नेपाली समय: ०८:१३:३२ pm
वि.सं २०७६ भाद्र ५   बिहीवार

‘म पहाडे कि मधेसी ?’— जितेन्द्र साह

'हाम्रो त पहाडमा केही छैन, जे छ, यही नै छ, अब त्यहाँ फर्केर जाने र बस्ने थलो पनि छैन ।' केही दिन अघि विराटनगरको ठाकुरवाडी रोडमा पानी पुरी खाँदै दुई पहाडी मूलकी महिलाले वरिपरिका मधेसी दाजुभाइसँग चिन्ता प्रकट गरिरहेका थिए ।

मधेस आन्दोलनको क्रममा कहिलेकाँही आवेशमा आएर केहीले साम्प्रादायिक नारा लगाउने हुनाले उनीहरुले दुःखेसो पोखेका हुन् । उनीहरुको अनुहार उदास र मलिन थियो । स्थानीयले ती दुईको कुरा ध्यान दिएर सुनिरहेका थिए ।

एकै परिवारका सदस्यहरुबीच गहन विषयमा संवाद भइरहेकोजस्तै प्रतित भइरहेको थियो । 'हाम्रो समाज, संस्कृति र संस्कार यति घुलमिल भइसक्यो की मधेसी बिना पहाडी र पहाडी बिना मधेसी अधुरो हुन्छ,' उनीहरुसँग एक स्थानीय युवकले भने ।

तराई भेकमा केही वर्षदेखि दुवै समुदायबीच सहज विहेवारी हुनुकासाथै एक अर्काको चाड पर्वलाई अंगिकार गर्ने क्रम बढेको छ । स्थानीय भाषामा पुच्का भनेर चिनिने त्यो पानीपुरीको ठेला वरिपरिको क्षेत्र राष्ट्रिय बहसको मञ्च बन्न पुगेको थियो ।

जातीय नारा लगाउनेको जमातभन्दा यहाँ पहाडी र मधेसीबीचको एकता चाहनेको संख्या धेरै बढी छ । ती दुई जनाप्रति माया र सम्मान प्रकट गर्नेहरुको ठूलो जमात खडा भइसकेको थियो ।

अघोषित नाकाबन्दिपछि नेपालमा भारत विरोधी र तराईमा पहाडी विरोधी भावनालाई मलजल गर्नेहरुको कमि छैन । यसमा मधेसलाई साँघुरो दृष्टिले हेर्ने काठमाण्डूको ठूलो हात छ । उसले नक्सामा बाहेक मधेस र त्यहाँ बस्नेलाई आफ्नो भनेर स्वीकार्नै सकेको छैन ।

यसले मूलतः मधेसवासीलाई जिस्काउने काम गर्छ । काठमाडौंले दिने राष्ट्रियताको नारा पनि आफ्नो उत्पादन बेच्नलाई बनाएको कुनै कम्पनीको विज्ञापन वा मोडलिङजस्तै हुँदोरहेछ । मधेसमा आन्दोलन जारी रहेको बेला यी भिन्नखाले विरोधका स्वरहरुलाई दुःखद संयोग भन्नुपर्छ किनकि यसले पूरा राष्ट्रलाई असर पारिरहेको छ । भारत वा छिमेकी बिहारकालाई यसले केही फरक पार्दैन ।

उनीहरुले भित्रैदेखि तराई सबल बनेर नेपाल बलियो होस् भनेर कहिले पो चाहेका छन् र ? मधेसमा व्यापार र कारखाना चलाएर बसेका आपmना नागरिकको सुरक्षा एवं उन्नतिको मात्र उसलाई चासो हुन्छ । भारतले मधेसीको आडमा आफ्नै नागरिकको हकमा बोलिरहेको हुन्छ । हाम्रो भूमिमा देखिएको यी दुईखाले विरोधले नेपाली-नेपालीबीच तिक्तता उत्पन्न गरिरहेको छ ।

यसबाट तराई भेकलाई अस्थिर बनाएर नेपाललाई औंलामा घुमाई राख्ने अभिष्ट पूरा गर्न चाहने विदेशीहरुलाई मद्दत पुग्छ ।

सीमा अतिक्रमण गर्ने भारत, सगरमाथाको उत्तरी भागमा आँखा गाड्ने चीन, आफ्ना नागरिकले यहाँ नक्कली मुद्राको कारोबार गर्दा चुप लाग्ने पाकिस्तान र यहाँबाट कल वाइपासको धन्दा चलाउने आफ्ना नागरिकलाई जोगाउने बंगलादेश, सबै स्वार्थी र अवसरवादी हुन् भनेर बुझन सक्नुपर्छ । त्यसैले एउटा मुलुकलाई गाली गर्ने र अर्कोको वाहवाह गर्नेहरु राष्ट्रवादी नभएर भावनात्मक मूर्ख हुन् ।

यसले पहिचान, अधिकार र सहभागिताको जायज माग राखेर यतिका दिनदेखि भोकतिर्खा त्यागेर सडकमा आएका मधेसी जनताको आवाजलाई कमजोर बनाउँछ । मधेसलाई भारतको पेवा देख्ने कमजोर राष्ट्रवादीहरु र वर्षौंदेखि तराई भूमिमा बसेका पहाडी एवं मधेसीलाई भिडाउन खोज्ने चतुरे वा धतुरेहरुलाई मात्र यसबाट बल पुग्छ । देश भनेको माटोले मात्र होइन, भावनाले पनि बन्छ ।

अहिलेको माहौल खडा हुनुको पछि अरु कोही नभएर यो भूगोलमा छरिएर बसेका विभिन्न जातजातिका नेपाली नै दोषी छन् । राष्ट्रवादी वा मधेसवादी भन्दै अरुको भावनामा ठेस पुर्‍याउनेहरु हाम्रैबीचमा छन, विदेशमा होइन । मुख्य प्रसंगमै फर्कौं, ती दुई महिलाको पुर्खा सय वर्षअघि बसाईँ सरेर मधेस आएका रहेछन् ।

मूलत ः पहाडवासी भए पनि नेपाली भाषा बोल्दा पनि उनीहरुको लवज मधेसी शैलीकै थियो । 'नबुझ्नेले मात्र पहाडी र मधेसीको नारा लगाउँछन्, वर्षौंदेखि तराई भूमिमा बस्दै आएका दुवै समुदायकाले विभेदको भाषा बोल्दैनन्,' संवादको क्रममा स्थानीय एक शिक्षित युवकले भने ।

केन्द्रीकृत शासकवर्गले मधेस र मधेसीलाई गर्दै आएको उपेक्षा एवं त्यसपछि भएको आन्दोलनको तराईका शिक्षित एवं सचेत पहाडी समुदायले मौन बसेर वा बोलेर भए पनि समर्थन गरेका छन् ।

झापा, मोरङ, सुनसरीबासीको मिलन बिन्दु मानिने विराटनगरमा यतिका दिनसम्म सफलतापूर्वक मधेसी मोर्चाको आन्दोलन अघि बढ्नुमा वर्षौदेखि यहाँ बस्दै आएका पहाडी समुदायको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पनि हो ।

यतिका दिन बितिसक्दा पनि उनीहरुले मधेस आन्दोलनमा अवरोध सृजना गरेका छैनन् । यो मधेस भूमिलाई आत्मसात गरेका उनीहरुमध्ये धेरैले आफूलाई पहाडी भन्न मन पराउँदैनन । संवादको क्रममा ती दुईले पनि आफूलाई पहाडी भनिँदा असन्तुष्टि पोखे ।

'हाम्रा पुर्खाहरु पो पहाडी थिए, हामी त यही पल्यो बढ्यो, कसरी पहाडी भयो त ?' तीमध्ये एक महिलाले भनिन्, 'हामीलाई मधेसी भन्नुस, खुशी लाग्छ ।' एक छिनमा त्यहाँको वातावरण रमणीय भयो । 'सबैले हजूरहरुजस्तै सोचिदिए त हुन्थ्यो नि, दिदी,' अर्का एक स्थानीयले भने । दुवैजनाले आफूलाई निकै सुरक्षित महसुस गरिरहेका थिए ।

सय वर्षअघि विहारबाट आएर तराईलाई आफ्नो भूमि स्वीकार गरेकाहरु मधेसी वा नेपाली हुन्छन् भने १ सय ५० वर्ष अगाडी पहाडबाट यहाँ आएकाहरु त्योभन्दा विशुद्ध मधेसी हुन् ।

म पनि वर्षौंदेखि तराई भूमिमा बस्दै आएका थुप्रै पहाडी परिवारहरुलाई चिन्छु जसलाई ठीकसँग नेपाली बोल्न आउँदैन, उनीहरु मैथिली, भोजपुर वा ठेटखाले मधेसी लवजमा बोल्छन् । आफू जन्मेको ठाउँ वा राष्ट्रप्रति माया छैन भने त्यो राष्ट्रवादी कहलिँदैन ।

पहाडबाट यहाँ झरेकामा त्यो माया र सम्मान झल्किन्छ । इटालीमा जन्मेकी भारतीय राजनीतीज्ञ एवं भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी एवं अपि|mकी अमेरिकी राष्ट्रपति बाराक ओबामाको उदाहरण लिन सकिन्छ । थुप्रै आप्रवासी नेपालीहरु अन्य मुलुकको राजनीतीक र सरकारी मञ्चमा उच्च ओहोदामा पुगेका छन् ।

ती मुलुकले उनीहरुको नियतमा शंका गरेका छैनन् । 'म जातिपातीको पक्षमा छैन, म प्रतिभाको कदर गर्छु, तराईमा पिछडिएर बसेका पहाडी र मधेसी सबैको पक्षमा आवाज उठाइरहेको छु,' मधेसी जनाधिकार फोरमका नेता उपेन्द्र यादवले हालसालै एक टिभी कार्यक्रममा भने ।

राष्ट्रिय झण्डा बोकेर सडक तथा नाकामा गएर चर्को स्वरले नारा लगाउने मात्र नेपाली हुने र फरक रचनात्मक सोच राखेर मुलुकको मात्र विकास चाहनेहरु अनेपाली हुने भन्ने कदापि होइन ।

जसरी म एक तराईवासी भए पनि हिमाल, पहाड र उपत्यकाकालाई नेपाली मान्छु, त्यसैगरी उनीहरुले पनि म र मजस्तालाई नेपाली भनेर व्यवहारमै स्वीकार्नुपर्छ । यही कुरा मधेसमा बस्ने पहाडी र मधेसीको हकमा पनि लागू हुन्छ ।

दुवैले एक अर्कालाई आफूसरह ठान्नुपर्छ । त्यही भएर जारी मधेस आन्दोलनको समापनपछि पनि थुप्रै चुनौतीहरु आउने छन् । अन्य मधेसीजस्तै उही बेलादेखि यहाँ बस्दै आएका पहाडी समुदायको सुरक्षा र उनीहरुप्रतिको आदर पनि त्यही मध्ये एक हो ।

त्यसको प्रत्याभूति हुनुपर्छ । पहाडीले पनि विना कुनै हिचकिचाहट र पूर्वाग्रह मधेसीको जायज मागको पक्षमा बोल्न सक्नुपर्छ । पहाडीलाई अन्याय पर्दा मधेसीहरु अघि आउनुपर्छ । परेको बेला आएका पनि छन् ।

महाभूकम्पको बेलामा त्यो सदाशयता देखियो । असल छिमेकीभन्दा पनि डनकै शैलीमा प्रस्तुत हुने भारतीय हस्तक्षेपको दुवै समुदायले मिलेर विरोध गर्नुपर्छ । संविधानको आडमा भारतले मधेसीको नेपाली भएको पहिचानमाथि आक्रमण गरेको छ । यो कुनै पनि मधेसीलाई सह्य हुन्न ।

अर्को महत्वपूर्ण कुरा विभिन्न उद्देश्यले तराई भूमिमा बसेर अंगिकृत नागरिकता लिने धेरै होलान् । नेपालले मात्र नभएर अधिकांश राष्ट्रको कानूनले त्यस्तो नागरिकता दिन्छ ।

तर, वंशजको नागरिकता पाएका यहाँको वास्तविक भूमिपुत्र र अंगिकृत नागरिकता लिएकालाई एउटै श्रेणी एवं ओहोदामा राखेर हेरिनु हुन्न । हाल मधेसीहरुको नेतृत्व गरिरहेका दलका नेताहरुमाथि भारतको पोसुवाहरु हुन् भन्ने आरोप लागिरहेको छ ।

उनीहरु देश वा मधेस विरोधी कुनै गतिविधिमा संलग्न भएको पाइएमा हिमाल, पहाड र तराईका जनताले एक जुट भएर माखे साङ्लो बनाई उनीहरुलाई पारी लखेट्नु पर्छ । कसैलाई मुख्य मन्त्री, मन्त्री र विधायक बनाउनलाई मधेसी जनताले गोली खाएका होइनन् ।

creativemind21@gmail.com Source : Ekantipur



प्रकाशित: २०७२ आश्विन २९
October 16th 2015

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार