नेपाली समय: ०५:२७:५४ बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

भारतले नदिए विश्व बजारमै जाऔँ : राजदूत उपाध्याय

२१ असोज, ०७२ निर्माण सञ्चार, काठमाडौं ।

बीस दिनअघि नेपालमा संविधान जारी भएयता सुरु भएको राजनीतिक बहस र विवादलाई यतिखेर भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले पुरै ‘ओझेल’मा पारिदिएको छ ।

नेपालको नयाँ संविधानबारेमा अन्तरक्रिया गर्न दिल्लीमा बुधबार आयोजित समारोहमा पनि संविधानको उपलब्धी र विशेषतमाथि चर्चा भैरहँदा नेपाल–भारत सम्बन्ध चिसिने गरी अहिले जारी रहेको ‘नाकाबन्दी’ बहसले निकै ठाउँ पायो ।

‘नेपालको निकटतम छिमेकी भारतले यसरी नाकाबन्दी लगाउन सक्छ भनेर विश्वासै गर्न सकिन्न,’ दिल्लीस्थित ‘कन्स्टिच्युसन क्लब’मा आयोजित संविधान बहसमा राजदूत दीपकुमार उपाध्यायले भने, ‘विशेषतः प्रधानमन्त्री नरेन्द्र मोदीप्रति नेपाल–नेपालीको अथाह सद्भाव रहेकै अवस्थामा अहिले जारी नाकाबन्दीले द्वैदेशीय सम्बन्धमा चिसोपन बढाएको छ । पेट्रोलियम पदार्थ, औषधीमुलोसहित दैनिक उपभोग्य वस्तुको अभावले नेपाली जनजीवन त्राहीत्राही बनेको स्थिती छ ।

’ यो संकट खुलाउन र सहज द्वैपक्षीय सम्बन्ध स्थापित गर्न पहल गर्दै आइरहेको सन्दर्भमा ‘यदि भारतले पेट्रोलियम पदार्थ उपलब्ध नगराए नेपाल स्वभावतः विश्व बजारमा जान सक्ने’ भनेर आफूले राखेको धारणालाई अर्को छिमेकी चीनतर्फ संकेत गर्दै विवाद मच्चाउन खोजिएको राजदूत उपाध्यायले बताए । ‘भौगोलिक, सामाजिक र सांस्कृतिक अन्तरसम्बन्धका आधारमा हाम्रो रोटीबेटीको सम्बन्ध भारतसँग छ ।

यो आधारमा पनि चीन नेपालको प्राथमिकतामा हुन सक्दैन,’ राजदूत उपाध्यायले भने । काठमाडौंमा नुनतेलको हाहाकार हुन थालेपछि गत साता आफूले ‘धैर्य गरौं, संयम गरौं’ भनेर बोल्दा ‘दीपकुमार नेपालका हुन् वा भारतीय राजदूत (?)’ भनेर आलोचना गरिएको सन्दर्भ निकाल्दै उपाध्यायले भने, ‘भारत भनेको नेपालका लागि पेट्रोलियमको ‘लाइफलाइन’ हो, द्वैदेशीय विशिष्ट सम्बन्ध माझ मानवीय कारणले पनि यस्तो रोकावट जारी रहेको अवस्थालाई स्वभाविक मान्न सकिन्न ।’

संविधान बहसमा सहभागी भारतको बहुजन समाजवादी पार्टीका नेता सुधिन्द्र भदौरिया र नेशनलिष्ट कंग्रेसका डीपी त्रिपाठीले नेपालमा हालै जारी भएको संविधान दक्षिण एशियाली मुलुककै तुलनामा प्रगतिशिल र उदाहरणीय रहेको बताए । उनीहरुले सतप्रतिशत सहमति रहेको संविधान संसारमा कहीँ पनि नहुने भन्दै भारत आफैंमा पनि त्यो सर्वसम्मत स्थितीमा नरहेको बताएका थिए ।

संविधान बहसमा पुर्व परराष्ट्र सचिव र न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यले नेपालको शान्ती प्रकृयामा सबैभन्दा निकटको सहयात्री रहेको भारतले सतप्रतिशत सहमति र समझदारीको संविधानमा दुनियाँमा कहीं पनि हुन नसक्ने यथार्थलाई मनन गर्नुपर्ने आग्रह गरेका थिए । ‘यो बेला हामी भारतलाई दोष दिन चाहँदैनौं,’ कुटनीतिक मामलाका जानकार आचार्यले भने, ‘तर अहिलेको नाकाबन्दीले नेपालको एउटा भूभाग(मधेश)ले बाँकी भूभागलाई ‘बन्देज’ लगाएको जस्तो स्थिती देखिएको छ ।

यो त्यति सहज कुरा होइन ।’ आचार्यले भारतलाई नेपालका निम्ति ‘कल्पवृक्ष’ भन्दै नेपाल÷नेपालीको उद्योग, व्यापार, धर्म, कर्म सबै भारत निर्भर रहेकाले भारतले यो यथार्थलाई आत्मसात गर्नुपर्ने जिकिर गरे । नेपाली प्रमुख राजनीतिक दलको दिल्लीस्थित भातृसंगठनको संयोजन तथा बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानको आयोजनामा सम्पन्न विचार गोष्ठीमा पूर्व राजदूत आचार्यले नेपालजस्तो भुपरिवेष्ठित र सानो मुलुकले तासको म्यारिज खेलमा मात्रै ‘चाइना कार्ड’ प्रयोग गर्न सक्ने रमाइलो प्रसङ्ग पनि सुनाए ।

‘हामी न चाइना कार्ड उपयोग गर्न सक्छौं, न इन्डिया कार्ड,’आचार्यले भने, ‘बरु हामी हाम्रा छिमेकीसँग परस्परको सम्मानजनक सम्बन्ध मात्रै कायम गर्न चाहन्छौं ।’ समारोहमा पूर्व मन्त्री एवं संवैधानिक मामलाका जानकार माधव पौडेलले नेपालमा जारी संविधानको प्रमुख विशेषता झल्कने एक कार्यपत्र पेश गरेका थिए ।

कार्यपत्रका बुँदा र नेपालको राजनीतिक मामलालाई लिएर भारतीय रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा मामला निकाय आइडीएसएका डा. निहार नायक तथा राजनीतिक मामलाका जानकार अच्युत वाग्लेले टिप्पणी गरेका थिए । समारोहमा राजनीतिक पंक्तिबाट आरबी खड्का (एमाओवादी), लोकनाथ भण्डारी (एमाले) र बालकृष्ण पाण्डे (नेपाली कांग्रेस)ले पनि नेपालको संविधानको उपलब्धी बारेमा मन्तव्य राखेका थिए ।

EKntpur

 



प्रकाशित: २०७२ आश्विन २१
October 8th 2015

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार