नेपाली समय: ०३:४५:४२ बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

हरितालिका तिज, नारी शक्ति र आजकी महिला

निर्माण सञ्चार, १४ भदौ, २०७९, काठमाडौं
१. अवधारणा

नेपाल प्राकृतिक श्रोत साधनले भरिपूर्ण, विभिन्न जातजाति, भाषा, धर्म संस्कृति, परम्परा, मूल्य, मान्यतामा आधारित रहेको छ । यही विविधताको कारण नेपाल विश्व सामु परिचित छ । यही सांस्कृतिक विविधता मध्ये महिलाहरुले मनाउने महान चाड हरितालिका तिज एउटा प्रमुख चाड मानिन्छ । 

हरितालिका तिज नेपाल र भारतमा भाद्र शुक्ल तृतीय तिथिको दिन मनाउने चलन छ । जुन हरियाली महिनामा र मनसुनको समयमा पर्ने भएकोले हरियो तिज पनि भनिन्छ । हरितालिका तिजबारे एउटा रोचक पक्ष पौराणिक कथासँग जोडिएको छ । जसअनुसार परापूर्वकालमा शैलपुत्री पार्वती र शिवको अन्तर्जातीय प्रेम सम्बन्ध र उनीहरुको मिलनसँग सम्बन्धित रहेको पाइन्छ । परिवारले आफुले मनपराएको वर— शिवसँग विवाह नगरी विष्णुसँग बिहे गरिदिने अभिभावकहरुको योजनाले पर्वत पुत्री पार्वती व्याकुल थिइन् ।

पार्वती मनपरेकै कुमारसँग विवाह गर्न चाहन्थिन् । उनीे उपायको खोजीमा थिइन् । त्यहीबेला नारदले पार्वतीलाई दिएको सल्लाह अनुसार पार्वतीकी साथी आलिकालाई आफ्नो हरण गरी जंगलमा लान भनी हरणको योजना बनाइन् । आफूलाई हरण गरी जंगलमा पुगेकी पार्वतीले जगलमै शवजीलाई पतिको रुपमा पाऊँ भनी व्रत तथा उपासना गर्न थालिन् । व्रतले चाहेजस्तै उनको आफ्नो मनोकांक्षा पुरा भयो । उनले शिवजीलाई नै पति पाइन् ।

व्रतपछि उनको बिहे शिवजीसँग भएको थियो । यसरी पार्वतीकी साथी आलिकाले हरण गरेको हुनाले हरितालिका यसको नाम रहन गयो । हरण भएको अर्थमा अपहरित र आलिकाबाट हरित भएको अर्थमा ‘अपहरित + आलिकाबाट’को भाषिक हिज्जे परिवर्तन (अपभ्रंश) भई ‘हरित+आलिका = हरितालिका भन्नेभयो । जुन व्रतविधि पार्वतीले गरिन् त्यही प्रचलन ‘हरितालिका तिज’को नामबाट प्रारम्भ भएको भन्ने पाइन्छ ।

२. उद्देश्य बिहीन होइन उद्देश्य सहित काम गरौँ

उक्त पौराणिक कथाको अर्थ के हो भनी आजको युगमा आजकै समय सापेक्ष खोजिनु आवश्यक छ । यसको अर्थ हामीले उद्देश्य प्राप्तिका लागि तपस्या जस्तै कठिन संकल्प लिन तयार हुन सिक्नु पनि हो । व्रत गर्दा उद्देश्य बेगर होइन उद्देश्य राखेर ब्रत लिने हो जुन पहिला पार्वतीले उनको समयको आवश्यकता अनुसार शिवलाई पति पाऊँ भनेर बसेकी थिइन् भने अब हामीले आफ्नो उद्देश्य यो समय सापेक्ष भएर राख्ने हो, बुझ्ने हो ।
हामी नारीहरु अक्सर धेरैजसो बिनाउद्देश्य जीवन बिताइरहेका हुन्छौँ । महिलाहरुको ठुलो पंक्तिको जीवन नै त्यतिकै गुज्रिरहेको छ । उद्देश्य बिना भौँतारिरहेका पनि छौँ । पढेको गुनेको भनिएकाहरु पनि जिन्दगीलाई सदुपयोग गर्न नजानी यात लहैलहैमा यात कसैको प्रभावमा परेर हाम्रो समय बितिरहेको हुन्छ । त्यही समय र यही जीवनलाई उद्देश्यमूलक ढंगले जिउने हो भने त्यसका लागि नयाँ संकल्प लिन सक्नु पर्छ । उद्देश्य प्राप्तिका लागि व्रतजस्तै कठोर संकल्प लिन आवश्यक छ भन्ने हो ।

३. शारीरिक शुद्धता र मनमाथि सकारात्मक प्रभाव

जुन समयमा पार्वतीले तिजको व्रत गरेकी थिइन् त्यो समय भाद्र शुक्लपक्ष तृतीया परेकोले द्वितीयाकै दिन अर्थात् अघिल्लो दिन आफ्नो तन, आफुबस्ने स्थल, घर वा वरपर सफासुग्घर भई पूजाको तयारी गर्ने प्रचलन रहेको पाइन्छ । नुहाइ, धुवाइ गरी वरपरको वातावरण पनि रमाइलो बनाइयो भने मन पनि निर्मल हुने, मनोरम हुने, हर्ष र उमंगले रमाउने हुन्छ । तसर्थ व्रत भन्ने बित्तिकै सरसफाइ र शुद्धतामा बढी जोड दिइन्छ । व्रतको शारीरिक शुद्धता मात्र नभई मानसिक संकल्पनाका दृष्टिले पनि त्यतिकै महत्त्व छ । शरीर शुद्ध त हुनै पर्छ मन पनि शुद्ध गरिएन भने मानिस मानसिक रुपमा रोगी हुने आजको मनोवैज्ञानिक अध्ययनले पनि देखाएको छ । मानिसको मनको उपचार वास्तवमा डाक्टर र मनोचिकित्सकहरुले मात्र गरेर पुगेको छैन । मन्दिर, गुम्बज, मस्जिद आदिमा गएर शरणागत भएको मानिसको मन जति हुलुंगो हुन्छ त्यति हुलंगो तथा सकारात्मक सोच राख्ने हुन अन्य विधि आजसम्म प्रभावकारी हुन सकेको छैन । जसका लागि मानिसलाई हरेक दिन अन्तर्राष्ट्रिय स्तरका मनोपरामर्श जस्ता तालिमहरु पनि भइरहेको पाइन्छ, तर त्यसबाट भनेजस्तो परिणाम हासिल भइरहेको छैन । किन ? 

४. संस्कृति अझै परिस्कृत बनाऔँ, नबनाऔँ विकृत

तिजको दिन पुरै निराहार बस्नुपर्ने भएकोले अघिल्लो दिन छोरी, चेली, आमा आदि सबै मिलेर विभिन्न परिकार ग्रहण गर्ने चलन छ । जसलाई हामी दरखाने भन्छाँै । दर भनेको वास्तवमा हिजोआज भन्ने गरेको अग्र्यानिक स्तरकै भोजन परिकार हो । जुन खाँदा भोलिपल्ट अबेरैसम्म पनि शरीर गल्दैन, थाक्तैन भनी शरीरको शक्ति बद्र्धक भोजन गर्ने नै दरखाने हो । दर खाएको भोलिपल्ट चोखोनिधो गरी व्रत बसिन्छ । व्रतलाई पनि उमंगमय बनाउने विभिन्न सांगीतिक परिवेशमा रमाइलो गर्ने चलन छ । यो चलनलाई उत्ताउलो किसिमले मनाएर विकृत बनाउने प्रयत्न पनि भएको देखिन्छ । तर, कुनौ पनि व्रतको आध्यात्मिक मूल्य पनि हुने हुनाले यसलाई उत्ताउलो मनोरंगी मात्र बनाउने हो भने व्रतको मानसिक सबलताको पाटो कमजोर नै हुने देखिन्छ । तसर्थ दिदी बहिनीहरुका लागि भनेर अर्थ लगाउने गरिएको यस्तो पर्व दिदी बहिनीहरुकै पहलमा सभ्य र भव्य बनाउने हो । नकि विकृत । यदि विकृत बनाउँदै लगियो भने यो पवैको औचित्य पुष्टि हुने छैन र समाजले त्यस्तो दिन यस्तो उच्चृृंखल व्रत नबस्न प्रतिबन्ध पनि लगाउने दिन नआउला भन्न सकिन्न । 

५. महिला मुक्ति र पारिवारिक सफलता

आजका दिनमा महिलामुक्तिसँग जोडिएर अन्तर्राष्ट्रिय नारी दिवस, श्रमिक दिवस जस्ता पर्वहरु पनि मनाउने प्रचलन विकास भइरहेको छ । कुनै बेला महिलालाई दासीकै रुपमा बाहेक खुला समाजका विभिन्न तहमा बोल्न, हेर्न र सहभागी हुनै नदिने बन्देजहरु पनि थिए । ती बन्देहरुका कारण महिलाहरु उत्पीडनमा बस्न बाध्य थिए ।

यस्ता पर्वहरु आउने दिन मनका दुखपीडाका पोकाहरु समेत खोलेर गीत गाउन पनि थालियो । यसरी दिदी बिहिनीहरु जम्मा भएर गाउने, नाँच्ने गर्दा शरीरमा पनि स्फुर्ती आउने र मनका बहहरु पोखेर मन हलुंगा पनि हुने हुन्छ । यसलाई यही रुपमा बुझ्न र विकास गर्न आवश्यक देखिन्छ । विकृत पार्ने कामले संस्कृतिको महत्त्व झल्कदैन । बरु बिग्रेर जान्छ । त्यसैले संस्कृति भनेकै परिस्कृत र आत्मसात गर्न लायक विधि व्यवहार हो भने हामीले त्यसरी नै संस्कृतिलाई विकृतिमुक्त पनि बनाउनु जरुरी देखिन्छ ।

नेपालको सन्दर्भमा पार्वतीले आरम्भ गरेको यस विधिलाई नै विशेषतः महिलाहरुले मान्ने चलन चलेको देखिन्छ । यही विशेषताका आधारमा हामीकहाँ मन्दिर वा पवित्रस्थानमा धाउने, पूजा गर्ने, व्रत गरेर दिनभरजसो रमाइलो गर्ने चलन रहेको देखिन्छ । 

नेपालमा तिज परम्पराका विभिन्न विशेषताहरु छन् । तिनमा पहाडी तथा तराई भेकमा मनाइने तिज र सहरी क्षेत्रमा मनाइने तिजबिचमा गहिरा खाडलहरु पनि छन् । सहरका तिजहरु बढी भड्किलो र ग्रामीण भेकका तिज आवश्यक मात्रामा महिलाहरुले नै समय दिन नपाइरहेका पनि देखिन्छन् । त्यति मात्र होइन जुन उद्देश्यले तिजको व्रत बस्ने चलन चल्यो, आफ्नो पति र पत्नीबिचमा समेत सम्बन्ध विकास हुन नसकेका जस्ता अवस्थाहरु पनि देखिन्छन् । घरगृहस्थीमा पतिपत्नीको सम्बन्ध सुमधुर बनाउनुको महत्त्व सिङ्गो जीवन र पारिवारिक स्वास्थ्यका लागि पनि अर्थपूर्ण छ । आजका दिनमा यो पाटोबाट पनि तिजको सार्थकतामाथि बहस हुन जरुरी छ । 

नेपालमा यातायातको असुविधा, स्रोतसाधन, शिक्षा, संस्कार आदिले गर्दा सहरी क्षेत्रबाहेकका अधिकांश पहाडी क्षेत्रमा र केही तराईका भागहरुमा वैवाहिक सम्बन्ध गासिँदा पनि आपसी सम्बन्ध चिसो भइरहेको देखिन्छ । भौगोलिक दूरीका कारण टाढा–टाढा भइरहने हुँदा घरदेखि माइतीसम्म पुग्न चेलीका लागि वर्षौं कुर्न पर्ने अप्ठेराहरु हामीले भोगिरहकै छौँ । विवाह भएर जाने छोरी, चेलीबेटीलाई माइतबाट लिन पठाउने र केही समय आफ्नो कर्मघरबाट २/४ दिनको बिदा मागेर आफ्नो माइतीघर पुगेपछि आफ्नो साथीसँगी, आमासँग वर्षांैपछि भेटघाट हुँदाको खुसीको क्षणको मूल्य पनि अत्यन्तै महनीय हुने ।

त्यस्तो बेलामा मन बिसाउने तथा रमाइलोसँग नन्द–भाउजु, सासुबुहारी, देउरानी–जेठानी, आमाजु, ससुराको व्यवहारलाई गीतको माध्यमबाट व्यंग्य गर्ने र तितो मिठोकुराहरु संगीत बनेर गुञ्जने गरेको छ । जसले गर्दा एक दिन भएपनि सम्पूर्ण दुःख बिर्सेर रमइलो वातावरणमा आनन्दित हुने एउटा महत्त्वपूर्ण माध्यम बनेको छ ‘तिज’ ।

६. महिलाको धार्मिक स्थान पवित्र तर सामाजिक विभेद उस्तै अपवित्र किन ? 

हाम्रा धर्मशास्त्रीय मान्यताहरु समयानुकूल व्याख्या गरिनु आवश्यक देखिन्छ । तर, अर्काेतिर पौराणिक पाटो हेर्ने हो भने परापूर्वकाल र वेद, पुराण शास्त्रमा महिलाहरुको हकअधिकार कहिँ कतै पनि विभेद गरिएको पाइँदैन । भगवानहरुका तहमा त महिलाको स्थान पूजनीय नै देखिन्छ । जस्तै— आद्य शक्ति, आदि माता, आधा शिव आधा पार्वती आदि । यसको अर्थ समान व्यवहार र अधिकार क्षेत्रमा पनि समानता भन्ने नै हो । यसैगरी सम्बोधन गर्दा पनि नारी शक्तिलाई आदरका साथ गरिएको पाइन्छ । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताहरु पनि रमाउँछन् भनिएको छ । तर, त्यही संस्कृति र संस्कार सिकेको भनिएको हाम्रो हिन्दु समाजमै किन महिलामाथि असमानता ? आज धेरैले यसरी प्रहार गर्ने गरेका पनि छन् । अर्काेपाटोबाट हेर्ने हो भने महिला सशक्तीकरण, उनीहरुलाई शिक्षित बनाउन गरिएका विभिन्न प्रयत्नहरु, समयसापेक्ष कार्यक्षमता अभिवृद्धि गर्ने तालिम सीपसिकाइहरु, आदिमा जोड दिँदै विभिन्न निकायहरुले तिजकै अवसर पारेर विभिन्न कार्य गर्दै आएका पनि छन् । आजका दिनमा राजनैतिक संघसंथाले पनि आफ्नो आवाज पु¥याउने थलोको रुपमा तिजलाई उपयोग गरिरहेको देखिन्छ ।

सबैले प्रयोग गर्न नछाड्ने पर्वका रुपमा तिज देखिन थालेको छ । यदि उही स्तरमा विश्वास र दोहोरो सम्मान गरिदैन भने यस्ता चाडवाडको आडमा राजनीति किन गरिन्छ भन्ने प्रश्न पनि उठेको छ ।
अरुले हेपे, प्रयोग गरे, हेलोहोचो गरे भन्ने गुनासो त छँदै छ । तर, हिजोआज तिजका नाउँमा महिलाहरुले नेतृत्व गरिरहेको यो पर्वले कति धेरै आर्थिक तथा सांस्कृतिक बेथिति पनि बोकाउन थालेको छ भनेर हामी नारीले समीक्षा गर्ने दिन पनि आएन र ? भन्ने मेरो प्रश्न छ ।

किनभने तिज आउनु कहिले कहिले महिना अगावै विभिन्न पार्टी प्यालेसहरुमा महंगो र भड्कीला गरगहना, परिधान र पोसाकको देखावटी प्रतिस्पर्धामा हामी नारीहरुको ठुलो ऊर्जा बेकारमा खर्च भइरहेको होइन र ? यो विकृतिको मुख्य जड बनेको छ सहरी क्षेत्र । जसले गर्दा न्यूनतम आर्थिक अवस्था रहेकाहरुलाई यसले उमंग दिएको छ कि प्रताडना भनेर सोच्नु पर्दैन ? यसले मौलिकता नास भइरहेको छ । पर्व र चाडका नाउँमा जोडिएका महत्त्वपूर्ण पक्षहरु छायामा पारिएको छ  ।

त्यसैले विकृति न्यूनीकरण गर्दै हाम्रो सांस्कृतिक सभ्यताको मर्मको जगेर्ना गर्नु आज सबैको दाइत्व भइसकेको छ ।

निष्कर्ष

निश्चित रुपले हाम्रो धर्म संस्कृतिलाई छोड्नु हुँदैन । यसलाई नितान्त मौलिक सभ्यसांस्कृतिक रुपमा विकसित गर्दै जानु पर्छ । सबैको संस्कृति र साझा भावना विकास गर्नुपर्छ । वर्तमान समयमा नयाँ पिढीलाई यो संस्कृति जगेर्ना गर्नको लागि प्रोत्साहन गर्न जरुरी छ  तर गलत तरिकाबाट नभई सही अर्थ सम्झाएर उनीहरुलाई प्रेरित गर्नु पर्छ ।

२१औं शताब्दीमा शिक्षा, आर्थिक, सामाजिक, राजनैतिक, राष्ट्र प्रेम, सद्भाव, विकास निर्माण आदिको इच्छा, आकांक्षा राखेर अनुशासित रुपमा तिज पर्व मनाइनु पर्छ भन्ने सन्दर्भ प्रावह गर्नु एकदम जरुरी भएको छ । अनि मात्र युवा पिढीले सहिरुपमा जगेर्ना, संरक्षण गर्न सक्छन् ।

आजका दिनमा संस्कृतिमाथिको विकृति र विसंगतिको मार्ग छाडी सभ्यतासँग यो संस्कृतिका स्वरुपलाई अगाल्न आवश्यक छ ।  

समानताका प्राकृतिक आधारबारे केही सूक्तिलाई हेरौँ

‘संसार निर्माणको केवल कल्पना गर्न सकिन्छ, देख्न सकिन्छ न सुन्न सकिन्छ न स्वाद लिन सकिन्छ’

मानव र प्रकृति मिलेर समाज बन्छ । मानव जातिको व्यवहारबाट संसार चलेको हुन्छ जस्तै– ँभिकज बलम द्ययियम, द्यययल बलम ःबचचयध । 

मानवभित्र आत्माको विकास हुन्छ जुन ईश्वरको वा पञ्चतत्त्वबाट बनेको हुन्छ ।

सम्पूर्ण प्राणीमा आत्मा समान हुन्छ र समाजमा रहेका सम्पूर्ण मानवको समान अधिकार, समान सुविधा, समानता, न्यायपूर्ण समाज मा उत्तिकै समान व्यबहार हुन्छ ।

विश्वका नारीमा आत्माबोध र आत्मविश्वास रहेको हुन्छ जसको कारण पवित्र आत्माहरुको जन्म हुन्छ त्यहि पवित्र आत्मा लिएर पवित्र आमाहरुको उदय हुन्छ ।

जस्तै, आर्याम्बाबाट शंकराचार्यको जन्म, जिजियाबाईबाट धर्मविर प्रजाप्रिय शिवाजीको जन्म, शारदादेविबाट रामकृष्ण परमहंशको जन्म, विवेकानन्दको जन्म, पुतलिबाईबाट करमचन्द गान्धीको जन्म माता कौशल्याबाट रामचन्द्रको जन्मादि ।

०००
 



प्रकाशित: २०७९ भाद्र १४
August 30th 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार