतका तुलनामा यस पटक विश्वविद्यालय प्रशासनले केन्द्रीय कार्यालय रहेको दाङमा अनुसन्धान केन्द्रको आफ्नै भवन बनाउने काम अघि सारेको विश्वविद्यालय अधिकारीहरु बताउँछन् । 

दाङ तथा काठमाडौंमा सञ्चालित तालिमहरुमा दुवैतिर गरी ६५ जना बढी सहभागी लाभान्वित भएको केन्द्रको दाबी छ ।  

स्मरणरहोस्, संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि कार्यक्रम सुरु भएपछि पनि अन्तर्राष्ट्रिय स्तरमा गणना गर्न मिल्ने हैसियतका विज्ञहरु पनि जन्मेका छन् । प्राचीन विषयका अतिरिक्त नै आधुनिक विषयमा पनि गुणस्तरीय तथा तुलनात्मक ज्ञानका हिसाबले संस्कृत विश्वविद्यालयका पिएचडीहरुको स्तर माथिल्लो श्रेणीकै रहेको विज्ञहरुको बुझाइ छ । सयौँ व्यक्तिहरुले यस विश्वविद्यालयबाट विद्यावारिधि गरिसकेका छन् । 

 

 

०००  



प्रकाशित: २०७९ आषाढ १७
July 1st 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार